(Japan) 14 th September | 2026 | Monday | 1:25:36 PM || (Nepal) 10:10:36 AM
 
 


अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा लामिछाने, सह-संयोजकमा श्यामहरि पाण्डे चयन

  POSTED ON : Monday, 14 September, 2026 | Views : 156

अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा लामिछाने, सह-संयोजकमा श्यामहरि पाण्डे चयन


टोकियो, जापान ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवासमा रहेका आफ्ना संगठनहरूको एकता र पुनर्संरचनाको प्रक्रिया अघि बढाउँदै जापानस्थित अन्तर्राष्ट्रिय नेपाली मञ्चको नयाँ नेतृत्व टुंगो लगाएको छ।

पार्टीको एसिया प्रदेश संगठन समितिको बैठकले अन्तर्राष्ट्रिय नेपाली मञ्च, जापानको संयोजकमा हरि लामिछाने र सह–संयोजकमा श्यामहरि पाण्डेलाई चयन गरेको हो ।

नवनियुक्त संयोजक लामिछाने यसअघि प्रवासी नेपाली एकता मञ्च जापानका अध्यक्ष थिए भने सह–संयोजक पाण्डे नेपाली जनप्रगतिशील मञ्च जापानका वरिष्ठ उपाध्यक्ष का रूपमा सक्रिय थिए।

लामिछाने माधव कुमार नेपाल नेतृत्वको तत्कालीन नेकपा एकीकृत समाजवादीसँग आबद्ध थिए भने पाण्डे प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा माओवादी केन्द्रसँग आवद्ध थिए ।


प्रवासमा संगठनात्मक एकतालाई प्राथमिकता

पार्टी एकताको प्रक्रियालाई नेपालभित्र मात्र नभई विदेशमा रहेका दलका कार्यकर्ताहरुमापनि व्यवस्थित रूपमा विस्तार गर्ने उद्देश्यले प्रवासी संगठनहरूको एकीकरण प्रक्रिया अघि बढाइएको बताइएको छ।

एसिया प्रदेश संगठन समितिको बैठकले जापानमा क्रियाशील साविकका दुवै संगठनका राष्ट्रिय समितिलाई समायोजन गरी ‘एकता आयोजक समिति’ गठन गर्ने निर्णय समेत गरेको छ ।

यस समितिले संगठनात्मक संरचनालाई एकीकृत गर्दै आगामी दिनमा राष्ट्रिय अधिवेशनको तयारी, सदस्य व्यवस्थापन तथा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ ।


अक्टोबरभित्र राष्ट्रिय अधिवेशन गर्ने तयारी

बैठकले एसिया प्रदेश अन्तर्गत रहेका सबै देशमा आगामी अक्टोबरभित्र राष्ट्रिय अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

राष्ट्रिय अधिवेशन मार्फत प्रवासमा रहेका पार्टीसम्बद्ध संगठनलाई थप व्यवस्थित र एकीकृत बनाउँदै नयाँ नेतृत्व तथा सांगठनिक संरचना निर्माण गरिने बताइएको छ ।

नवनियुक्त सह–संयोजक श्यामहरि पाण्डेका अनुसार, अधिवेशनले संगठनलाई औपचारिक रूपमा नयाँ संरचनामा लैजान महत्वपूर्ण भूमिका खेल्नेछ ।


एसिया क्षेत्रमा संगठन विस्तारको लक्ष्य

नेकपाका एसिया प्रदेश संयोजक सनीकुमार ओलीका अनुसार, प्रवासमा रहेका पार्टीसम्बद्ध विभिन्न संगठनबीचको एकतालाई संस्थागत गर्दै एसिया क्षेत्रमा संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरिएको छ ।

पार्टी एकताको नयाँ प्रक्रियासँगै जापानमा रहेका साविकका संगठनलाई एउटै छातामुनि ल्याउने तयारी गरिएको छ । यसबाट जापानस्थित नेपाली समुदायमा पार्टीसम्बद्ध संगठनहरूको गतिविधि थप व्यवस्थित हुने अपेक्षा दुवै संगठनका नेता कार्यकर्ताले गरेका छन् ।

यसैबीच, अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने र सह–संयोजकमा श्यामहरि पाण्डेको चयनसँगै जापानमा संगठनात्मक एकताको नयाँ प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । आगामी राष्ट्रिय अधिवेशनले मञ्चको पूर्ण नेतृत्व र सांगठनिक संरचनालाई अन्तिम रूप दिने नवनियुक्त अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानका सह संयोजक श्यामहरि पाण्डेले जापानसमाचार डटकमलाई जानकारी दिए ।