संगिता भट्ट - विश्वका विकसित र व्यस्त मुलुकमा रोजगारकर्ता र दाताले एक हप्ता बिदा एकै पटक पाउॅदा वरदान पाए जस्तै महशुष गर्छन् ।
त्यस समयमा मानिस तनाबबाट मुक्त भएर प्राकृतिक मज्जा लिदै परिवारसॅग समय बिताउन मन पराउछ । आफ्नै सुरमा रमाउन चाहन्छन् ।
जापानमा यहि अप्रिल २९ बाट गाल्डेन वीक सुरू हुॅदै छ । गोल्डेन वीकमा प्राय सम्पूर्ण सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, कलकारखानाहरू बन्द हुने गर्दछन् । जुन समय जापानीज नागरिकहरूले महत्वका साथ लिने गर्दछन् ।
यसो त एक्सपेडिया जापानले गरेको एक सर्वेक्षण अनुसार रोजगारकर्ताहरू मध्ये आधा जसो मानिस लामो छुट्टिमा असन्तुष्ट पनि देखिन्छन् । आर्थिक अवस्था कमजोर हुनेहरू लामो छुट्टी चाहँदैनन् ।
यस्तो अवस्थामा यात्रा महँगो, पर्यटकीय ठाउँहरू भीड, बैंक र धेरैजसो बाल हेरचाह केन्द्रहरू बन्द हुन्छन् ।
यो समयमा साना व्यवसायहरूलाई बढी संघर्ष गर्नुपर्ने हुन्छ । छुट्टी बस्ने र नबस्ने बीच असमानता प्रकट हुन्छ ।
केही मानिसहरु ओभरटाइम काम गर्दछन् छुट्टीको प्रयोग गर्दैनन् ।
तर, विवाहका लागि केहि समय छुट्टी चाहदॉ विदेशी कामदारले समेत प्राय ५ दिन बिदा पाउने यो मुलुकमा गोल्डेन वीकको बिदा भने सात दिन हुने गर्दछ ।
यो समयमा कयौं विदेशीहरू घर देश समेत पुगेर फर्कने गर्दछन् ।गोल्डेन वीक सामान्य बिदा मात्रै नभएर जापानको राष्ट्रिय पर्व पनि हो ।
गोल्डन वीक भित्र चार राष्ट्रिय पर्वहरूको संयोजन गरिएको छ ।
यी हुन् सुनौलो हप्ता अर्थात गोल्डेन वीकका राष्ट्रिय बिदाहरू
अप्रिल २९ - पूर्व सम्राट शोआको जन्मदिन
अप्रिल २९ पूर्व सम्राट शोआको जन्मदिन हो । यस अबसरमा जापानमा बिदा दिने चलन छ ।
मे ३ - संविधान दिवस
१९४७ मा दोस्रो बिश्वयुद्धपछि जापानमा नयाँ लागू गरिएको दिन हो । जापानी क्यालेण्डरमा संविधान दिवसमा सार्वजनिक बिदा उल्लेख छ ।
मे ४ - हरियाली दिवस
२००६ सम्म हरियाली दिवस अप्रिल २९ मा मनाइन्थ्यो, पूर्व सम्राट शोआको जन्मदिनको दिन ।
सम्राट शोआले बोटबिरुवा र प्रकृति मन पराउनुहुन्थ्यो । हरियाली दिवस घोषित हुनु अघि मे ४ लाई एक राष्ट्रिय बिदाको रूपमा प्रयोग गरिन्थ्यो ।
मे ५ - बाल दिवस
जापानमा बालबालिकाको स्वास्थ्य र भविष्य सफलताको लागि प्रार्थना गर्दै बाल दिवस मे ५ मा मनाइन्छ ।
यिनै राष्ट्रिय पर्वहरू गोल्डेन वीकमा समाहित छन् ।
गोल्डन वीकका लागि जापानीज तथा जापानमा रहेर विभिन्न पेसा व्यावसायमा संलग्न विदेशीहरू धेरै अघिदेखि नै विभिन्न योजना बनाउने गर्छन् ।
तर, यो वर्ष कोभीड -१९ भाइरसका कारण जापानी बासिन्दा र विदेशी पर्यटकको योजना पुरा हुन पाएन ।
यस पटक साकुरा हेर्नेको पनि भीड लागेन । साकुरा एक्लै फुल्यो अनि एक्लै झर्यो, अर्थात् साकुरामा रमाउने करोडौं व्यक्ति चाहेरपनि गएनन् ।
जापान सरकारको आपतकाल घोषणा र नेपाल लगायत विभिन्न यूरोपियन मुलुकहरूमा प्रवेश प्रतिवन्धका कारण भित्रने र बाहिरिने मानिसको संख्या शुन्य जस्तै छ ।
सरकारले नै कोरोना भाइरसको प्रकोपका कारण जनतालाई यस बर्षको गोल्डेन वीकमा यात्रा नगर्न अनुरोध गर्दै १० बुँदे अनुरोध नै जारी गरेको छ ।
कोरोना कै कारण जापानको पर्यटन क्षेत्र सबैभन्दा बढी नराम्रोसँग मारमा परेको छ । गत मार्च महिनामा मात्रै पर्यटन आवागमनमा ९३ प्रतिशत गिरावट आएको र त्यो अप्रिल महिनामा ९९ प्रतिशतमा पुग्ने ठानिएको छ ।
यो गिरावट सन् १९६४ पछिको अर्को रेकर्ड भएको समाचार संस्था क्योदोले उल्लेख गरेको छ ।
पर्यटक आगमनमा गिरावट आएपनि कोरोना रोकथामका लागि जापान सरकारले खेलेको भुमिकाकै कारण संक्रमणदर अमेरिकामा तथा युरोपेली देशहरुमा जस्तो फैलन नपाएको देखिन्छ ।
योजना र तयारी गर्न नपाउँदै उत्साहको ठाउँमा कोरोना संक्रमणको भय मिसिंदा यस बर्षको गोल्डेन विक गोल्ड बिनाको विक बनेको छ ।
जसलाई जापानीहरु अर्को बर्ष गोल्डको ठाउँमा डाईमण्ड भरेर थप हर्सोल्लासका साथ ओलम्पिक आयोजना गरेर भव्यतामा बदल्ने प्रण गरिरहेका छन् ।
...