(Japan) 7 th September | 2026 | Monday | 6:26:47 PM || (Nepal) 3:11:47 PM
 
 


बलेवा सेवा समाज जापानद्वारा श्रीकृष्ण जन्माष्टमी कार्यक्रम गरेर बाढि पीडितका लागि ३ लाख रुपैयाँ सहयोग

  POSTED ON : Monday, 07 September, 2026 | Views : 208

बलेवा सेवा समाज जापानद्वारा श्रीकृष्ण जन्माष्टमी कार्यक्रम गरेर बाढि पीडितका लागि ३ लाख रुपैयाँ सहयोग


टोकियो, जापान ।

नेपालमा हालै आएको प्राकृतिक विपत्तिबाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बलेवा सेवा समाज जापानले प्रधानमन्त्री राहत कोषमा ३ लाख रुपैयाँ सहयोग गरेको छ ।

समाजले श्रीकृष्ण जन्माष्टमी विशेष धार्मिक तथा भजन कार्यक्रम–२०८३ बाट बचत भएको रकम विपत्तिपीडित नेपालीहरूको सहयोगका लागि प्रदान गरेको जनाएको छ ।

धार्मिक आस्था र मानव सेवाको भावनालाई एकसाथ जोड्दै कार्यक्रमबाट बचत भएको रकम प्राकृतिक विपत्तिमा परेका नागरिकहरूको राहतका लागि समर्पण गर्न पाउनु संस्थाका लागि खुसी र गर्वको विषय भएको समाजले जनाएको छ ।

उक्त रकम समाजका पूर्व अध्यक्ष तथा संरक्षक एवं कार्यक्रम संयोजक सेवक पिसी र पूर्व अध्यक्ष तथा संरक्षक एवं आर्थिक संयोजक महेन्द्र पिसीको उपस्थितिमा नेपाल पठाई प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो ।

समाजका अध्यक्ष सुरेन्द्र प्रेमले दुःखमा परेका मानिसहरूको साथमा उभिनु नै साँचो मानवता भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “रकम ठूलो वा सानोभन्दा पनि दुःखमा परेको बेला साथ दिन सक्नु नै ठूलो मानवता हो।”

त्यसैगरी, समाजका महासचिव रोशन चापागाईंले धार्मिक कार्यक्रमबाट बचत भएको रकम विपत्तिमा परेका नेपालीहरूको राहतका लागि समर्पण गर्न पाउनु अत्यन्तै अर्थपूर्ण कार्य भएको बताउनुभयो।

बलेवा सेवा समाज जापानले यस मानवीय अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ र सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगदाता, भक्तजन, कलाकार, शुभेच्छुक तथा संस्थाका सदस्यहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ ।

प्रवासी नेपाली समुदायले विदेशमा रहेर पनि मातृभूमिमा आइपर्ने प्राकृतिक विपत्ति र संकटका बेला निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै समाजले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।