(Japan) 13 th October | 2026 | Tuesday | 9:00:14 PM || (Nepal) 5:45:14 PM
 
 


जापानलाई कर्मथलो बनाउँदै आएका डा. बलराम श्रेष्ठ सर्वाधिक मत सहित कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

  POSTED ON : Wednesday, 14 October, 2026 | Views : 172

जापानलाई कर्मथलो बनाउँदै आएका डा. बलराम श्रेष्ठ सर्वाधिक मत सहित कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित


टोकियो, जापान ।

दुई दशकदेखि जापानलाई आफ्नो कर्मथलो बनाउँदै आएका डा. बलराम श्रेष्ठ नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत प्रवासी नेपाली जनसम्पर्क समितिको प्रतिनिधित्व गर्दै एसिया–प्यासिफिक क्षेत्रबाट उम्मेदवारी दिएका श्रेष्ठले सर्वाधिक मत प्राप्त गर्दै केन्द्रीय कार्यसमितिमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

निर्वाचनको सार्वजनिक मतपरिणाम अनुसार श्रेष्ठले कुल १ हजार ९२० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नवराज शिवाकोटीले ९१५ मत प्राप्त गरेका छन् । त्यसैगरी जापानबाटै उम्मेदवारी दिएका नारायणप्रसाद सुवेदीले ८९९ र दण्डपानी कँडेलले ८७७ प्राप्त गर्दा सुरेश कोइरालाले ८४६, विनोदबहादुर थापाले ६३३ र चण्डीप्रसाद योङ्याले ५१४ मत प्राप्त गरेका छन् ।

श्रेष्ठले निकटतम प्रतिस्पर्धीभन्दा १ हजार ५ मत बढी प्राप्त गरेका छन् । यससँगै एसिया–प्यासिफिक क्षेत्रबाट प्रवासी नेपालीको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसको केन्द्रीय तहमा पुग्ने अवसर उनले प्राप्त गरेका छन् ।

विदेशमा बसोबास गर्ने नेपाली नागरिक तथा नेपाली कांग्रेससँग आबद्ध नेता–कार्यकर्ताका राजनीतिक, सामाजिक र संगठनात्मक मुद्दालाई पार्टीको नीति निर्माण तहसम्म पुर्‍याउन प्रवासी प्रतिनिधित्वलाई महत्त्वपूर्ण मानिन्छ। श्रेष्ठको निर्वाचित हुनुले जापानमा रहेका नेपाली कांग्रेससमर्थक तथा प्रवासी नेपाली समुदायमा उत्साह थप्ने अपेक्षा गरिएको छ ।

विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूले प्रवासी नेपालीको हकहित, राजनीतिक सहभागिता र संगठन विस्तारका विषयलाई पार्टीको केन्द्रीय नेतृत्वसम्म पुर्‍याउन भूमिका खेल्दै आएका छन्। केन्द्रीय सदस्यका रूपमा श्रेष्ठले पनि प्रवासमा रहेका नेपालीका सरोकारलाई पार्टीको नीति तथा निर्णय प्रक्रियासँग जोड्ने अवसर पाउनेछन् ।

जापानमा रहेर नेपाली समुदायसँग कानूनी सहायतामा काम गर्दै आएका श्रेष्ठको यो जितलाई नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रवासी नेपालीको प्रतिनिधित्वका दृष्टिले महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।