एजेन्सी ।
स्पेनमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन् । बुधबार ९२८ अक्टोबर० मध्य स्पेनको टोलेडो प्रान्तस्थित उर्दा क्षेत्रनजिक भएको दुर्घटनापछि रेल सुरक्षा सम्बन्धी व्यवस्थामाथि गम्भीर प्रश्न उठेका छन् । प्रारम्भिक विवरणअनुसार, रोकिराखिएको रेलको पछाडि अर्को रेल ठोक्किएको थियो ।
दुर्घटना कसरी भयो ?
प्राप्त प्रारम्भिक विवरणअनुसार, स्पेनको सरकारी रेल कम्पनी रेन्फे द्वारा सञ्चालित एभीई तीव्र गतिको रेल निजी कम्पनी इरियोको रेलसँग ठोक्किएको थियो । दुवै रेल म्याड्रिडबाट दक्षिणी सहर सेभिलतर्फ जाने मार्गमा सञ्चालन भइरहेका थिए ।
रेलमार्गको स्वचालित सुरक्षा तथा सङ्केत प्रणालीमा कम्प्युटर सञ्चार सम्बन्धी समस्या आएपछि रेल सञ्चालन प्रभावित भएको बताइएको छ । त्यस क्रममा एउटा रेल रोकिएको अवस्थामा रहे पनि नियन्त्रण केन्द्रबाट अर्को रेललाई पुनः अघि बढ्न अनुमति दिइएको थियो । त्यसपछि उक्त रेल रोकिएको रेलको पछाडि ठोक्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेले नियन्त्रण केन्द्रबाट रेललाई अघि बढ्न दिइएको निर्णयलाई गम्भीर रूपमा अनुसन्धान गर्नुपर्ने बताएका छन् । उनका अनुसार, सुरक्षा सङ्केतले रोक्न जनाइरहेको अवस्थामा रेललाई सामान्य गतिमा अघि बढ्न अनुमति कसरी दिइयो भन्ने विषय महत्त्वपूर्ण छ ।
यद्यपि, दुर्घटनाको अन्तिम कारण र जिम्मेवारीबारे अनुसन्धान पूरा भइसकेको छैन।
६८ जनाको मृत्यु, ८० जना घाइते भएको प्रारम्भिक विवरण
दुर्घटनामा कम्तीमा ६८ जनाको मृत्यु भएको र करिब ८० जना घाइते भएको विवरण सार्वजनिक भएको छ । घाइतेमध्ये १५ जनाको अवस्था अत्यन्त गम्भीर रहेको स्पेनी अधिकारीहरूले बताएका छन् । दुवै रेलमा गरी करिब ५४४ यात्रु सवार रहेको विवरण छ । क्षतिग्रस्त डिब्बामा उद्धार तथा खोजी कार्य जारी रहेकाले प्रारम्भिक विवरण परिवर्तन हुन सक्ने बताइएको छ।
दुर्घटनास्थलमा उद्धारकर्मी, अग्निनियन्त्रक, प्रहरी तथा अन्य आपत्कालीन टोली परिचालन गरिएको छ। क्षतिग्रस्त रेलका डिब्बा हटाउने, पीडितको पहिचान गर्ने र बेपत्ता यात्रुका परिवारलाई जानकारी उपलब्ध गराउने काम भइरहेको छ ।
प्रधानमन्त्रीद्वारा तीन दिन राष्ट्रिय शोक घोषणा
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै अक्टोबर २९ देखि ३१ सम्म तीन दिन राष्ट्रिय शोक घोषणा गरेका छन् । उनले दुर्घटनाको वास्तविक कारण पत्ता लगाइने र सुरक्षा प्रणालीमा कमजोरी वा लापरबाही पुष्टि भए आवश्यक कदम चालिने बताएका छन्।
रेल सेवा प्रभावित, अनुसन्धान तीव्र
दुर्घटनापछि म्याड्रिडबाट दक्षिणी क्षेत्र अन्डालुसियातर्फ जाने उच्च गतिको रेल सेवा प्रभावित भएको छ । रेल सञ्चालनमा देखिएको प्राविधिक समस्या, नियन्त्रण केन्द्रबाट दिइएको निर्देशन र सुरक्षा प्रक्रियाको पालना भए–नभएको विषयमा अनुसन्धान भइरहेको छ।
स्पेनमा यसअघि सन् २०२६ को जनवरीमा पनि अडामुज क्षेत्रमा रेल दुर्घटना हुँदा ४६ जनाको मृत्यु भएको थियो । एकै वर्ष भएका दुई ठूला रेल दुर्घटनाले देशको रेल सुरक्षा, प्राविधिक निगरानी र आपत्कालीन व्यवस्थापनबारे पुनः बहस चर्काएको छ । यद्यपि, जनवरी र अक्टोबरका दुर्घटनाबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि भएको छैन ।