टोकियो, जापान ।
जापानको मियागी प्रान्तमा ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको प्रश्नपत्र खिचेर बाहिर सार्वजनिक गरेको आरोपमा २५ वर्षीय नेपाली विद्यार्थी पक्राउ परेका छन् ।
मियागी प्रहरीले फेब्रुअरी १८, २०२६ मा सेन्दाइ बस्दै आएका नेपाली नागरिक तथा जापानमा अध्ययनरत २५ बर्षिय विद्यार्थी नविन खड्कालाई कानून विपरित सरकारी कार्यालयको काममा बाधा पुर्याएको आरोपमा पक्राउ गरेको जापानी समाचार संस्थाहरूले जनाएका छन् । उनले आरोप अस्वीकार गरेको बताइएको छ ।
प्रहरीका अनुसार घटना २०२४ डिसेम्बर २५ मा भएको थियो । आरोपीले मियागी प्रान्तको ड्राइभिङ लाइसेन्स सेन्टरमा लिखित परीक्षा दिँदा परीक्षा प्रश्नपत्रको फोटो खिचेको र त्यसलाई बाहिर सार्वजनिक गरेको आरोप प्रहरीको छ ।
कसरी घटना बाहिर आयो ?
घटना तत्काल सार्वजनिक नभई करिब एक वर्षपछि पत्ता लागेको थियो । २०२५ नोभेम्बर २० मा कुमामोतो प्रान्तको ड्राइभिङ लाइसेन्स सेन्टरमा एक अर्का नेपाली नागरिकले परीक्षा सुरु हुनुअघि आफ्नो स्मार्टफोनमा नेपाली भाषामा रहेको परीक्षा प्रश्नको फोटो हेरिरहेको कर्मचारीले फेला पारेका थिए ।
उक्त फोटोमा रहेको प्रश्नपत्र तथा उत्तरको ढाँचा मियागी प्रान्तमा प्रयोग भएको परीक्षासँग मिलेको पाइएपछि अनुसन्धान अघि बढाइएको थियो । प्रहरीले त्यसपछि फोटोको स्रोत खोज्दै जाँदा सेन्दाइमा रहेका नेपाली विद्यार्थी खड्का माथि अनुसन्धान केन्द्रित गरेको बताइएको छ ।
प्रहरीका अनुसार कुमामोतोमा भेटिएका ती नेपाली र पक्राउ परेका विद्यार्थीबीच प्रत्यक्ष चिनजान थिएन । कुमामोतोमा भेटिएका व्यक्तिले आफूले उक्त फोटो अर्का नेपाली साथीबाट पाएको बताएका थिए । प्रहरी भने मियागीमा खिचिएको फोटो नै विभिन्न व्यक्तिसम्म पुगेको हुनसक्ने अनुमानमा अनुसन्धान गरिरहेको छ ।
यहि घटनापछि लाईसेन्सको नेपाली भाषाको परीक्षा करिब दुई महिना स्थगित गर्न बाध्य
जापानी सञ्चारमाध्यमका अनुसार घटनापछि मियागी ड्राइभिङ लाइसेन्स सेन्टरले नेपाली भाषामा सञ्चालन हुने लिखित परीक्षाका प्रश्नहरू पुनः तयार गर्नुपरेको थियो । एउटा रिपोर्ट अनुसार घटना पत्ता लागेपछि करिब दुई महिनासम्म नेपाली भाषाको परीक्षा रोक्दै प्रश्नपत्र परिवर्तन गर्ने लगायतका काम गरिएको थियो ।
मियागी प्रहरीको आधिकारिक जानकारी अनुसार अहिले विदेशी नागरिकका लागि विभिन्न भाषामा ड्राइभिङ लाइसेन्सको लिखित परीक्षा सञ्चालन गर्ने व्यवस्था छ । सामान्य लाइसेन्सको लिखित परीक्षामा ९० वटा लिखित प्रश्न र ५ वटा चित्रसम्बन्धी प्रश्न हुन्छन् र उत्तीर्ण हुन कम्तीमा ९० अंक आवश्यक हुन्छ ।
दोषी ठहर भए कस्तो सजाय हुन सक्छ ?
आरोप फौजदारी संहिताको धारा २३३ अन्तर्गतको धोखाधडीपूर्ण उपायद्वारा व्यवसायमा अवरोध पुर्याउने अपराध हो । हाल लागू कानुनअनुसार यस्तो अपराधमा अधिकतम ३ वर्षसम्म कैद वा ५ लाख जापानी येन सम्म जरिवाना हुन सक्छ ।
हालसम्म यो घटनामा आरोपित विद्यार्थीमाथि अनुसन्धान जारी रहेको र पक्राउ हुनु नै दोषी ठहर हुनु नभएको तथा जापानी समाचारअनुसार आरोपित नेपाली विद्यार्थीले आरोप अस्वीकार गरेका कारण घटना अनुसन्धानकै क्रममा रहेको छ । यद्यपी प्रहरीको विवरण र सार्वजनिक प्रमाणका आधारमा प्रश्नपत्र बाहिरिएको पुष्टि भएको छ तर पक्राउ परेका अभियुक्तले गरेका हुन् वा अरु कसैको हात छ भन्ने कुरा भने अनुसन्धान पछिमात्र पत्ता लाग्नेछ ।