पोखराको एक उज्यालो बिहान। नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ। सानो बच्चाको काँधमा नयाँ झोला, अनुहारमा उत्साह, र छेउमै उभिएकी आमाको आँखामा भविष्यको सपना—“मेरो बच्चा पनि अगाडि बढोस्।”
त्यो दिन आमाले आफ्नो बच्चालाई स्कुलको ढोकासम्म छाडिन् र आशाले भरिएको मन लिएर फर्किइन्।
तर त्यो आशा धेरै दिन टिकेन।
केही हप्तापछि विद्यालयबाट आएको एउटा फोनले उनको संसार फेरि हल्लियो—
“म्याम, एकपटक विद्यालय आउनुहोस्।”
विद्यालय पुग्दा शिक्षकहरूको गम्भीर अनुहारले नै धेरै कुरा भनिसकेको थियो। अन्ततः शब्दहरू आए—
“हामी तपाईंको बच्चालाई यहाँ राख्न सक्दैनौं…”
“उ माथिल्लो कक्षामा सम्हाल्न गाह्रो हुन्छ…”
“अरू बच्चालाई असर गर्छ…”
आमा बाहिरबाट शान्त देखिइन्, तर भित्रभित्रै टुट्दै गइन्।
घर फर्किँदा बाटो लामो लाग्यो, सपना छोटो।
फरक तरिकाले सिक्ने बच्चा, एउटै ढाँचाको शिक्षा
उनको बच्चा कमजोर थिएन—तर फरक थियो।
ऊ छिटो लेख्न सक्दैनथ्यो, समयमै कपी सक्दैनथ्यो, तर उसले बुझ्थ्यो।
उससँग ज्ञान थियो, तर प्रणालीसँग मिल्दैनथ्यो।
यहीँबाट सुरु भयो अर्को संघर्ष—
नयाँ विद्यालय खोज्ने, नयाँ ढोका ढकढक्याउने, तर हरेक ठाउँमा एउटै उत्तर:
“Entrance पास नगरे भर्ना हुँदैन।”
परीक्षाको दिन बच्चा प्रश्न बुझ्छ, उत्तर पनि थाहा हुन्छ, तर समयले साथ दिँदैन।
नतिजा आउँछ—“Not Selected।”
अर्को सपना चुपचाप मर्छ।
प्रणालीमाथि उठेका प्रश्नहरू
रातको सन्नाटामा आमाको मनमा प्रश्नहरू गुञ्जिन्छन्—
के मेरो बच्चा साँच्चै कमजोर हो?
कि हाम्रो शिक्षा प्रणालीले उसलाई बुझ्न सकेन?
के कक्षा उकाल्नु केवल परीक्षामा पास हुनुमै सीमित हुनुपर्छ?
नेपालको शिक्षा प्रणाली अझै धेरै हदसम्म “घोकन्ते शिक्षा” मा आधारित छ।
जहाँ अंकले क्षमताको मापन गर्छ, तर सिकाइको गहिराइ मापन हुँदैन।
विदेशी अभ्यास: फरक दृष्टिकोण
विश्वका धेरै देशहरूले यो सोच परिवर्तन गरिसकेका छन्।
जस्तै, Japan मा साना कक्षाहरूमा विद्यार्थीलाई फेल गराइँदैन। त्यहाँ ध्यान अंकमा होइन, बच्चाको आत्मविश्वास र समग्र विकासमा हुन्छ।
त्यस्तै, Cambridge Assessment International Education अन्तर्गतका विद्यालयहरूले फरक सिकाइ क्षमता भएका बालबालिकाका लागि वैकल्पिक मूल्यांकन प्रणाली अपनाएका छन्।
त्यहाँ प्रश्न हुन्छ—“उसले कति सिक्यो?”
यहाँ अझै प्रश्न हुन्छ—“कति नम्बर आयो?”
नेपालमा परिवर्तनको संकेत
हालै नेपाल सरकारले कक्षा ५ सम्म आन्तरिक परीक्षा हटाउने र मनोवैज्ञानिक दबाब नपर्ने मूल्यांकन प्रणाली ल्याउने तयारी गरेको खबरले केही आशा जगाएको छ।
यदि यस्तो नीति पहिले नै लागू भएको भए, सायद धेरै बालबालिकाले “Not Selected” भन्ने शब्द सुन्नु पर्ने थिएन।
तर प्रश्न अझै बाँकी छन्—
के विद्यालयहरू यसका लागि तयार छन्?
के शिक्षकहरू पर्याप्त तालिम प्राप्त छन्?
के learning disabilities भएका बालबालिकाका लागि विशेष व्यवस्था छ?
समाजको नजर र अदृश्य पीडा
विद्यालयले अस्वीकार गर्छ, समाजले प्रश्न गर्छ—
“किन यस्तो समस्या?”
“के गरिरहनुभएको छ?”
तर कसैले सोध्दैन—“तपाईं ठीक हुनुहुन्छ?”
यो केवल एक आमाको कथा होइन।
यो हजारौं अभिभावक र बालबालिकाको साझा पीडा हो।
अन्तिम सन्देश: स्वीकार गर्ने समय
एक साँझ, बच्चाले आमालाई भन्यो—
“म त already राम्रो छु नि मम्मी।”
त्यो वाक्यले आमाको मन छोयो।
किनभने बच्चाले आफूलाई स्वीकारिसकेको थियो—तर समाजले अझै बाँकी छ।
अब समय आएको छ—
“नपढे कक्षा उक्लँदैन” भन्ने सोच बदल्ने
“हरेक बच्चा फरक हुन्छ” भन्ने स्वीकार गर्ने
अंकभन्दा आत्मविश्वास ठूलो हो।
प्रतिस्पर्धाभन्दा मानसिक स्वास्थ्य महत्वपूर्ण हो।
अन्ततः प्रश्न एउटै रहन्छ—
हामी कहिले बुझ्नेछौं कि हरेक बच्चा एउटै हुँदैन !