टोकियो, जापान ।
जापानको राजधानी टोकियोमा सम्पन्न एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स–२०२६ ले नेपाली पत्रकारिताको वर्तमान अवस्था, प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार, प्रवासी पत्रकारको संस्थागत हैसियत तथा डिजिटल युगका चुनौतीलाई केन्द्रमा राख्दै ऐतिहासिक ‘टोकियो घोषणापत्र–२०२६’ जारी गरेको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको समन्वय तथा जापान शाखाको आयोजनामा नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा सम्पन्न सम्मेलनमा विभिन्न देशका वैदेशिक शाखा, नेपाल अमेरिका पत्रकार संघ, नेपाल अष्ट्रेलिया पत्रकार संघ, महासंघका पदाधिकारी, प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए । सम्मेलनले पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भ मान्दै नेपाल र प्रवास दुवै क्षेत्रमा पत्रकारको अधिकार सुदृढ बनाउन बहुआयामिक प्रतिबद्धता सार्वजनिक गरेको छ ।
प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपप्रति गम्भीर चिन्ता
घोषणापत्रको पहिलो र सबैभन्दा महत्वपूर्ण विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हो । सम्मेलनले नेपालको संविधान र अन्तर्राष्ट्रिय अभ्यासविपरीत प्रेस स्वतन्त्रतामा प्रत्यक्ष वा अप्रत्यक्ष अंकुश लगाउने कुनै पनि सरकारी गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
घोषणापत्रमा स्वतन्त्र प्रेस लोकतान्त्रिक शासन व्यवस्थाको आधार भएकाले सरकारले प्रेसमैत्री वातावरण सुनिश्चित गर्नुपर्ने, सञ्चारसम्बन्धी कानुन बनाउँदा वा संशोधन गर्दा पत्रकार तथा सरोकारवालासँग व्यापक परामर्श गर्नुपर्नेमा जोड दिइएको छ ।
श्रमजीवी पत्रकारको अधिकार कार्यान्वयनमा जोड
सम्मेलनले नेपाल पत्रकार महासंघले सञ्चालन गरिरहेको श्रमजीवी पत्रकारको अधिकारसम्बन्धी आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता जनाएको छ ।
घोषणापत्रले न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, सेवा–सुविधा, नियुक्तिपत्र, बीमा तथा श्रमिक अधिकार पूर्ण रूपमा कार्यान्वयन गर्न सञ्चार संस्थाहरूलाई आग्रह गर्दै यसको प्रभावकारी अनुगमन गर्ने जिम्मेवारी सरकारको भएको स्पष्ट उल्लेख गरेको छ ।
डिजिटल युगका चुनौती सामना गर्न नीति आवश्यक
कृत्रिम बुद्धिमत्ता (AI), डिजिटल सञ्चार र नयाँ प्रविधिको तीव्र विस्तारसँगै पत्रकारितामा देखिएका चुनौतीलाई मध्यनजर गर्दै सम्मेलनले सरकार र सञ्चार संस्थालाई आवश्यक नीति तथा नियमन निर्माण गर्न आग्रह गरेको छ।
यसले प्रविधिको प्रयोगलाई रोक्ने होइन, जिम्मेवार, सुरक्षित र व्यावसायिक पत्रकारिताका लागि स्पष्ट नीतिगत व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
प्रवासी पत्रकारलाई मतदान र नेतृत्वको अधिकार
टोकियो घोषणापत्रको सबैभन्दा ऐतिहासिक पक्षमध्ये एक वैदेशिक शाखामा आबद्ध पत्रकारको संस्थागत अधिकारसँग सम्बन्धित छ ।
सम्मेलनले नेपाल पत्रकार महासंघको विधान संशोधन गरी वैदेशिक शाखाका सबै सदस्यलाई चुन्ने र चुनिने अधिकार सुनिश्चित गर्न पहल गर्ने निर्णय गरेको छ । यसले विदेशमा बसेर पत्रकारिता गरिरहेका नेपाली पत्रकारलाई महासंघको मूल संरचनामा समान अवसर दिलाउने दिशामा महत्वपूर्ण कदम मानिएको छ ।
महासंघको संरचनामा वैदेशिक प्रदेशको अवधारणा
घोषणापत्रले विश्वभर फैलिएका महासंघका वैदेशिक शाखाबीच प्रभावकारी समन्वयका लागि संगठनात्मक पुनर्संरचनाको प्रस्ताव अघि सारेको छ ।
यसअन्तर्गत ‘वैदेशिक प्रदेश’ निर्माण गर्ने, आवश्यकता अनुसार महादेशगत संरचना विकास गर्ने तथा वैदेशिक शाखाका प्रतिनिधिलाई महासंघको केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने व्यवस्था गर्न विधान संशोधनको पहल गरिने उल्लेख गरिएको छ।
विदेशको अनुभव नेपालमा हस्तान्तरण गर्ने प्रतिबद्धता
सम्मेलनले विदेशमा कार्यरत नेपाली पत्रकारले आर्जन गरेका आधुनिक प्रविधि, अनुसन्धान, सीप तथा सञ्चार अभ्यासलाई नेपालको पत्रकारिता विकासमा उपयोग गर्ने प्रतिबद्धता जनाएको छ।
यसका लागि वैदेशिक शाखालाई ज्ञान हस्तान्तरणको प्रभावकारी माध्यमका रूपमा विकास गरिने उल्लेख छ । साथै गैरआवासीय नेपाली नागरिक (एनआरएन) ले संविधानले प्रत्याभूत गरेका राजनीतिक अधिकार बाहेकका अन्य सबै संवैधानिक अधिकार सहज रूपमा उपभोग गर्न पाउनुपर्ने माग पनि घोषणापत्रमा समेटिएको छ ।
डिजिटल सदस्यता प्रणालीको प्रस्ताव
घोषणापत्रले महासंघको शाखा नभएका देशमा रहेका नेपाली पत्रकारलाई पनि डिजिटल माध्यमबाट सदस्यता नवीकरण र सदस्यता व्यवस्थापन गर्न सकिने आधुनिक प्रणाली विकास गर्न माग गरेको छ।
यससँगै वैदेशिक शाखा तथा सहकार्य संस्थामा आबद्ध सदस्यहरूको महासंघको मूल सदस्यता निरन्तर रहने व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ।
‘एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार’ स्थापना
प्रवासी नेपाली पत्रकारको योगदानलाई संस्थागत रूपमा सम्मान गर्न सम्मेलनले ‘एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय गरेको छ।
विश्वभर रहेका नेपाली पत्रकारलाई प्रोत्साहन, सम्मान र अन्तर्राष्ट्रिय स्तरमा जोड्ने उद्देश्यले यो पुरस्कार स्थापना गर्न लागिएको घोषणापत्रमा उल्लेख छ।
आयोजक र सहयोगी सबैप्रति धन्यवाद
घोषणापत्रको अन्तिम भागमा जापानस्थित नेपाली दूतावास, एनआरएनए जापान, विभिन्न सामाजिक, सांस्कृतिक तथा व्यावसायिक संस्था, सञ्चार संस्था, प्रायोजक, स्वयंसेवक तथा सम्पूर्ण सहभागीप्रति धन्यवाद व्यक्त गरिएको छ ।
साथै नेपाल पत्रकार महासंघ जापान शाखाले सफलतापूर्वक सम्मेलन सम्पन्न गरेको भन्दै सम्पूर्ण आयोजक टोलीप्रति उच्च सम्मान प्रकट गरिएको छ ।
टोकियो घोषणापत्र–२०२६ केवल सम्मेलनको औपचारिक दस्तावेज मात्र होइन, यो नेपाली पत्रकारिताको भावी दिशाको मार्गचित्रका रूपमा पनि प्रस्तुत भएको छ । घोषणापत्रले प्रेस स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको अधिकार, प्रवासी पत्रकारको संस्थागत सहभागिता, डिजिटल रूपान्तरण, ज्ञान हस्तान्तरण तथा विश्वभर रहेका नेपाली पत्रकारलाई एउटै संस्थागत छातामुनि जोड्ने स्पष्ट दृष्टिकोण अघि सारेको छ।
नेपालभित्र र बाहिर कार्यरत पत्रकारबीचको दूरी घटाउँदै पत्रकारितालाई अझ व्यावसायिक, समावेशी, लोकतान्त्रिक र प्रविधिमैत्री बनाउने साझा प्रतिबद्धताका रूपमा टोकियो घोषणापत्र–२०२६ लाई नेपाली सञ्चार क्षेत्रका लागि एउटा ऐतिहासिक दस्तावेजका रूपमा लिन सकिन्छ ।