टोकियो, जापान ।
जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले आफू दैनिक ० देखि ३ घण्टासम्म मात्र सुत्ने गरेको अभिव्यक्ति दिएपछि जापानमा लामो काम गर्ने कार्यसंस्कृतिबारे पुनः बहस सुरु भएको छ ।
ताकाइचीले गत सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै गत वर्ष अक्टोबरमा प्रधानमन्त्री बनेयता '० देखि ३ घण्टा सुत्नु नै सामान्य भएको' बताएकी थिइन् । उनले रातभर सरकारी कागजात अध्ययन गर्ने, बिहानसम्म काम गर्ने र त्यसबीच घरायसी कामसमेत गर्ने गरेको उल्लेख गरेकी थिइन् ।
उनले तीन दिनको सार्वजनिक बिदाको अवधिमा हजारौं इमेलको जवाफ दिनुपर्ने अवस्था आएको र लामो समयपछि पहिलो पटक पाँच घण्टा सुत्न पाएको पनि बताएकी थिइन् ।
प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि राजनीतिक वृत्त र सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ ।
मुख्य विपक्षी डेमोक्रेटिक पार्टी फर द पिपुलका नेता युइचिरो तामाकीले ताकाइची अत्यन्त मेहनती नेतृ भएको स्वीकार गर्दै प्रधानमन्त्रीले सबै काम आफैं नगरी जिम्मेवारी बाँडफाँट गर्नुपर्ने बताए । उनका अनुसार प्रधानमन्त्रीका लागि 'आराम गर्नु पनि जिम्मेवारीकै हिस्सा हो ।'
अर्का विपक्षी सांसदले लगातारको निद्राको अभावलाई मदिराको नशासँग तुलना गर्दै यस्तो अवस्थाले सरकार सञ्चालनका निर्णयमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका छन् ।
सेन्ट्रिस्ट रिफर्म एलायन्सका सांसद तोरु कुनिशिगेले पनि एक्समार्फत लामो समयसम्म निद्रा नपुग्दा निर्णय क्षमता कमजोर हुने र राष्ट्रिय संकट व्यवस्थापनमा समेत जोखिम बढ्न सक्ने बताएका छन्।
ताकाइचीले यसअघि पनि कामसम्बन्धी अभिव्यक्तिका कारण चर्चा पाएकी थिइन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको नेतामा निर्वाचित भएपछि उनले 'काम, काम, काम, काम र काम' गर्ने घोषणा गरेकी थिइन् । उक्त भनाइ गत वर्ष चर्चित शब्दहरूमध्ये एक बने पनि धेरैले यसलाई अत्यधिक काम गर्ने संस्कृतिको महिमा मण्डन गरेको भन्दै आलोचना गरेका थिए ।
सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले ताकाइचीको मेहनतको प्रशंसा गरे पनि धेरैले 'कति मेहनत गर्छु भनेर देखाउँदैमा जनसमर्थन बढ्दैन' वा 'घरायसी कामका लागि सहयोगी राख्न सकिन्छ' जस्ता टिप्पणी गर्दै आलोचना गरेका छन् ।
कतिपयले भने जुलाई १७ मा संशोधित इम्पेरियल हाउस कानुन लागू भएपछि सरकारको लोकप्रियता घटिरहेको बेला सहानुभूति बटुल्न प्रधानमन्त्रीको यो अभिव्यक्ति आएको हुन सक्ने अनुमान गरेका छन् ।
यद्यपि, मुख्य मन्त्रिपरिषद् सचिव मिनोरु किहाराले प्रधानमन्त्रीको भनाइले सरकारको वर्क–लाइफ ब्यालेन्स सुधार अभियानसँग विरोधाभास नरहेको स्पष्ट पारे । उनले ताकाइचीले कार्य–जीवन सन्तुलनको अवधारणालाई अस्वीकार गर्न खोजेकी नभएको बताए ।
सत्तारुढ दलका नीति प्रमुख ताकायुकी कोबायाशीले पनि प्रधानमन्त्री अहिले स्वस्थ र ऊर्जावान रहे पनि उनको कार्यभार असाधारण भएकाले आफूले 'कृपया केही समय सुत्नुहोस' भनेर सुझाव दिएको बताएका छन् ।