काठमाडौं, नेपाल ।
जापान सरकारले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको भाषा तथा अन्तर्राष्ट्रिय अध्ययनसम्बन्धी क्याम्पसमा रहेको जापानी भाषा कक्षाकोठा सुधार तथा स्तरोन्नतिका लागि करिब ९३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
नेपालस्थित जापानी दूतावासका अनुसार जापान सरकारको सांस्कृतिक तथा आधारभूत तहको सहयोग कार्यक्रम अन्तर्गत ६४ हजार ८८५ अमेरिकी डलर अर्थात् करिब ९३ लाख नेपाली रुपैयाँ अनुदान उपलब्ध गराइएको हो ।
उक्त सहयोगमा सुधार गरिएको जापानी भाषा कक्षाकोठाको हस्तान्तरण समारोह नोभेम्बर २५ तारिखमा आयोजना गरिएको थियो । कार्यक्रममा नेपालका लागि जापानका राजदूत तोरु माएदा सहभागी भएका थिए ।
कार्यक्रममा राजदूत माएदाले परियोजना सम्पन्न गर्न योगदान पुर्याउने सबैप्रति बधाई तथा धन्यवाद व्यक्त गर्दै सुधार गरिएको शैक्षिक वातावरणले जापानी भाषा अध्ययन गर्ने विद्यार्थीलाई अझ प्रभावकारी रूपमा सिक्न र अध्ययनमा सक्रिय हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सन् १९६८ देखि त्रिभुवन विश्वविद्यालयमा जापानी भाषा अध्यापन
त्रिभुवन विश्वविद्यालयको जापानी भाषा विभागले सन् १९६८ देखि जापानी भाषा शिक्षासम्बन्धी डिप्लोमा तहको अध्ययन कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्थापनाकालदेखि नै यस विभागबाट ठूलो संख्यामा विद्यार्थीले जापानी भाषा अध्ययन गर्दै आएका छन् ।
विभागले जापानी भाषा प्रवीणता परीक्षा (JLPT) को एन–२ (N2) स्तरसम्मको भाषा शिक्षाका साथै जापानको इतिहास, संस्कृति र सामाजिक परिवेशबारे समेत अध्ययन गर्ने अवसर प्रदान गर्दै आएको छ ।
नयाँ परियोजना अन्तर्गत सूचना तथा सञ्चार प्रविधिमा आधारित शैक्षिक पूर्वाधारको विकास र कक्षाकोठाको स्तरोन्नति गरिएको छ । यसबाट विद्यार्थीले व्यावहारिक रूपमा जापानी भाषा सिक्ने अवसर पाउनुका साथै जापान र नेपाल दुवै देशमा सक्रिय भूमिका निर्वाह गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
लभ ग्रिन नेपालको सहकार्यमा परियोजना सम्पन्न
जापान सरकारको अनुदान सहयोगमा सञ्चालन भएको यो परियोजना लभ ग्रिन नेपाल (Love Green Nepal – LGN) मार्फत कार्यान्वयन गरिएको हो।
सन् १९९१ मा स्थापना भएको लभ ग्रिन नेपालले नेपालमा सामाजिक तथा शैक्षिक विकास, कृषि र स्वयंसेवी गतिविधिका क्षेत्रमा काम गर्दै आएको छ ।
जापान सरकारको GCGP कार्यक्रमले गैरनाफामूलक संस्थामार्फत सञ्चालन हुने सांस्कृतिक तथा उच्च शिक्षा क्षेत्रका परियोजनालाई फिर्ता गर्नु नपर्ने अनुदान उपलब्ध गराउँदै आएको छ। यस कार्यक्रमको उद्देश्य स्थानीय तहमा संस्कृति प्रवर्द्धन गर्नुका साथै उच्च शिक्षाको विकास र जापानप्रतिको समझदारी तथा सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्नु हो ।
नेपालमा जापानी भाषा सिक्ने विद्यार्थीको संख्या र जापानसँगको शैक्षिक तथा सांस्कृतिक सम्बन्ध विस्तार भइरहेका बेला त्रिभुवन विश्वविद्यालयको जापानी भाषा कक्षाकोठा स्तरोन्नतिका लागि गरिएको यो सहयोगलाई नेपाल–जापान शैक्षिक सहकार्यको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।