(Japan) 4 th September | 2026 | Friday | 11:16:48 PM || (Nepal) 8:01:48 PM
 
 


नुवाकोट समाज जापानद्वारा बाढी-पहिरो पीडितका लागि ९ लाख येन राहत सहयोग

  POSTED ON : Saturday, 05 September, 2026 | Views : 190

नुवाकोट समाज जापानद्वारा बाढी-पहिरो पीडितका लागि ९ लाख येन राहत सहयोग


टोकियो, जापान ।

नेपालमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि नुवाकोट समाज जापानले सञ्चालन गरेको आर्थिक सहयोग अभियानबाट ९ लाख जापानी येन संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको छ ।

नुवाकोट समाज जापानका महासचिव सन्तोषी अधिकारीका अनुसार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले जापानमा रहेका नेपाली समुदायबीच छोटो अवधिको आर्थिक सहयोग अभियान सञ्चालन गरिएको थियो ।

अभियानका क्रममा संस्थाको कोषमा मौज्दात रकम सहित विभिन्न व्यक्ति तथा सहयोगी दाताहरूबाट गरी कुल ९ लाख जापानी येन संकलन भएको थियो । उक्त रकम नेपाली रुपैयाँमा ८ लाख ५७ हजार ३४० रुपैयाँ बराबर रहेको समाजले जनाएको छ ।

समाजले अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सल्लाहकार, कार्यसमिति सदस्य, समाजका सदस्य, दातालगायत जापानभर रहेका नेपाली तथा जापानी नागरिकप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

समाजले राहत अभियान सफल बनाउन दिनरात खटिएका स्वयंसेवक तथा सहयोगीहरूलाई विशेष धन्यवाद दिँदै उनीहरूको मानवीय भावना, एकता र सहयोगकै कारण अभियान सफल भएको जनाएको छ ।

नुवाकोट समाज जापानले संकलित सहयोगले बाढी–पहिरोबाट घाइते भएकाहरूको शीघ्र उपचार, बेपत्ताहरूको खोजी तथा प्रभावित परिवारलाई राहत उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

साथै, प्राकृतिक विपद्का कारण ज्यान गुमाएका व्यक्तिका परिवारप्रति समाजले गहिरो समवेदना व्यक्त गर्दै प्रभावितहरूको दुःखमा आफूहरू साथमा रहेको जनाएको छ ।

समाजका अध्यक्ष ज्ञानेन्द्र पुडासैनीले आगामी दिनमा पनि मानवीय सेवा, सहकार्य र सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नुवाकोट समाज जापानले बाढी–पहिरो प्रभावितका लागि सहयोग गर्ने सम्पूर्ण दाता, सदस्य तथा सहयोगी मनहरूप्रति पुनः हार्दिक धन्यवाद व्यक्त गरेको छ।