(Japan) 31 st October | 2026 | Saturday | 6:49:43 PM || (Nepal) 3:34:43 PM
 
 


जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको संसदीय सुनुवाइ सोमबार, नियुक्तिको बाटो खुल्ने अपेक्षा

  POSTED ON : Saturday, 31 October, 2026 | Views : 438

जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको संसदीय सुनुवाइ सोमबार, नियुक्तिको बाटो खुल्ने अपेक्षा


काठमाडौं, नेपाल ।

जापानका लागि नेपालको प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको संसदीय सुनुवाइ आगामी सोमबार हुने भएको छ । संसदीय सुनुवाइ समितिले सोमबार दिउँसो ३ बजेका लागि सुनुवाइको कार्यसूची तय गरेको छ ।

समितिको २४औँ बैठकमा थापाको सुनुवाइ हुनेछ । बैठक सिंहदरबारस्थित संघीय संसद् सचिवालयको सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्नेछ ।

संसदीय सुनुवाइ राजदूत नियुक्ति प्रक्रियाको महत्वपूर्ण चरण हो । सुनुवाइका क्रममा प्रस्तावित राजदूतको योग्यता, अनुभव, कार्ययोजना, कूटनीतिक प्राथमिकता तथा सम्बन्धित मुलुकसँगको नेपालको सम्बन्धलाई थप प्रभावकारी बनाउने योजनाबारे छलफल हुने अपेक्षा गरिएको छ ।

जापान नेपालको महत्वपूर्ण विकास साझेदार तथा नेपालीहरूको प्रमुख वैदेशिक गन्तव्य मुलुकमध्ये एक हो । त्यसैले जापानका लागि नेपाली राजदूतको भूमिका दुई देशबीचको कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउने मात्र नभई जापानमा रहेका नेपाली समुदायको हित संरक्षण, श्रमिकका समस्या समाधान, विद्यार्थीको सहजीकरण, व्यापार तथा लगानी प्रवर्द्धन र पर्यटन विकासका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ ।

थापाको सुनुवाइलाई जापान–नेपाल सम्बन्धमा आगामी दिनमा अघि बढाइने कूटनीतिक प्राथमिकता र योजनाबारे आफ्नो धारणा प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

यसअघि सन् २०१८ मा जापानको स्थायी आवासीय अनुमति (पीआर) लिएको विषय सार्वजनिक भएपछि उनको नियुक्तिको योग्यताबारे प्रश्न उठेको थियो । उक्त विषयमा थापाले संसदीय सुनुवाइका क्रममा आफूले पीआर त्यागिसकेको तथ्य पेश गरेका थिए । अब समितिले यससम्बन्धी विषयसहित उनको समग्र योग्यता र नियुक्तिसम्बन्धी आधारहरूको मूल्याङ्कन गर्नेछ ।

संसदीय सुनुवाइबाट अनुमोदन भएमा उनको राजदूत नियुक्तिको प्रक्रिया थप अघि बढ्नेछ । जापानमा रहेका नेपाली समुदायले पनि नयाँ राजदूतबाट नेपाली नागरिकका समस्या समाधान, श्रमिक तथा विद्यार्थीको हित संरक्षण र दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन प्रभावकारी भूमिका निर्वाह हुने अपेक्षा गरेका छन् ।

जापानमा नेपालीको बढ्दो उपस्थिति र दुई देशबीच विस्तार हुँदै गएको आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई मध्यनजर गर्दा आगामी राजदूतका लागि समुदायको विश्वास जित्नु र नेपालीको हकहितलाई प्राथमिकतामा राख्नु प्रमुख जिम्मेवारी हुनेछ । यसमा जापानमा रहेका नेपालीहरुले थापा उपयुक्त पात्र रहेको प्रतिक्रिया दिएको पाइन्छ ।


थापाको कूटनीतिक अनुभव र जापानसँगको लामो सम्बन्ध

उपलब्ध विवरण अनुसार थापाले दुई दशकभन्दा बढी समयदेखि नेपाल–जापान सम्बन्ध विस्तारमा काम गर्दै आएका छन् । उनले जापानको योकोहामा नेसनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कानुनमा स्नातकोत्तर र शुमेई विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सहयोगमा स्नातक गरेका छन् ।

उनले जापानको खानागावा इन्टरनेसनल फाउन्डेसनमा अन्तर्राष्ट्रिय सहयोग, सार्वजनिक नीति तथा बहुसांस्कृतिक मामिलासम्बन्धी विज्ञका रूपमा काम गरेको विवरण सार्वजनिक भएको छ । साथै, नेपाल र जापानबीच उच्चस्तरीय भ्रमण तथा द्विपक्षीय आदानप्रदान सहजीकरणमा पनि उनको संलग्नता रहेको छ ।

थापा जापानमा रहेको नेपाली समुदायसँग पनि लामो समयदेखि जोडिएका व्यक्ति हुन् । उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका पूर्वमहासचिव तथा नेपाली विद्यार्थी समाज जापानका पूर्वअध्यक्षसमेत रहिसकेका छन् । जापानी विश्वविद्यालयहरूमा अध्यापन तथा विभिन्न अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी कार्यक्रममा समेत उनको संलग्नता रहेको छ ।

जिज्ञानकुमार थापाको लामो कूटनीतिक अनुभव र नेपाल–जापान सम्बन्धमा पुर्‍याएको योगदाननै उनको नियुक्तिका लागि बलियो आधार बन्न सक्ने देखिन्छ ।