गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् जापानले नेपाल हाउस निर्माणका लागि जग्गा खरिद प्रक्रियासम्बन्धी अध्ययन तथा अनुगमन प्रतिवेदन औपचारिक रूपमा प्राप्त गरेको छ।
एनआरएनए जापानले शनिबार (अक्टोबर ३१) जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल हाउस निर्माणका लागि खरिद प्रक्रियामा रहेको जग्गाको वास्तविक अवस्था, सम्भावित जोखिम तथा भविष्यमा उत्पन्न हुन सक्ने समस्याहरूको अध्ययन र अनुगमन गर्न गठित समितिले आफ्नो प्रतिवेदन परिषद्लाई बुझाएको हो।
परिषद्ले उक्त समितिलाई निर्धारित समयभित्र अध्ययन तथा अनुगमनको काम सम्पन्न गरी प्रतिवेदन बुझाउन अनुरोध गरेको थियो। सोहीअनुसार समितिले विभिन्न निकाय तथा सरोकारवालासँग आवश्यक समन्वय र छलफल गरी तयार पारेको प्रतिवेदन अक्टोबर ३०, २०२६ मा परिषद्लाई औपचारिक रूपमा हस्तान्तरण गरेको विज्ञप्तिमा उल्लेख छ।
एनआरएनए जापानले नेपाल हाउसलाई केवल भौतिक संरचना निर्माणको योजनाका रूपमा मात्र नभई विदेशमा रहेका नेपालीहरूको साझा पहिचान, आत्मसम्मान र भावी पुस्ताका लागि महत्वपूर्ण सम्पत्तिका रूपमा व्याख्या गरेको छ। नेपाल हाउस निर्माण अभियानले नेपाली समुदायबीच एकता, सहकार्य, विश्वास र आपसी सहयोगको भावना जोड्ने परिषद्को विश्वास छ।
प्रतिवेदन तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्ययन तथा अनुगमन समितिका संयोजक तथा सम्पूर्ण सदस्यहरूलाई परिषद्ले धन्यवाद व्यक्त गरेको छ।
प्रतिवेदन अध्ययनपछि निष्कर्ष सार्वजनिक गरिने
परिषद्ले प्राप्त प्रतिवेदनमा समेटिएका विषयवस्तु, तथ्य, विवरण, निष्कर्ष तथा सुझावहरूको गम्भीरतापूर्वक अध्ययन गर्ने जनाएको छ। आवश्यक अध्ययन तथा समीक्षा प्रक्रिया पूरा भएपछि प्रतिवेदनमा उल्लेख गरिएका वास्तविक तथ्य र निष्कर्ष आम नेपाली समुदाय तथा सम्बन्धित सरोकारवालासमक्ष सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ।
नेपाल हाउससम्बन्धी कुनै पनि निर्णय व्यक्ति, पदाधिकारी वा सीमित समूहको निजी इच्छाअनुसार नभई सम्पूर्ण नेपाली समुदायको साझा अभियानलाई ध्यानमा राखेर पारदर्शी, जवाफदेही र तथ्यमा आधारित संस्थागत विधि तथा प्रक्रियाअनुसार हुनुपर्नेमा परिषद्ले जोड दिएको छ।
त्यसैगरी, यस प्रक्रियाको उद्देश्य कसैप्रति पूर्वाग्रह राख्नु, विवाद बढाउनु वा संस्थाभित्र अविश्वासको वातावरण सिर्जना गर्नु नभई वास्तविकताको पहिचान गर्दै संस्थागत विश्वासलाई थप बलियो बनाउनु रहेको परिषद्ले स्पष्ट पारेको छ। विगतका अनुभवबाट पाठ सिक्दै नेपाल हाउस निर्माण अभियानलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने लक्ष्य रहेको पनि विज्ञप्तिमा जनाइएको छ।
भ्रामक सूचना सम्प्रेषण नगर्न सञ्चारमाध्यम र समुदायलाई आग्रह
एनआरएनए जापानले जापानमा रहेका नेपाली समुदाय, सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल सञ्चालकहरूलाई आधिकारिक तथ्य र पुष्टि भएका सूचनाका आधारमा मात्रै समाचार तथा धारणा सम्प्रेषण गर्न आग्रह गरेको छ।
अपूर्ण जानकारी, अपुष्ट विवरण तथा भ्रामक समाचार सार्वजनिक गर्दा नेपाली समुदायमा अन्योल र अविश्वास बढ्नुका साथै सामाजिक सद्भावमा समेत असर पर्न सक्ने भन्दै परिषद्ले त्यस्ता सामग्रीको प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गरेको छ।
नेपाल हाउस सम्पूर्ण नेपालीहरूको साझा सपना र सम्पत्ति भएकाले यसको संरक्षण र सफल निर्माण सबैको साझा जिम्मेवारी भएको परिषद्को भनाइ छ।
एनआरएनए जापानका प्रवक्ता सचिन आचार्यद्वारा हस्ताक्षरित उक्त प्रेस विज्ञप्तिमा नेपाल हाउस निर्माण अभियानसँग जोडिएका सबै पक्षलाई जिम्मेवार, पारदर्शी र सामूहिक हितलाई प्राथमिकतामा राखेर अघि बढ्न आग्रह गरिएको छ।-