(Japan) 4 th October | 2026 | Sunday | 10:41:25 PM || (Nepal) 7:26:25 PM
 
 


जापान-दक्षिण कोरियाको अनुमान बिपरित उत्तर कोरियाको नयाँ क्षेप्यास्त्रले १,००० किलोमिटरसम्म मारहान्ने दाबी

  POSTED ON : Monday, 05 October, 2026 | Views : 158

जापान-दक्षिण कोरियाको अनुमान बिपरित उत्तर कोरियाको नयाँ क्षेप्यास्त्रले १,००० किलोमिटरसम्म मारहान्ने दाबी


टोकियो, जापान ।

उत्तर कोरियाले शनिबार पूर्वी क्षेत्रमा गरेको सैन्य अभ्यासका क्रममा प्रहार गरिएको मध्यम दूरीको रणनीतिक क्षेप्यास्त्र १,००० किलोमिटर उडेको दाबी गरेको छ । यो दाबी जापान र दक्षिण कोरियाले सार्वजनिक गरेको अनुमानभन्दा करिब ३०० किलोमिटर बढी हो । यदि उत्तर कोरियाले गरेको दाबी अनुसार उक्त मिसाइलले दुरी पार गरेको भएमा यसले जापानको सिमा सम्म मार हान्नसक्ने क्षमता राख्नेछ ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसिकेएनका अनुसार, नेता किम जोङ उनले प्रत्यक्ष निगरानी गरेको उक्त अभ्यास नयाँ हाइपरसोनिक रणनीतिक हतियार प्रणाली सञ्चालन गर्ने सैनिकको क्षमता परीक्षण तथा रणनीतिक प्रतिरोध क्षमताको विश्वसनीयता मूल्याङ्कन गर्न गरिएको हो ।

तर जापानको रक्षा मन्त्रालयले शनिबार प्रक्षेपण गरिएको क्षेप्यास्त्र करिब ६८० किलोमिटर उडेको र अधिकतम ९० किलोमिटर उचाइमा पुगेको अनुमान गरेको थियो । दक्षिण कोरियाले पनि क्षेप्यास्त्र करिब ७०० किलोमिटर उडेको जनाएको थियो ।

उत्तर कोरियाली नेता किमकी बहिनी किम यो जोङले जापान र दक्षिण कोरियाले क्षेप्यास्त्रको वास्तविक उडान मार्ग सही रूपमा ट्र्याक गर्न नसकेको दाबी गरेकी छन् । उनका अनुसार क्षेप्यास्त्रले सामान्य वक्राकार मार्गभन्दा फरक ‘‘तरंगजस्तो गतिमा उडान भरेको थियो ।

उनले यस्तो विशेष उडान मार्ग प्रयोग गर्दा पहिलो चरणमै शत्रु पक्षले क्षेप्यास्त्रको सही मार्ग पत्ता लगाउन नसक्ने दाबी गर्दै यसबाट उत्तर कोरियाली क्षेप्यास्त्रको विशेष क्षमता पुष्टि भएको बताएकी छन् ।


जापानका लागि किन चिन्ताको विषय ?

उत्तर कोरियाले पछिल्लो समय अनियमित तथा कम उचाइमा उड्न सक्ने फरक गतिमा उड्न सक्ने क्षमताका ब्यालिस्टिक क्षेप्यास्त्र विकास गरिरहेको छ । यस्ता क्षेप्यास्त्रले परम्परागत ब्यालिस्टिक मार्गबाट अचानक दिशा परिवर्तन गर्न सक्ने भएकाले तिनको निगरानी र अवरोध थप कठिन हुन सक्छ ।

यद्यपि दक्षिण कोरियाको रक्षा मन्त्रालयले भने शनिबार प्रहार गरिएको क्षेप्यास्त्र दक्षिण कोरियाली र अमेरिकी रक्षा प्रणालीको निगरानी तथा अवरोधनको दायराभित्रै रहेको दाबी गरेको छ ।

विशेषज्ञहरूका अनुसार किम जोङ उनले क्षेप्यास्त्र क्षमताबारे बढाइचढाइपूर्ण दाबी गरेर बाह्य रूपमा दक्षिण कोरियामाथि दबाब र अमेरिकालाई निरुत्साहित गर्ने तथा आन्तरिक रूपमा आफ्नो शासनको सैन्य क्षमता बलियो रहेको सन्देश दिने प्रयास गरिरहेका हुन सक्छन् ।