टोकियो, जापान ।
प्रवासी नेपाली मञ्च (ओएनएफ) जापानले २२औँ राष्ट्रिय अधिवेशन समापन भएको तीन दिनपछि अन्तत सहमतिमै नयाँ नेतृत्व चयन गरेको छ । सार्वजनिक भएका विवरणहरु अनुसार बाबुराम भण्डारी अध्यक्षमा चयन भएका छन् ।
अध्यक्ष पदका लागि बाबुराम भण्डारीसँगै प्रकाश ढकाल, महेन्द्रकुमार अधिकारी, राजेन्द्र श्रेष्ठ र विकास पौडेलले दाबी प्रस्तुत गरेका थिए । जापानसमाचारलाई प्राप्त जानकारी अनुसार श्रेष्ठ र पौडेलले दावी छाडेपनि ढकालले दाबी नछोड्दा सहमती हुन सकेको थिएन । तर निर्वाचन समिति तथा निर्वाचन मण्डलको पहलमा भएको लामो छलफलपछि नेतृत्व चयन निर्वाचनमार्फत नभई सहमतिबाट टुंग्याइएको बताइन्छ ।
सहमति अनुसार नयाँ कार्यसमितिमा महेन्द्रकुमार अधिकारी उपाध्यक्ष, बुद्धीराज गोले लामा सचिव र अर्जुन आचार्य उपसचिव रहने गरी नाम टुंग्याइएको बताइएको छ । अन्य पदाधिकारी तथा सदस्यहरूको नामसमेत सहमतिमार्फत तय गरिएको जनाइएको छ ।
नयाँ नेतृत्वको औपचारिक घोषणा तथा शपथ ग्रहण कार्यक्रम बुधबार दिउँसो ३ः३० बजे आयोजना हुने भएको छ ।