(Japan) 20 th October | 2026 | Tuesday | 6:46:39 AM || (Nepal) 3:31:39 AM
 
 


दशैँको कोसेली ‘परदेशको बाटो’तपाईंले हेर्नुभयो ? (भिडियो सहित)

  POSTED ON : Tuesday, 20 October, 2026 | Views : 308

दशैँको कोसेली ‘परदेशको बाटो’तपाईंले हेर्नुभयो ? (भिडियो सहित)


जापान, ओकिनावा ।

नेपालीहरूको महान् चाड बडादशैँको अवसर पारेर परदेशी जीवनको संघर्ष, परिवारप्रतिको माया र आमाछोराबीचको भावनात्मक सम्बन्धमा आधारित नयाँ नेपाली म्युजिक भिडियो ‘परदेशको बाटो’ सार्वजनिक गरिएको छ ।

PhoVeo Entertainment को प्रस्तुतिमा तयार भएको उक्त म्युजिक भिडियो शनिबार, अक्टोबर १७ तारिख राति ९ बजे आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

म्युजिक भिडियो सार्वजनिक गर्नुअघि शनिबार जापानको ओकिनावा प्रान्तस्थित नाहा सहरमा विशेष ग्राण्ड प्रिमियर शोको आयोजना गरिएको थियो। कार्यक्रममा नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि, कलाकार, शुभचिन्तकहरूका साथै जापानी नागरिकहरूको समेत सहभागिता रहेको थियो।

प्रिमियर कार्यक्रममा म्युजिक भिडियोको विशेष प्रदर्शनसँगै कलाकार तथा निर्माण टोलीका सदस्यहरूले छायांकनका क्रममा भोगेका अनुभव, चुनौती र सिर्जनायात्राका विभिन्न पक्षहरू दर्शकमाझ प्रस्तुत गरेका थिए। साथै सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रमका प्रमुख अतिथि लक्ष्मण ओझीले म्युजिक भिडियो प्रदर्शनपछि आफ्नो प्रतिक्रिया, रचनात्मक सुझाव तथा शुभकामना व्यक्त गर्दै विदेशमा रहेर नेपाली कला र संगीतको क्षेत्रमा गरिएको यस्तो सिर्जनात्मक प्रयासको प्रशंसा गरेका थिए।

नेपाली तथा जापानी दर्शकहरूको उपस्थितिले कार्यक्रमलाई थप विशेष बनाउनुका साथै नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउने प्रयासमा सकारात्मक सन्देश दिएको थियो।

‘परदेशको बाटो’ विशेषगरी आफ्नो भविष्य निर्माण गर्ने सपना बोकेर जन्मभूमि र परिवार छोडी विदेशिन बाध्य नेपाली युवाहरूको जीवनमा आधारित भावनात्मक सांगीतिक प्रस्तुति हो।

विदेश जाने छोराको सपना, उसलाई बिदाइ गर्दाको आमाको पीडा, परिवारप्रतिको माया र परदेशमा रहँदा आउने घरपरिवारको सम्झनालाई म्युजिक भिडियोमार्फत मार्मिक ढंगले प्रस्तुत गरिएको छ।

विशेषगरी जापानलगायत विश्वका विभिन्न मुलुकमा अध्ययन, रोजगारी तथा उज्ज्वल भविष्यको खोजीमा रहेका नेपालीहरूले आफ्नै जीवनसँग जोडेर अनुभूति गर्न सक्ने विषयवस्तु यसमा समेटिएको छ।

विदेशमा रहेर नियमित काम, समय व्यवस्थापन, सीमित स्रोतसाधन तथा विभिन्न प्राविधिक चुनौतीका बाबजुद पनि नेपाली कला र संगीतप्रतिको लगावले यो म्युजिक भिडियो निर्माण गरिएको हो।

म्युजिक भिडियोको लेखन तथा निर्देशन आशिष सुवेदीले गरेका हुन्। निर्देशनसँगै सम्पूर्ण निर्माण प्रक्रियालाई अगाडि बढाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

यस म्युजिक भिडियोमा छोराको मुख्य भूमिकामा अभिषेक दाहाल र आमाको भूमिकामा सुनम गौतम रायमाझीको अभिनय रहेको छ। 

गीतमा गायक प्रताप दासको स्वर रहेको छ भने  दीपेन्द्र भारतीको शब्द र नरेश पाण्डेको संगीत, कम्पोजिसन तथा एरेन्जमेन्ट रहेको छ।

निर्देशक आशिष सुवेदीका अनुसार ‘परदेशको बाटो’ मनोरञ्जनका लागि मात्र नभई विदेशमा रहेका लाखौँ नेपाली र उनीहरूका परिवारको भावना समेट्ने उद्देश्यले तयार गरिएको सिर्जना हो।

परदेशमा बसेर सीमित स्रोतसाधनका बीच नेपाली कला र संगीतका क्षेत्रमा काम गर्नु चुनौतीपूर्ण भए पनि सम्पूर्ण कलाकार, प्राविधिक टोली तथा शुभचिन्तकहरूको साथ र सहयोगले सिर्जनालाई दर्शकमाझ ल्याउन सम्भव भएको उनको सन्देश छ।

यस म्युजिक भिडियोले विदेशमा रहेका नेपालीहरूको मन छुन सकोस् भन्ने अपेक्षासहित उनले जापानलगायत विश्वभर रहेका सम्पूर्ण नेपालीलाई भिडियो हेरेर प्रतिक्रिया, सुझाव तथा माया प्रदान गरिदिन आग्रह गरेका छन्।

नेपालीहरूको महान् पर्व दशैँको अवसरमा सार्वजनिक गरिएको ‘परदेशको बाटो’ सम्पूर्ण नेपाली दर्शकहरूका लागि एउटा भावनात्मक सांगीतिक कोसेलीका रूपमा प्रस्तुत गरिएको छ।

विदेशमा रहेर पनि नेपाली भाषा, कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय युवाहरूको यस प्रयासलाई प्रोत्साहन गर्न निर्माण टोलीले सबैलाई म्युजिक भिडियो हेर्न, सेयर गर्न तथा आफ्नो प्रतिक्रिया दिन अनुरोध गरेको छ।

‘परदेशको बाटो’ अहिले PhoVeo Entertainment को आधिकारिक YouTube च्यानलमा हेर्न सकिन्छ।

म्युजिक भिडियो हेर्नुहोस्:


प्रस्तुति: PhoVeo Entertainment

लेखन तथा निर्देशन: आशिष सुवेदी

स्वर: प्रताप दास

शब्द: दीपेन्द्र भारती

संगीत, कम्पोजिसन तथा एरेन्जमेन्ट: नरेश पाण्डे