(Japan) 23 rd September | 2026 | Wednesday | 11:10:02 PM || (Nepal) 7:55:02 PM
 
 


न्यूयोर्कमा ताकाइची र ट्रम्पबीच भेटवार्ता, रक्षा र आर्थिक सुरक्षामा सहकार्य बलियो बनाउने सहमति

  POSTED ON : Thursday, 24 September, 2026 | Views : 206

न्यूयोर्कमा ताकाइची र ट्रम्पबीच भेटवार्ता, रक्षा र आर्थिक सुरक्षामा सहकार्य बलियो बनाउने सहमति


न्यूयोर्क ।

जापानी प्रधानमन्त्री सानाए ताकाइची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच संयुक्त राष्ट्रसंघको महासभाका क्रममा न्यूयोर्कमा भेटवार्ता भएको छ । मंगलबार भएको करिब ३० मिनेटभन्दा लामो वार्तामा दुई नेताले जापान–अमेरिका गठबन्धन तथा रक्षा र आर्थिक सुरक्षा सम्बन्धी सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल गरेका छन् ।

वार्तामा कृत्रिम बुद्धिमत्ता एआई, सेमिकन्डक्टर र महत्वपूर्ण खनिज लगायतका क्षेत्रमा आर्थिक सुरक्षा सहकार्य अघि बढाउने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ताकाइचीले जापान लगातार सात वर्षदेखि अमेरिकामा सबैभन्दा ठूलो लगानीकर्ता रहेको उल्लेख गर्दै द्विपक्षीय आर्थिक सम्बन्ध थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।


चीन र क्षेत्रीय सुरक्षाबारे पनि छलफल

अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने तयारी गरिरहेका बेला ताकाइची र ट्रम्पबीच चीनसँग सम्बन्धित विभिन्न विषयमा विचार आदानप्रदान भएको थियो । जापानी प्रधानमन्त्री ताकाइचीले वार्तापछि चीनसम्बन्धी विषयमा छलफल गर्ने यो उपयुक्त समय भएको बताइन् ।

ताकाइचीले अमेरिका–चीन सम्बन्धले जापान सहित अन्तर्राष्ट्रिय समुदायको स्थिरतामा योगदान पुर्‍याउनु महत्वपूर्ण रहेको बताउँदै यस विषयमा जापान र अमेरिकाले नजिकबाट समन्वय गर्ने बताइन् ।


उत्तर कोरिया र अन्तर्राष्ट्रिय फौजदारी अदालतबारे पनि कुरा

दुवै नेताले उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रम सम्बोधन गर्न जापान र अमेरिकाबीच सहकार्य जारी राख्ने विषयमा पनि सहमति जनाएका छन् ।

त्यसैगरी अन्तर्राष्ट्रिय फौजदारी अदालत सम्बन्धमा पनि दुई नेताबीच विचार आदानप्रदान भएको थियो । ताकाइचीले जापानको कानुनको शासनमा आधारित धारणा प्रस्तुत गरेको बताइएको छ ।

ताकाइची र ट्रम्पबीचको यो भेट संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा भएको हो ।