(Japan) 23 rd September | 2026 | Wednesday | 11:10:03 PM || (Nepal) 7:55:03 PM
 
 


एसियाली खेलकुदमा आएका उत्तर कोरियालीले जापानमा शरण मागेको खवर सार्वजनिक

  POSTED ON : Thursday, 24 September, 2026 | Views : 178

एसियाली खेलकुदमा आएका उत्तर कोरियालीले जापानमा शरण मागेको खवर सार्वजनिक


नागोया, जापान ।

जापानमा जारी एसियाली खेलकुदमा सहभागी हुन आएका उत्तर कोरियाली प्रतिनिधिमण्डलका दुई सदस्यले जापानमै शरण लिन चाहेको रिपोर्ट सार्वजनिक भएको छ ।

दक्षिण कोरियाको मासिक चोसन पत्रिकाले मंगलबार प्रकाशित गरेको रिपोर्टमा जापानको मन्त्रिपरिषद् गुप्तचर तथा अनुसन्धान कार्यालयका एक अधिकारीलाई उद्धृत गर्दै दुई उत्तर कोरियाली सदस्यले आफ्नो देश फर्कन नचाहेको र जापानमा शरण लिन इच्छा व्यक्त गरेको उल्लेख गरिएको छ ।

रिपोर्टअनुसार ती दुई जना आइची–नागोया एसियाली खेलकुदमा सहभागी करिब १८० सदस्यीय उत्तर कोरियाली प्रतिनिधिमण्डलमध्येका हुन् । उनीहरूले दक्षिण कोरियाभन्दा जापानमै शरण लिन प्राथमिकता दिएको बताइएको छ ।

तर उनीहरूको पहिचान र प्रतिनिधिमण्डलमा रहेको जिम्मेवारी खुलाइएको छैन । साथै, उनीहरूले शरणका लागि गरेको भनिएको सम्पर्क अन्ततः औपचारिक रूपमा देश छाड्ने प्रक्रियामा परिणत हुन्छ वा हुँदैन भन्ने पनि स्पष्ट भइसकेको छैन ।

मासिक चोसनले उक्त जानकारी जापानी गुप्तचर संयन्त्रसँग सम्बन्धित स्रोतबाट प्राप्त भएको जनाएको छ । स्रोतको सम्बन्ध जापानमा रहेको उत्तर कोरियाप्रति समर्थन राख्ने जापानस्थित कोरियाली बासिन्दाहरूको सामान्य संघ (चोङ्र्योन) सँग रहेको दाबी गरिएको छ ।

उत्तर कोरियाले यसपटकको एसियाली खेलकुदमा खेलाडी र अधिकारीसहित करिब १८० सदस्य पठाएको बताइएको छ । प्रतिनिधिमण्डलमा उत्तर कोरियाका खेलमन्त्री किम इल गुक समेत सहभागी छन् ।

हालसम्म जापानी सरकारले दुई सदस्यले शरण मागेको सम्बन्धमा आधिकारिक पुष्टि गरेको छैन । जापानमा सार्वजनिक बिदा परेकाले सरकारी अधिकारीसँग तत्काल प्रतिक्रिया लिन नसकिएको रिपोर्टमा उल्लेख छ ।