होक्काइदो, जापान ।
जापानको होक्काइदोस्थित कुशिरो सहरमा एक २७ वर्षीय नेपाली नागरिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
जापानी सञ्चारमाध्यम एसटीभी होक्काइदोका अनुसार घटना अक्टोबर २८ तारिख साँझ स्थानीय सुपरमार्केटको पुरुष शौचालयमा भएको हो ।
सुपरमार्केटको शौचालयमा घटना
समाचार अनुसार, अक्टोबर २८ तारिख साँझ करिब ५ः४० बजे होक्काइदोको कुशिरो सहरस्थित कावाबाताचो क्षेत्रमा रहेको एक सुपरमार्केटको पुरुष शौचालयमा ती नेपाली नागरिकले आफू नजिकै रहेका ३० वर्ष आसपासका एक पुरुषको गोप्य अङ्ग छोएको आरोप लागेको छ । पीडित पुरुष कुशिरो क्षेत्रकै बासिन्दा रहेको समाचारमा उल्लेख छ ।
घटनापछि सुपरमार्केटका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । सूचना पाएर घटनास्थल पुगेको प्रहरीले सुपरमार्केटभित्रै रहेका ती नेपाली नागरिकलाई नियन्त्रणमा लिई पक्राउ गरेको हो ।
आरोप स्वीकार गरेको प्रहरीको भनाइ
कुशिरो प्रहरीले ती व्यक्तिलाई सहमतिविना यौन दुर्व्यवहार गरेको आशङ्कामा पक्राउ गरेको जनाएको छ । एसटीभीका अनुसार, सोधपुछका क्रममा उनले आफूले शौचालयमा नचिनेको व्यक्तिको गोप्य अङ्ग छोएको बताएका छन् । प्रहरीले पक्राउ पर्दा उनी शान्त अवस्थामा रहेको पनि जनाएको छ ।
प्रकाशित समाचारमा पक्राउ परेका व्यक्तिको नाम, जापानमा बसोबासको कानुनी अवस्था वा अन्य व्यक्तिगत विवरण खुलाइएको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।