टोकियो, जापान ।
नेपालका विभिन्न क्षेत्रमा हालै आएको बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अर्घाखाँची समाज जापानले ३ लाख ७० हजार रुपैयाँ सहयोग गरेको छ।
समाजले हरितालिका तीजको अवसरमा आयोजना गर्न लागेको दर खाने कार्यक्रम रद्द गरी त्यसका लागि छुट्याइएको रकम, आन्तरिक संकलन अभियानबाट प्राप्त रकम तथा समाजको अक्षय कोषबाट समेत रकम जुटाएर नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। ३ लाख ७० हजार दाखिला गरेको महासचिव अविनास जीसीले जानकारी दिए।
बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले तीज कार्यक्रम स्थगित गरी त्यसका लागि छुट्याइएको रकम विपद् प्रभावितको सहयोगमा उपलब्ध गराउने निर्णय गरिएको समाजका अध्यक्ष टोप बहादुर घर्तीले बताए।
समाजले विपद्को समयमा मनोरञ्जनात्मक कार्यक्रमभन्दा पीडित नागरिकको राहत तथा उद्धारलाई प्राथमिकता दिँदै सहयोग गर्ने निर्णय गरेको जनाएको छ।
यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएर सहयोग गर्ने सम्पूर्ण सहयोगदाता, समाजका सदस्य, शुभेच्छुक तथा जापानमा रहेका नेपाली समुदायप्रति अर्घाखाँची समाज जापानले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
समाजले प्राकृतिक विपद्को समयमा एकजुट भएर पीडितको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको बताउँदै आगामी दिनमा पनि आवश्यकता अनुसार मानवीय सहयोग तथा सामाजिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।