टोकियो, जापान ।
नेपालको भोटेकोशी क्षेत्रमा करिव ३ महिना अघि गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले जापानस्थित एक कम्पनी र कार्यरत कर्मचारीहरूले आर्थिक सहयोग संकलन गरेर सहयोग गरेका छन् ।
जापानको टोकियोमा मुख्यालय रहेको निचिइ ९ल्ष्अजष्भष् ऋयचउयचबतष्यल० कम्पनीले आफ्ना व्यवस्थापन पक्ष तथा कर्मचारीहरूबाट सहयोग रकम जुटाउँदै विपद्मा परेका नेपाली समुदायप्रति ऐक्यबद्धता जनाएको हो ।
कम्पनीले करिब ३ लाख जापानी येन संकलन गरेकोमा २ लाख ३० हजार येन जापानस्थित नेपाली राजदूतावासले स्थापना गरेको ‘नेपाल बाढीपहिरो राहत कोष’मा जम्मा गरेको छ । उक्त रकम यसै साता राहत कोषमा हस्तान्तरण गरिएको हो ।
कम्पनीका व्यवस्थापक तथा नेपाली नागरिक जीवन राजभण्डारीका अनुसार राहत कोषमा रकम जम्मा गरेपछि बाँकी रहेको रकम नेपालमा स्थानीय गैरसरकारी संस्थामार्फत प्रभावित समुदायको सहयोगमा खर्च गरिनेछ ।
नेपाली कर्मचारीको पहल र जापानी व्यवस्थापनको साथ
निचिइ कर्पोरेसनका प्रतिनिधि निर्देशक तथा अध्यक्ष तोसियाकी सुएमात्सुका अनुसार नेपालमा आएको प्राकृतिक विपत्तिबारे जानकारी पाएपछि कम्पनी व्यवस्थापन भावुक भएको थियो । त्यसपछि प्रभावित नेपाली परिवारलाई सहयोग गर्ने उद्देश्यले कम्पनीभित्र आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको थियो ।
उनका अनुसार यो अभियान जापानी तथा नेपाली कर्मचारीबीच रहेको आत्मीय सम्बन्ध र संकटका बेला विपद्मा परेका समुदायलाई सहयोग गर्ने साझा भावनाको उदाहरण हो ।
सुएमात्सुले नेपाललाई सहयोग गरेको यो पहिलो पटक नभएको पनि बताएका छन् । यसअघि नेपालमा विनाशकारी गोरखा भूकम्प गएको समयमा पनि निचिइ कर्पोरेसनले राहत सहयोग उपलब्ध गराएको उनले स्मरण गरे ।
उनका अनुसार उनका स्वर्गीय बुबाको नेपाल र नेपालीप्रतिको विशेष स्नेह तथा सद्भावले पनि कम्पनीलाई नेपालका लागि आवश्यक परेको समयमा सहयोग गर्न प्रेरित गर्दै आएको छ ।
नेपाली कर्मचारीको मेहनत र इमानदारीताको प्रशंसा
टोकियोमा आधारित निचिइ कर्पोरेसनले जापानमा भवन व्यवस्थापन, होटल व्यवस्थापन, पार्किङ सेवा, शिक्षा तथा एससी सञ्चालन सहयोग लगायतका क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीमा उल्लेख्य संख्यामा नेपाली कर्मचारीहरू कार्यरत छन् ।
अध्यक्ष सुएमात्सुले नेपाली कर्मचारीहरूको मेहनत, समयपालना र इमानदारीको प्रशंसा गर्दै कम्पनीले नेपाली कर्मचारीलाई प्राथमिकताका साथ रोजगारी दिने गरेको बताएका छन् ।
उनका अनुसार नेपाली कर्मचारीहरूको उपस्थितिले कम्पनीको कार्यस्थललाई थप समृद्ध बनाउनुका साथै नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई समेत बलियो बनाएको छ ।
नेपाल–जापान सम्बन्धमा मानवीय सहयोगको उदाहरण
नेपाल र जापानबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ। जापानले नेपालको पूर्वाधार विकास, शिक्षा, विपद् व्यवस्थापन तथा मानवीय सहयोगका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ।
पछिल्ला वर्षहरूमा रोजगारी तथा उच्च शिक्षाका लागि नेपालीहरू जापान आउने क्रम बढेसँगै दुई देशबीचको जनस्तरको सम्बन्ध पनि थप विस्तार हुँदै गएको छ।
बाढीपहिरोबाट प्रभावित नेपाली परिवारको पुनःस्थापना तथा जीवनयापन सहज बनाउन संकलित सहयोगले सानो भए पनि सकारात्मक योगदान पुर्याउने विश्वास अध्यक्ष सुएमात्सुले व्यक्त गरेका छन्।
जापानमा व्यवसाय सञ्चालन गर्दै आएका कम्पनी तथा त्यहाँ कार्यरत नेपाली र जापानी कर्मचारीहरूको यस्तो मानवीय पहलले विपद्का बेला देशको सीमाभन्दा माथि उठेर सहयोग र सहकार्य गर्न सकिने सन्देश दिएको छ ।