(Japan) 14 th June | 2026 | Sunday | 6:54:56 PM || (Nepal) 3:39:56 PM
 
 

जापानी सम्राट र महारानी युरोप भ्रमणमा, नेदरल्यान्ड्समा भव्य स्वागत

  POSTED ON : Sunday, 14 June, 2026 | Views : 74

जापानी सम्राट र महारानी युरोप भ्रमणमा, नेदरल्यान्ड्समा भव्य स्वागत


एजेन्सी, नेदरल्यान्ड्स ।

जापानका सम्राट सम्राट  नारुहितो र महारानी मासाको दुई साताको युरोप भ्रमणका लागि शनिबार नेदरल्यान्ड्स पुगेका छन् । उनीहरूको यो भ्रमणको पहिलो गन्तव्य नेदरल्यान्ड्स रहेको छ भने त्यसपछि उनीहरू बेल्जियम जाने कार्यक्रम रहेको छ ।

जापानी शाही दम्पती सवार सरकारी विमान स्थानीय समय अनुसार शनिबार साँझ करिब ६:४५ बजे एम्स्टर्डम एयरपोर्ट शिफोलमा अवतरण गरेको थियो । विमानस्थलमा नेदरल्यान्ड्सका राजा राजा विलेम-अलेक्जेन्डर र रानी म्याक्सिमाका प्रतिनिधिहरूले शाही सम्मानसहित स्वागत गरेका थिए । स्वागत समारोहमा सम्मान गार्ड पनि तैनाथ गरिएको थियो ।

नेदरल्यान्ड्स पुगेपछि सम्राट र महारानी पूर्वी नेदरल्यान्ड्स स्थित शाही दरबारतर्फ प्रस्थान गरेका थिए । जापानी शाहि दम्पित्ती मंगलबारसम्म सोही दरबारमा बस्ने कार्यक्रम रहेको छ ।

जापानी शाही परिवार र डच शाही परिवारबीच दशकौँदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको छ। यही विशेष सम्बन्धलाई थप सुदृढ बनाउन यो भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

आगामी बुधबार सम्राट नरुहितो र महारानी मासाको सम्मानमा रोयल प्यालेस एम्स्टर्डम अगाडि रहेको चौकमा औपचारिक स्वागत समारोह आयोजना गरिनेछ । सोही दिन उनीहरूले युद्धमा ज्यान गुमाएकाहरूको सम्झनामा बनाइएको स्मारकमा पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम पनि रहेको छ ।

यसैगरी, बेलुका राजा विलेम अलेक्जेन्डर र रानी म्याक्सिमाले आयोजना गर्ने राजकीय भोजमा जापानी शाही दम्पती सहभागी हुनेछन् । उक्त भोजलाई दुई देशबीचको मित्रता र सहकार्यको प्रतीकका रूपमा हेरिएको छ ।

नेदरल्यान्ड्स भ्रमण सम्पन्न गरेपछि सम्राट नरुहितो र महारानी मासाको टोली आगामी शनिबार बेल्जियम प्रस्थान गर्नेछ। युरोप भ्रमणका क्रममा उनीहरूले विभिन्न औपचारिक कार्यक्रम, कूटनीतिक भेटघाट तथा सांस्कृतिक आदानप्रदान सम्बन्धी कार्यक्रममा सहभागिता जनाउने बताइएको छ ।

जापान र नेदरल्यान्ड्सबीच ऐतिहासिक रूपमा चार सय वर्षभन्दा लामो सम्बन्ध रहेको मानिन्छ । शाही दम्पतीको यो भ्रमणले दुई देशबीचको मित्रता, सांस्कृतिक आदानप्रदान र कूटनीतिक सम्बन्धलाई अझ बलियो बनाउने विश्वास गरिएको छ ।