टोकियो, जापान ।
जापानमा अध्ययनरत नेपाली विद्यार्थी गोमा राउतको असामयिक निधन भएको छ। नेपालको सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला लम्की बाहुनपुर घर भएकी गोमा जापानको निशी टोकियो इन्टरनेसनल कलेजमा अध्ययनरत थिइन्।
प्राप्त प्रारम्भिक जानकारीअनुसार उनको मृत्यु आत्महत्याका कारण भएको हुन सक्ने आशंका गरिएको छ। जापानस्थित शोवा जनरल अस्पतालमा उनको मृत्यु पुष्टि भएको बताइएको छ।
हाल उनको पार्थिव शरीर थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न प्रहरीको नियन्त्रणमा रहेको जानकारी प्राप्त भएको छ। घटनासम्बन्धी आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अगाडि बढिरहेको बताइएको छ।
यद्यपि, उनको निधनको वास्तविक कारणबारे औपचारिक पुष्टि हुन बाँकी छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र थप विवरण आउन बाँकी रहेको बुझिएको छ।
गोमाको असामयिक निधनको खबरले नेपालमा रहेको उनको परिवार, आफन्त तथा जापानमा रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको छ। आफ्ना अनेकौँ सपना, आमाबुवाका आशा र परिवारका अपेक्षा बोकेर जापानमा अध्ययन गरिरहेकी उनको अप्रत्याशित निधनले गहिरो पीडा थपेको छ।
विदेशमा अध्ययन तथा रोजगारीका लागि रहेका नेपालीहरूले विभिन्न चुनौती, मानसिक दबाब र कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्था आउन सक्छ। यस्तो अवस्थामा आफूलाई एक्लो महसुस नगरी परिवार, साथीभाइ तथा विश्वासिला व्यक्तिसँग आफ्ना समस्या र पीडा साझा गर्नु महत्त्वपूर्ण हुन्छ।
दिवंगत गोमा राउत निशीप्रति भावपूर्ण श्रद्धाञ्जली। शोकसन्तप्त आमाबुवा, आफन्तजन तथा सम्पूर्ण परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। यस दुःखद घडीमा परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस्।