(Japan) 7 th October | 2026 | Wednesday | 7:24:34 PM || (Nepal) 4:09:34 PM
 
 


दशैँमा जापानमा ‘झिँगेदाउ २’ प्रदर्शन हुँदै, अक्टोबर १८ मा टोकियोमा विशेष शो

  POSTED ON : Wednesday, 07 October, 2026 | Views : 172

दशैँमा जापानमा ‘झिँगेदाउ २’ प्रदर्शन हुँदै, अक्टोबर १८ मा टोकियोमा विशेष शो


टोकियो, जापान ।

नेपाली चलचित्र ‘झिँगेदाउ २’ दशैँको अवसर पारेर जापानमा प्रदर्शन हुने भएको छ। जापानस्थित आयोजकका अनुसार चलचित्रको विशेष प्रदर्शन अक्टोबर १८, आइतबार टोकियोको नाकानो जेरो हलमा हुने भएको छ ।

जापानको लागि वितरण अधिकार प्राप्त गरेका सचिन आचार्यका अनुसार चलचित्रको शोका लागि बेलुका ६ बजे गेट खुल्ने र ६ः३० बजे चलचित्र सुरु हुनेछ। टिकटको मूल्य सामान्यतर्फ ३,००० येन र विद्यार्थीका लागि २,५०० येन तोकिएको छ ।


गाउँघरको कथा र दशैँको सम्झना

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको ‘झिँगेदाउ २’ पारिवारिक तथा सामाजिक कथामा आधारित चलचित्र हो । चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, आर्यन सिग्देल, महेश त्रिपाठी, कुशल विष्ट, सरोज खनाल, हिउँवाला गौतम, बसुन्धरा भुसाल लगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रको कथा निर्देशक देउजाकै रहेको छ भने पटकथा तथा संवाद परिच्छेद सेन, गोविन्द फुयाँल र शिशिर चालिसेले तयार गरेका हुन् । फिल्मको छायांकन काभ्रे, काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ र चितवन लगायतका स्थानमा गरिएको हो ।

‘झिँगेदाउ २’ नेपालमा असोज २ गतेदेखि प्रदर्शनमा आएको थियो । फिल्मले पारिवारिक सम्बन्ध, गाउँघरको परिवेश, संवेदना र मनोरञ्जनलाई समेटेको छ । कथावस्तुले जापानमा रहेका नेपाली दर्शकलाई बडा दशैंको संघारमा आफ्नै गाउँघर र परिवारको सम्झना गराउने अपेक्षा गरिएको छ ।


जापानमा रहेका नेपालीका लागि दशैँको विशेष भेट

दशैँको माहोल सुरु भइसकेको समयमा जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरिएको यो प्रदर्शनले नेपालको गाउँघर, पारिवारिक सम्बन्ध र चाडपर्वको वातावरणलाई पर्दामार्फत नजिकबाट महसुस गराउने अवसर दिने आयोजकको विश्वास छ ।

दशैँको समयमा जापानमै बसेर नेपाली गाउँघरको कथा, संस्कृति र पारिवारिक सम्बन्धलाई पर्दामा हेर्न चाहने दर्शकका लागि ‘झिँगेदाउ २’ को यो विशेष प्रदर्शन एउटा रमाइलो अवसर बन्न सक्नेछ ।


चलचित्र प्रदर्शन विवरण

चलचित्र सुरु: बेलुका ६:३० बजे

स्थान: Nakano Zero Hall, Tokyo

टिकट: ¥3,000

विद्यार्थी: ¥2,500

सम्पर्क: मुक्ति राज रेग्मी 080-2227-1733 / सचिन 080-9106-2859