टोकियो, जापान ।
गैर आवासिय नेपाली संघ जापानले राजधानी टोकियोमा आईतबार आयोजना गरेको द एज व्याण्ड लाईभ कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ ।
चर्चित पप गायन समुह द एज व्याण्डको उपस्थितिमा भएको लाईभ कन्सर्टमा रम्न राजधानी टोकियो र आसपासबाट सयौंको संख्यामा युवायुवतीहरु उपस्थित भएका थिए ।
राजधानी टोकियोको नाकानो स्थित नाकानो जेरो हलमा आयोजित कन्सर्टमा द एज ब्याण्डले आफ्ना आधा दर्जन बढी लोकप्रिय गितहरु गाएर उपस्थित दर्शकलाई नचाएको थियो ।
गैर आवासिय नेपाली संघ जापानले राहतकोष सहयोग संकलनार्थ कन्सर्ट आयोजना गरेको थियो । कन्सर्टको संयोजन सचिन श्रेष्ठले गर्नुभएको थियो ।
टिकटको लागि विद्यार्थीहरुको लागि ३ हजार जापानी येन र सामान्य तर्फ ३५ सय येन तोकिएको थियो । तर कन्सर्ट हलमानै टिकट काट्दा ४ हजार येन सहित विशेष टिकटको लागि जापानी येन १ मान शुल्क राखिएको थियो ।
कन्सर्ट हेर्न अधिकाशं युवायुवातीहरुको सहभागीता रहेको थियो । जसमध्येपनि धेरै विद्यार्थीहरु रहेको पाईन्थ्यो । करिव ५ सयको सिट संख्या रहेको कार्यक्रम स्थल भरिभराउ देखिन्थ्यो ।
कन्सर्टको सुरुवातदेखी अन्त्यसम्म बसेर व्याण्डका सदस्यहरुसँगै गित गाउन र झुम्न व्यस्त युवायुवतीहरुले कार्यक्रम अवधि समयमा भरपुर मनोरञ्जन लिएका थिए ।
समयको हिसाबले छोटो समय कन्सर्ट चलेपनि उपस्थित दर्शकलाई मनोरञ्जन दिलाउने काममा कलाकारहरुले कुनै कन्जुस्याईं गरेनन् । यस हिसाबले कन्सर्ट मनोरन्जनात्मक रुपमा सफल रह्यो ।
सफल कन्सर्ट व्यवस्थापन कसरी भयो अ-सफल !
कन्सर्ट आयोजनाको भव्यतालाई राम्रो मानेको आयोजक र व्यवस्थापन सायद असफल व्यवस्थापनको यो पक्ष उजागर गर्दा बेखुस हुनेछ । किनभने आफ्ना गल्ति औंल्याईदिएर सुधार्न पर्ने पक्ष औंल्याईदिंदा सकारात्मक नजरले हेर्ने त्यो चलन यसअघिका कुनैपनि आयोजकहरुले आत्मसाथ गरेको देखिंदैन ।
पाँच बजे कन्सर्ट आयोजना सुरु हुने समाचार सामग्री सम्प्रेसण अनि टिकटमा समेत ५ देखी ९ बजे कन्सर्ट आयोजना हुने स्पष्ट उल्लेख छ ।
कन्सर्ट आयोजना हुने स्थल नाकानो जेरो हलको मुल ढोकामा साँझ ५ बजेर १३ मिनेटमा पुग्दा अर्गनाईजर लेखेका परिचयपत्र लगाएका केही युवाहरु बल्ल ढोकामा डेस्क राख्ने र भित्र कन्सर्टको पोस्टर टाँस्ने काम सुरु गर्दै देखिन्थे ।
करिव ६ बज्नै लाग्दा मुल आयोजक संस्थाका मुख्य पदाधिकारीहरु नाकानो जेरोहलको बाहिर आउँदै गरेको भेटिएका थिए ।
उपस्थित एनआरएनए कर्मीहरुनै भन्दै थिए पाल्पा समाजको बिबिक्युमा गएर आएको अलि ढिलो भयो ।
जबकी सो समयसम्ममा करिव १ सयको संख्यामा युवा युवतीहरु कन्सर्ट हेर्न भनेर कार्यक्रम स्थलमा उपस्थित भईसकेका थिए । आयोजकहरु भने बल्ल आउँदै थिए ।
५ बजे भनिएको कार्यक्रम ६:३० बजेसम्म सुरु हुने कुनै छाँटकाँट देखिंदैन थियो । कार्यक्रम हुने हलमा ७ बजेर १७ मिनेटमा पसेर हेर्दा व्यवस्थापनको जिम्मेवारी पाएका र अर्जनाईजर लेखेको परिचयपत्र लगाएकाहरु अघिल्लो पंक्तिको कुर्सीमा बसेर कुरागरिरहेका थिए ।
व्याण्डका सदस्यहरु आफ्ना बाजागाजामा तार जोड्न व्यस्त थिए भने केही व्यक्ति उनिहरुलाई सघाउँदै गरेको पनि देखिन्थ्यो ।
कन्सर्ट हेर्न आएकाहरुमा निरासा र आक्रोस बढ्दै जान थालेपछि कन्सर्ट हल बाहिर भेटिएका अर्गनाईजर लेखेको परिचयपत्र लगाउने र एनआरएनएका परिचित अनुहार देख्ने बित्तिकै युवायुवतीहरु आक्रोस पोख्न थालिसकेका थिए ।
युवायुवतीहरुको आक्रोसको पारो बढेको बुझेर होला व्यवस्थापनले साँझ भएपनि बाहिरको गर्मिमा रापिएकाहरुलाई हलभित्र भने ७:१५ बाट प्रवेश गराउन थालेको थियो ।
हलभित्र छिराएपनि कार्यक्रम अझै सुरु हुने अवस्था थिएन । किनभने माईक चेक, साउण्ड सिस्टम चेक गर्न बाँकी नै थियो ।
भित्रको एसिको चिसोले आक्रोसलाई केही मत्थर पारेपनि समय घर्किंदै जान थालेपछि त्यो आक्रोसको पारो फेरी बढ्न थालेको थियो ।
भित्र साउण्ट सिस्टम चेक नसकिंदै समय एक घण्टा ३५ मिनेट घर्किएपछि फेरी हलमा छिरेका दर्शकलाई आयोजकले आक्रोस मत्थर पार्न मुख्य कार्यक्रम स्थलमा प्रवेश गराउन थाल्यो ।
७ बजेर ४५ मिनेटसम्ममा करिव ८० प्रतिशत सिट भरिनेगरि दर्शक प्रवेश गरिसकेका थिए ।
यहि बिचमा ७ बजेर ४४ मिनेटमा एनआरएनए जापानका अध्यक्ष टासी वागंदी लामा स्टेजमा देखिए । उनले माईक समातेर बोल्न लागेको देखेपछि अब कार्यक्रम सुरु हुन लागेको जस्तो देखियो । उनले माईकबाट भने 'आर यु रेडि जाईज ?'
करिव २ घण्टा कुरेर थकित बनिसकेका युवाहरुको भिँडमा जोस उस्तै थियो अनि तयार नहुने कुरै थिएन ।
तर अध्यक्ष लामा त्यति भनेर स्टेजबाट ओर्लिए र हलको पहिलो रो मा रहेको कुर्सीमा बसे । फेरी ७ बजेर ४६ मिनेटमा माईक समाउँदै महासचिव बुद्धिराज घिमिरेले बोल्न सुरु गरे ।
उनले कार्यक्रम केही समय ढिलो हुन गएकोमा माफी चाहन्छौं मात्र के भनेका थिए हलबाट होहल्ला गर्दै बिरोध जनाएर दुई घण्टा ढिलो गरेर केही समय हुन्छ भन्दै चर्को आवाजमा हल गुञ्जायमान भयो ।
७ बजेर ४८ मिनेटमा कार्यक्रम प्रायोजकहरुको नाम लिन थाल्ने बित्तिकै पुन हलमा चर्को होहल्ला गरेर बिरोध भयो ।
७ बजेर ५२ मिनेटमा दि एज व्याण्डका सदस्य आएर माईक चेक भन्दै ड्रम सेट बजाएर साउण्ट चेकजाँच गर्न थाले । अर्थात् यसअघि साउण्ट सिस्टम चेकजाँच सकिएकै रहेनछ ।
८ बजेर ३ मिनेटमा व्याण्डका सबै सदस्य स्टेज प्रवेश गरे र आफ्ना सांगितिक बाजा लिएर साउण्ट चेकजाँच गर्न थाले ।
८ बजेर ९ मिनेटमा व्याण्डका सदस्यहरु सबैले एकसाथ गिजार, ड्रम लगायत बाजा बजाएर साउण्ट चेकजाँच गरे र स्टेजको भित्रि भागमा छिरे ।
८ बजेर १० मिनेटमा एनआरएनए जापानका उपाध्यक्ष शिव प्रसाद पौडेल हलको दाहिनेपट्टि रहेका दर्शकहरुले बोलाएपछि बर्बाद भयो समय ढिलो भएर भन्दै उनिहरुलाई साम्य पार्न प्रयासरत थिए ।
यतिसम्मकि कार्यक्रम सुभारम्भ भएको भन्दै औपचारिक रुपमा कार्यक्रम सुरु गर्न व्यवस्थापकिय कमजोरीका बिच राष्ट्रिय गान समेत मोबाईलमा बजाएर सुरु गरियो । धन्न राष्ट्रिय गान आधा हुनै लाग्दा साउण्ट सिस्टममा बज्न भ्यायो ।
आफ्नो देशको राष्ट्रिय गानको सम्मान गर्दै हल जुरुक्कै उठ्यो र गाउन थाल्यो सयौं थुंगा फुलका हामी ।
८ बजेर १९ मिनेटमा जापानलाई नै कर्मथलो बनाउँदै आएका गायक ईश्वर गुरुगंले व्याण्डका सदस्यहरुलाई स्वागत गर्दै व्याण्ड सदस्यहरुको नाम लिएर स्टेजमा बोलाए ।
तर नाम बोलाएको दुई मिनेटपछि मात्र व्याण्डका मेम्बरहरु स्टेजमा देखा परे ।
घडिको सुईले ८ बजेर २० मिनेट छोईसक्दा रिबन काटेर औपचारिक उद्घाटन गर्न खोजिएको कार्यक्रम हलमा दर्शकहरुले होहल्ला गर्दै बिरोध जनाएपछि त्यसै सेलायो । अर्थात् रिबन काट्ने कार्यक्रम हुनै पाएन ।
अनि बल्ल सुरु भयो मुख्य कार्यक्रम दि एज व्याण्ड लाईभ कन्सर्ट रातको ८ बजेर २३ मिनेटबाट अर्थात् निर्धारित समय भन्दा ३ घण्टा २३ मिनेट ढिलो ।
५ बजेदेखी ९ बजेसम्म भनिएको कन्सर्ट ज्यादै ढिलोगरि सुरु भएको भएर होला आयोजकले युवायुवतीको आक्रोसलाई मत्थर पार्न र भावना बुझेर पनि भनौं सकिने अवधि लम्ब्याएको थियो ।
९ बजे सकिनुपर्ने कन्सर्ट उक्त समयमा भने मध्य भागमा थियो । युवायुवतीहरु गितमा झुमिरहँदा वान्समोरसँगै व्याण्डका सदस्यहरुले दोहोर्याएर गित गाउँदै सांगितिक माहोललाई ९ बजेर ४२ मिनेटमा टुंग्याए ।
अनि बल्ल आयोजकले स्टेजमा व्याण्डका सदस्यहरुलाई निम्त्याए र धन्यवाद दिंदै प्रशंसापत्र वितरण सुरु गरे ।