(Japan) 30 th October | 2026 | Friday | 12:09:53 AM || (Nepal) 8:54:53 PM
 
 


पत्रकार शान्त पहरीको पहलमा रामेछापमा विद्यालय भवन निर्माण

  POSTED ON : Thursday, 29 October, 2026 | Views : 148

पत्रकार शान्त पहरीको पहलमा रामेछापमा विद्यालय भवन निर्माण


रामेछाप, नेपाल ।

जापानलाई विगत १३ वर्षदेखि कर्मभूमि बनाउँदै आएका पत्रकार शान्त पहरीको विशेष पहल र समन्वयमा रामेछापको गेलूमा दुईतले विद्यालय भवन निर्माण सम्पन्न भएको छ। मन्थली नगरपालिका–१२, गेलूस्थित श्री पशुपति आधारभूत विद्यालयमा निर्माण गरिएको उक्त भवनको उद्घाटन भएको छ ।

जापानको निचिनोकेन कान्तो कम्पनीका प्रमुख कोजिमा इसामूको आर्थिक सहयोगमा नेपालका तीन जिल्लामा विद्यालय तथा शैक्षिक पूर्वाधारसम्बन्धी भवन निर्माण गरिएको हो। रामेछाप, झापा र भक्तपुरमा निर्माण सम्पन्न भएका तीनवटा भवनको उद्घाटनका लागि निचिनोकेन कम्पनीका अध्यक्ष कोजिमा ताकाशीसहितको टोली नेपाल आइपुगेको छ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कम्पनीका अध्यक्ष कोजिमा ताकाशी, महाप्रबन्धक मनीष श्रेष्ठ तथा कम्पनीका प्रतिनिधि इजुमी नेपाल आइपुगेका हुन्। नेपाल भ्रमणका क्रममा टोलीले विभिन्न स्थानमा निर्माण सम्पन्न भएका भवनहरूको उद्घाटन गरेको हो ।


पत्रकार पहरीको पहलमा विद्यालयलाई नयाँ भवन

रामेछापको मन्थली नगरपालिका–१२, गेलूमा रहेको श्री पशुपति आधारभूत विद्यालयमा निर्माण गरिएको दुईतले भवन स्थानीय विद्यार्थीहरूको शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ।

विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका पत्रकार शान्त पहरीले जापानस्थित सहयोगी संस्था तथा व्यक्तिहरूसँग समन्वय गर्दै भवन निर्माणका लागि पहल गरेका हुन्। पहरीको पहलमा प्राप्त सहयोगले विद्यालयको भौतिक संरचना विस्तार गर्न योगदान पुगेको छ।

उक्त भवनको उद्घाटन निचिनोकेन कम्पनीका अध्यक्ष कोजिमा ताकाशी र मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ। विद्यालय भवन निर्माण सम्पन्न भएसँगै विद्यार्थीहरूका लागि थप व्यवस्थित शैक्षिक वातावरण निर्माण हुने अपेक्षा गरिएको छ।


झापा र भक्तपुरमा पनि शैक्षिक भवन निर्माण

जापानी कम्पनीको सहयोगमा रामेछापबाहेक झापा र भक्तपुरमा समेत शैक्षिक पूर्वाधार निर्माण गरिएको छ। झापाको अर्जुनधारामा पुस्तकालय भवन निर्माण सम्पन्न भएको छ भने भक्तपुरको नगरकोट क्षेत्रमा विद्यालय भवन निर्माण गरिएको छ।

तीनवटै स्थानमा निर्माण सम्पन्न भएका भवनको उद्घाटनका लागि जापानी कम्पनीको प्रतिनिधिमण्डल नेपाल आएको हो। यी परियोजनाले स्थानीय तहमा शैक्षिक पूर्वाधार विकास, अध्ययनका लागि आवश्यक वातावरण निर्माण तथा विद्यार्थीहरूलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।


जापान–नेपाल सहकार्यको उदाहरण

करिब तीन वर्षअघि नेपाल पत्रकार महासंघ जापान शाखाका निवर्तमान अध्यक्षसमेत रहेका पहरीले तत्कालीन जापानका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदीसँग समन्वय गर्दै जापानी कम्पनीबाट सहयोग जुटाउने पहल गरेका थिए। सोही पहल र समन्वयका आधारमा नेपालका तीन स्थानमा भवन निर्माणको काम अघि बढेको हो।

विदेशमा रहेर पनि आफ्नो जन्मभूमि र समुदायको शैक्षिक विकासमा योगदान दिन सकिने उदाहरणका रूपमा पहरीको पहललाई लिन सकिन्छ। जापानमा लामो समयदेखि कार्यरत रहेका उनले जापानी कम्पनी र नेपालको स्थानीय शैक्षिक संस्थाबीच सहकार्यको वातावरण बनाउन भूमिका खेलेका छन्।

विद्यालय भवन तथा पुस्तकालय निर्माणजस्ता परियोजनाले स्थानीय समुदायमा शैक्षिक अवसर विस्तार गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ। यस्ता पहलले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नुका साथै शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यको सम्भावनासमेत उजागर गर्छन्।

रामेछाप, झापा र भक्तपुरमा निर्माण सम्पन्न भएका तीनवटा भवनको उद्घाटनसँगै जापानी कम्पनीको सहयोगमा सम्पन्न शैक्षिक पूर्वाधार विकासका परियोजनाले स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।