(Japan) 12 th August | 2026 | Wednesday | 9:21:55 PM || (Nepal) 6:06:55 PM
 
 


ग्वाङ्झाउमा ‘आरोहण’सफल बनाउन आयोजक जुटे, नेपालका राजनीतिक नेतृत्वसहित १३ विशिष्ट अतिथि सहभागी हुँदै

  POSTED ON : Thursday, 13 August, 2026 | Views : 148

ग्वाङ्झाउमा ‘आरोहण’सफल बनाउन आयोजक जुटे, नेपालका राजनीतिक नेतृत्वसहित १३ विशिष्ट अतिथि सहभागी हुँदै


ग्वाङ्झाउ जापान ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया–प्रशान्त क्षेत्रीय समितिको आयोजनामा चीनको ग्वाङ्झाउमा हुने ११औँ एनआरएनए एशिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ । यहि अगस्ट १५ र १६ गते अगस्ट १५ र १६ गते ग्वाङ्झाउस्थित Crowne Plaza Guangzhou City Centre मा आयोजना हुने सम्मेलनमा नेपालका राजनीतिक नेतृत्व, सांसद, पूर्वसांसद, व्यवसायी, विज्ञ तथा प्रवासी नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता रहने भएको छ।

सम्मेलनको मूल नाराका रूपमा “Aarohan 2026 – Rising Together: Connecting the Nepali Diaspora for Investment, Tourism, and Generational Links” तय गरिएको छ । ‘आरोहण’ले lzv/ तर्फको यात्रा वा उन्नतिको अर्थ दिने भएकाले यस सम्मेलनलाई विश्वभर फैलिएको नेपाली डायस्पोरालाई आर्थिक, व्यावसायिक, सामाजिक तथा पुस्तान्तरणका विषयमा नेपालसँग थप मजबुत रूपमा जोड्ने मञ्चका रूपमा अघि बढाइएको आयोजकआयोजक एनआरएनए एशिया प्यासेफिक संयोजक दिपक कँडेल बताउनुहुन्छ ।


६०० भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा

एनआरएनएको आधिकारिक विवरणअनुसार सम्मेलनमा ६०० भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ । कार्यक्रममा एनआरएनए नेतृत्व, लगानीकर्ता, व्यवसायी, कूटनीतिज्ञ, सरकारी अधिकारी, विज्ञ, युवा तथा दोस्रो पुस्ताका नेपाली प्रतिनिधिहरू सहभागी हुनेछन् । सम्मेलनले व्यवसाय–व्यवसाय सम्पर्क विस्तार, नीतिगत संवाद, ज्ञान तथा अनुभव आदानप्रदान, सांस्कृतिक सम्बन्ध र नेपालमा लगानीका अवसर विस्तारलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

ग्वाङ्झाउ चीनको महत्वपूर्ण व्यापारिक तथा व्यावसायिक केन्द्र भएकाले सम्मेलन मार्फत एशिया–प्रशान्त क्षेत्रमा रहेका नेपाली व्यवसायी तथा लगानीकर्तालाई नेपालको लगानी सम्भावनासँग जोड्ने लक्ष्य लिइएको छ ।


नेपालका राजनीतिक नेतृत्वसहित १३ विशिष्ट अतिथि

सम्मेलनको सार्वजनिक गरिएको अतिथि पोस्टर अनुसार नेपालबाट विभिन्न राजनीतिक दलसँग सम्बन्धित सांसद तथा पूर्वसांसदसहित १३ जना विशिष्ट अतिथि कार्यक्रममा सहभागी हुनेछन्।

पोस्टरमा नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रतिनिधिसभाका सदस्य विष्णु राज आङ्देम्बेलाई प्रमुख राजनीतिक अतिथिका रूपमा उल्लेख गरिएको छ । त्यसैगरी प्रतिनिधिसभाका सदस्य तथा विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, प्रतिनिधिसभा सांसदहरु ऐनबहादुर महार, युवराज दुलाल, आरेन राई र खुसी ओलीलाई पनि विशिष्ट अतिथिका रूपमा प्रस्तुत गरिएको छ ।

त्यस्तै मनिष झा, जगदीश खरेल, खगेन्द्र सुनार, क्षितिज थेबे तथा पूर्वसांसद सूर्य पाठक पनि सम्मेलनमा सहभागी हुने भएका छन् । सम्मेलनमा पूर्वमन्त्री तथा सांसद जगदीश खरेल, साथै अन्य राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिताले कार्यक्रमलाई थप राजनीतिक तथा नीतिगत महत्व दिने अपेक्षा गरिएको छ ।

संयोजक कँडेलका अनुसार हरेक दलबाट एकजना प्रतिनिधि राजनीतिक नेतृत्वलाई आयोजकले खर्च व्यवस्थापन सहित निमन्त्रणा गरेको भएपनि बाँकी राजनीतिक व्यक्तित्वहरु आफ्नै खर्च व्यवस्थापनमा उपस्थित हुनेछन् ।

पोस्टरमा माधव सापकोटा ‘सुबोध’, राजनीतिक विश्लेषक तथा पूर्वपरराष्ट्र नीति सल्लाहकार अरुणकुमार सुबेदी र वरिष्ठ पत्रकार तथा कार्यकारी सम्पादक राजेन्द्र बानियाँलाई समेत विशिष्ट अतिथिका रूपमा राखिएको छ । अन्य समाचार स्रोतहरूले पनि मनिष झा, जगदीश खरेल, ऐनबहादुर महार, युवराज दुलाल, क्षितिज थेबे, खुसी ओली, आरेन राई, खगेन्द्र सुनार र पूर्वसांसद सूर्य पाठकको सहभागिता उल्लेख गरेका छन्।


लगानीदेखि पर्यटनसम्म मुख्य बहस

सम्मेलनको पहिलो दिन अगस्ट १५ मा उद्घाटन समारोहपछि नेपालको लगानी सम्भावना र डायस्पोरा साझेदारीबारे विशेष छलफल हुनेछ। जलविद्युत्, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, कृषि तथा उत्पादनमूलक उद्योगमा लगानीका सम्भावना र सहकार्यबारे छलफल तथा बिटुबी बैठकहरू सञ्चालन गर्ने कार्यक्रम छ।

आयोजक एनआरएनए एशिया प्यासेफिक उपसंयोजक श्रवण सत्यालका अनुसार ग्वाङ्झाउको व्यापारिक सम्भावनालाई उपयोग गर्दै नेपालमा प्रत्यक्ष लगानी आकर्षित गर्ने, नेपाली उद्यमी र विदेशी लगानीकर्ताबीच सम्बन्ध विस्तार गर्ने तथा डायस्पोराको पूँजीलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने विषय सम्मेलनको महत्वपूर्ण एजेन्डा हुनेछ ।

यसैगरी जलविद्युत्, पर्यटन, आईटी, कृषि र पूर्वाधार क्षेत्रमा विशेषज्ञ तथा लगानीकर्ताको नेटवर्क निर्माण गर्ने लक्ष्यसमेत राखिएको छ। विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पूँजी र अनुभवलाई नेपालको विकाससँग जोड्ने विषयमा पनि सम्मेलन केन्द्रित हुनेछ।


वैदेशिक रोजगारी र श्रमिक अधिकार पनि एजेन्डामा

सम्मेलनको दोस्रो दिन अगस्ट १६ मा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा, कल्याण तथा श्रम अधिकारसम्बन्धी विषयमा छुट्टै सत्र सञ्चालन गरिनेछ।

एशिया तथा दक्षिण–पूर्वी एसियामा ठूलो संख्यामा नेपाली श्रमिक रहेका कारण सुरक्षित वैदेशिक रोजगारी, श्रमिक अधिकार, सामाजिक सुरक्षा तथा आप्रवासी नेपालीका समस्यालाई नीतिगत रूपमा सम्बोधन गर्ने विषयमा पनि छलफल हुने आयोजकले जनाएको छ।


महिला र युवा उद्यमशीलतालाई प्राथमिकता

‘आरोहण २०२६’ ले महिला तथा युवा सहभागितालाई समेत विशेष महत्व दिएको छ। महिला व्यवसायी, युवा उद्यमी तथा दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई सम्मेलनको मूलधारमा जोड्ने कार्यक्रम तय गरिएको छ।

विदेशमा जन्मिएका वा हुर्किएका नेपाली युवालाई आफ्नो भाषा, संस्कृति र पहिचानसँग जोड्नुका साथै नेपालसँग भावनात्मक तथा व्यावसायिक सम्बन्ध कायम गराउने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिएको छ। खेलकुद, संस्कृति, ट्रेकिङ तथा पारिवारिक पर्यटनजस्ता माध्यमबाट दोस्रो पुस्तालाई नेपालसँग जोड्ने विषयमा समेत अन्तरक्रिया हुने बताइएको छ।