सम्माननीय प्रधानमन्त्री बालेन शाह ज्यू,
नेपाल सरकार
सिंहदरबार, काठमाडौं, नेपाल
विषय: विदेश (जापान) बस्न बाध्य नेपालीहरूको तर्फबाट एक खुल्लापत्र
सम्माननीय प्रधानमन्त्री बालेन शाह ज्यू,
सात समुन्द्रपारी को देश जापानबाट सादर नमस्कार।
म यो पत्र घरी घरी प्राकृतिक भुकम्प र नियममा भुकम्प गईरहने समुन्द्रपारी को देश जापानको एक सानो कोठाबाट लेखिरहेको छु, तर मेरो मन सधैं हिमाल, पहाड र तराईले सजिएको मेरो आफ्नै देश नेपालमै छ। म मात्र होइन, यहाँ हजारौं नेपाली युवाहरू छन् जसले आफ्नो परिवार, गाउँघर, धर्म संस्कृति र मातृभूमिको माया मनभित्र राखेर परदेशको कठोर जीवन बिताइरहेका छन्।
प्रधानमन्त्री ज्यू ,
सर्बप्रथम त तपाईको ऐतिहासिक जित र ऐतिहासिक प्रधानमन्त्री बन्नुभएकोमा धेरै धेरै शुभकामना ब्यक्त गर्दछु !
हामीमध्ये धेरैले देशमै केही गर्ने सपना बोकेका थियौं। आफ्नो परिवारसँगै बसेर, आफ्नै गाउँमा पसिना बगाएर, आफ्नो देश बनाउने चाहना थियो। तर देशको अस्थिर राजनितिका कारण अवसर खोज्न भनु या आफ्नो र परिवारको रोजीरोटीको लागि हामीलाई घर छोड्न बाध्य बनायो। आमाबुबाको आँखामा आँसु थियो, गाउँका खोला नाला ,बाटाहरू सम्झनाले भरिएका थिए, तर भविष्यको आशाले हामी विमान चढेर हजारौं किलोमिटर टाढा आयौं।
यहाँ हामी दिनरात कडा परिश्रम गर्छौं। कहिलेकाहीँ थकाइले शरीर मात्र होइन, मन पनि भारी हुन्छ। चाडपर्व आउँदा गाउँको सम्झना झन् गहिरो हुन्छ। तिजमा दर खाने दिन भन्दै माईती आगनमा गएर नाच्न पाईदैन ,दशैंमा टीका लगाउन आमाको हात हुँदैन, । मोबाइलको पर्दामै सीमित भएको त्यो परिवार देख्दा मन भक्कानिन्छ।
प्रधानमन्त्रीज्यू,
हामी देश छोडेर हिँडेका मानिस होइनौं, परिस्थितिले देश छोड्न बाध्य बनाएका नागरिक हौं। विदेशमा बसेर पनि हामीले कमाएको पसिनाको ठूलो हिस्सा रेमिटेन्सका रूपमा नेपाल पठाइरहेका छौं, जसले देशको अर्थतन्त्र चलिरहेको छ। तर हाम्रो मनको गहिरो चाहना एउटै छ—कुनै दिन आफ्नै देश फर्केर सम्मानका साथ जीवन बिताउने।
प्रधानमंत्री ज्यू,
हामी यहाँ जापानमा रोजगारीका लागि आएको वीसौं बर्ष भइसकेको छ। जीवनयापनका लागि केही हदसम्म सहज भए पनि हाम्रो सबैभन्दा ठूलो चिन्ता भनेको हाम्रो बच्चाको भविष्य र शिक्षासँग जोडिएको छ। भाषा फरक, संस्कृति फरक, र आफ्नोपनको अभावले गर्दा हाम्रो बच्चाले दैनिक रूपमा अनेकौं कठिनाइहरूको सामना गरिरहेका छन् !
स्कूलमा बच्चाले पढाइ बुझ्न संघर्ष गरिरहेको छ। साथीहरूसँग घुलमिल हुन गाह्रो भइरहेको छ। कहिलेकाहीँ उसले आफ्नो मनको कुरा खुलेर व्यक्त गर्न पनि सक्दैन। हामी अभिभावकको रूपमा उसको त्यो पीडा देख्दा असह्य महसुस गर्छौं।
हामीलाई थाहा छ—देश छोडेर बाहिर आउनु हाम्रो आफ्नै निर्णय थियो। तर अब हामीलाई लागिरहेको छ कि हाम्रो बच्चाको उज्ज्वल भविष्यका लागि हामीले फेरि आफ्नै मातृभूमि फर्कनुपर्छ। जहाँ उसले आफ्नै भाषा, आफ्नै संस्कृति र आफ्नै परिवेशमा खुलेर सिक्न र बढ्न सक्छ।
प्रधानमन्त्रीज्यू, हामी जस्तै धेरै नेपाली परिवारहरू विदेशमा यस्तै द्विविधामा छन्। यदि हाम्रो देशमा गुणस्तरीय शिक्षा, अवसर र सुरक्षित भविष्यको सुनिश्चितता अझ मजबुत हुने हो भने, हामी जस्ता हजारौं परिवार खुशी खुशीसाथ स्वदेश फर्किन तयार छौं।
प्रधानमन्त्री ज्यू
जापान बसेर विविध कठिनाईको बाबजुद (भाषा,कानुनी अनविज्ञ)पनि सहज बातावरण मा रेस्टुरेन्ट व्यावसाय गरेर १०/१२ जनालाई रोजगारी दिईरहेकै छु !! यस्तै सहज बातावरणमा म आफ्नै देशमा व्यावसाय गरेर १०/१२ जनालाई रोजगारी दिन चाहान्छु र यहा तिर्ने कर आफ्नै देशमा तिरेर देशको विकासमा सहयोग गर्न चाहन्छु !!
प्रधानमन्त्री ज्यू
रेस्टुरेन्टमा सर्भिस गर्ने क्रममा परिवारहरुको साथमा आएकी एक जना ४ बर्षको बालिकाले मलाई प्रश्न गरिन्ः-
तपाई विदेशी नागरिक होईन ?
मैले भनें हजुर हो !
अनि तिनी नानी ले प्रश्न गरिन्ः किन विदेशमा वस्नु भएको ?
म अक्क न वक्क भएं मैले उत्तर दिन सकिन र भावुक संगै सोच्न बाध्य बनायो ।
त्यसपछि नानीको बाबा मामु सग कुराकानी चल्यो ए तपाई नेपाली हो ?नेपाल कस्तो छ ? नेपाल कहा निर हो ? नेपालको प्रख्यात ठाउको नाम के हो ? भन्दै सोध्नुभयो अनि मैले जवाफ दिएं “नेपाल सगरमाथाको देश हो नेपाल गौतम बुद्दको देश हो नेपाल कृतिम भन्दा पनि प्राकृतिक स्रोतले धनी देश हो त्यसपछि उहाले गुगल सर्च गर्दै हेर्नु भयो र भन्नुभयो सगरमाथा त चाईनामा पो रहेछ ,नेपालबाट नजिक चाही रहेछ !नेपाल भित्र चाही होईन रहेछ ,भन्नुभयो र देखाउनु भयो ,अनि बुद्द ईन्डियामा पो जन्मेको रहेछ भनेर भन्नुभयो ,म झसगं भएं ! मन पोल्यो यो कसलाई सुनाउ , को सगं पोख्यो भने सामाधान हुन्छ थाहा पाउन सकिन ! माननीय सोविता गौतम जापान भ्रमणमा आउनुहुदा जानाकारी स्वरुप संसद भबनमा सुनाईदिनु होला महत्वपुर्ण छ भनेर हस्तान्तरण गरेकी थिएं ! म एक्लैको अभियानमा रवि जी को लागि हस्ताक्षर संकलन गरेको पेपरहरु पनि थियो !!
प्रधानमन्त्री ज्यू
फेरी मेरो रेस्टुरेन्टमा अर्को २ जना विदेशी नागरिक (UK) सगं भेट भयो ! र कुराकानी भयो !अनि उहाले भन्नुभयो
He:Where are you from?
Me:I am from Nepal and you?
He: Oh! From Nepal?
Me : you know Nepal? Nepal is very beautiful country!!
He: yes I know!! Nepal will be new government am I right?
Me : yes . But how do you know?
He : गुगल सर्च गरेर बालेन शाहको फोटो देखाउदै he will be future prime minister am I right? Hope so will be very good but Japan is very bad now भन्दै धेरै नै कुरा भयो ! मोबाईल को स्क्रिन देखाउदै यो एभेरेस्ट को फोटो होईन मलाई एकदमै मन पर्छ भन्नुभयो ! हमीहरु मोबाईलको स्क्रिनमाअगाडि देखिने गरेर आफ्ना श्रीमान श्रीमती छोरा छोरी बाबा आमाको फोटो राख्छौ तर एउटा विदेशी नागरिकले नेपालको एभेरेस्टलाई सजाएको देख्दा गर्वले छात्ती फुल्यो
प्रधानमन्त्री ज्यू
तसर्थ हाम्रो देशलाई विश्वका साधरण नागरिकले त यसरी नियालीरहेका छन् भने ठुला ठुला राजनितिज्ञहरुले कसरी नियालेका होलान् ! यसलाई ख्याल गरेर संयमित भएर पाईला पाईलामा ख्याल गरेर पार्टी सभापति रवी लामिछाने ज्यू र प्रधानमन्त्री बालेन शाहको जोडी महजोडी जस्तै बनेर पार्टी भित्र एकढिक्का भएर अगाडि बढ्न म विनम्रतापुर्वक अनुरोध गर्दछु !!
बालेन र रवी आयो भने देश बेच्छ बालेन रबी विदेशी दलाल हो भन्ने हरुका अगाडी अहिलेसम्म नेपाल बाट बेचिएका लिपुलेक लिम्पियधुरा लगायतका भुभाग नदीनाला सबै आफ्नो बनाई तिनिहरुको सोच गलत सावित गरिदिनुहोस ! पुर्खाले विदेशी हस्तक्षपबाट जोगाएर वीर गोर्खाली भनेर चिनिएको नेपाल र हामी नेपाली अब हाम्रो सगरमाथा चिनमा पार्ने गुगललाई कार्बाही गरी विश्वमा आफ्नो पावर देखाईदिनुहोस !
प्रधानमन्त्री ज्यू,
हामी चाहन्छौं कि नेपालमा यस्तो वातावरण बनोस् जहाँ युवाहरूले आफ्नो भविष्य देख्न सकून्। जहाँ रोजगारीका अवसर होस्, सहज बातावरणमा आफ्नै व्यावसाय गर्ने बातावरण बनोस ,ठुलालाई चैन सानालाई ऐन बाट मुक्ति मिलोस्,
उद्योगधन्दा बढून्, शुशासन होस भ्रष्टाचार नियन्त्रण होस्, शिक्षा र स्वास्थ्य प्रणालीको सुधार होस साथै विदेशमा रहेका नेपालीहरुको सीप अनुभव र लगानीलाई देश विकासमा प्रयोग गर्ने स्पष्ट योजना वनाईयोस र मेहनत गर्ने युवाहरूले आफ्नो देशमै सम्मान पाउन सकून्!!
जहाँ अर्को पुस्ताले आमाको आँसु देखेर देश छोड्न नपरोस्। भविष्य खोज्न विदेश होइन, आफ्नै देश रोजून्। विदेश घुम्न जादा नेपाली हुं भनेर गर्व गर्न सकुं!
प्रधानमन्त्रीज्यू,
हामी छोरी चेली जसरी यहा विदेशमा सुरक्षित का साथ जहा जतिबेला पनि एक्लै यात्रा गर्न सक्छौ त्यस्तै मेरो देशमा पनि यस्तै सुरक्षित भएर आफ्नो गन्तव्य सम्म पुग्न सकुं र आफ्नो काम विना दकस सम्पन्न गर्न सकुं!हामीलाई विदेशको पैसा र सुरक्षा मात्र होइन, आफ्नो देशको माटो चाहिन्छ। हामीलाई चम्किलो शहर होइन, आफ्नै गाउँको बाटो प्रिय छ। कृपया यस्तो नेपाल बनाइदिनुहोस् जहाँ भविष्यको खोजीमा कसैले आफ्नो देश छोडेर पलायन हुन नपरोस्।
हामी परदेशमा बसेका लाखौं नेपालीहरूको यही सानो तर गहिरो आशा छ।
धन्यवाद ।
भवदीय,
विदेश (जापान) बस्न बाध्य एक नेपाली
कमला लम्साल काप्री