(Japan) 24 th September | 2026 | Thursday | 12:22:33 PM || (Nepal) 9:07:33 AM
 
 


ट्रम्पद्वारा सीलाई अमेरिकामा भव्य स्वागत, के कु हुँदैछ सीको अमेरिका भ्रमणमा ?

  POSTED ON : Thursday, 24 September, 2026 | Views : 172

ट्रम्पद्वारा सीलाई अमेरिकामा भव्य स्वागत, के कु हुँदैछ सीको अमेरिका भ्रमणमा ?


एजेन्सी, टोकियो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ ११ वर्षपछि पहिलोपटक अमेरिकाको राजकीय भ्रमणका क्रममा बुधबार वासिङ्टन पुगेका छन् । मेरील्यान्डस्थित जोइन्ट बेस एन्ड्रयुजमा सी र उनकी पत्नी पेङ लियुआनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मेलानिया ट्रम्पले विमानस्थलमै पुगेर स्वागत गरेका छन् ।

यो स्वागत अमेरिकी राष्ट्रपतिले विदेशी नेताका लागि गर्ने सामान्य प्रोटोकलभन्दा फरक मानिएको छ । उपलब्ध विवरण अनुसार, पोपबाहेक करिब ६ दशकपछि पहिलोपटक अमेरिकी राष्ट्रपतिले उक्त विमानस्थलमा विदेशी समकक्षीलाई आफैं स्वागत गरेको यो पहिलो पटक हो ।

सीले भ्रमणबाट “फलदायी परिणाम” आउने विश्वास व्यक्त गरेका छन् । ट्रम्पले बिहीबार ह्वाइट हाउसमा सीका लागि औपचारिक भव्य राजकीय स्वागत समारोह आयोजना गर्ने कार्यक्रम छ।

यसैबिच अमेरिका र चीनबीचको व्यापार तनाव कम गर्ने उद्देश्यले गरिएको व्यापार युद्धविराम थप दुई महिनाका लागि लम्ब्याइएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले नयाँ सम्झौताको समयसीमा जनवरी १० सम्म कायम रहने घोषणा गरेका छन् ।

दुवै देशबीच व्यापार, ताइवान, कृत्रिम बुद्धिमत्ता एआई र दुर्लभ खनिज लगायत विषयमा गहिरा मतभेद अझै कायम छन् । अमेरिकाले चीनबाट कृषि उत्पादन र विमान खरिद बढाउने प्रतिबद्धता तथा एआई सम्बन्धमा संवाद अघि बढाउन चाहेको छ भने चीनले दुर्लभ पृथ्वीका खनिजमाथिको आफ्नो प्रभावलाई वार्तामा महत्वपूर्ण दबाबका रूपमा प्रयोग गर्दै आएको छ ।

तर यस भ्रमणबाट तत्काल ठूलो सम्झौता हुने अपेक्षा भने कम रहेको विश्लेषकहरुको अनुमान छ । दुवै शक्तिबीचको तनाव व्यवस्थापन गर्ने र संवाद कायम राख्ने विषयलाई भ्रमणको मुख्य उद्देश्यका रूपमा हेरिएको छ ।

सीको स्वागतका क्रममा अमेरिकी सैन्य टोलीले सम्मान गार्ड प्रस्तुत गरेको थियो भने चिनियाँ र अमेरिकी राष्ट्रिय गान बजाइएको तथा तोपको सलामी दिइएको थियो। दुई अमेरिकी बि टु बमवर्षक विमान समेत आकाशमा उडेका थिए ।