काठमाडौं, नेपाल ।
जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको नियुक्ती प्रक्रियाको निर्णय दशैं पछि मात्र हुने भएको छ ।
बुधवार संसदीय सुनुवाइ पश्चात समिति सभापति बोधनारायण श्रेष्ठले जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम निर्णयार्थ प्रस्तुत गरेकोमा समितिको बैठक निर्णयमा पुग्न नसक्दा बैठकनै स्थगित हुन पुगेको छ ।
रास्वपा मुख्य सचेतकसमेत रहेका समिति सदस्य कबिन्द्र बुर्लाकोटीले थापाको विषयमा पछि निर्णय गर्नुपर्ने अडान यथावत राख्दा समिति निर्णयमा पुग्न सकेन ।
सभापति श्रेष्ठले सांसदहरूलाई निर्णयार्थको प्रक्रियामा जिज्ञानकुमार थापाको नियुक्तीमा धारणा माग गरेका थिए । जसमा नेकपा सांसद वर्षमान पुनले पीआर लगायतका कारणले अस्वीकार गर्नुपर्ने धारणा राखेका थिए ।
रास्वपाका मुख्य सचेतक समेत रहेका कबिन्द्र बुर्लाकोटीले थापाको विषयमा पछि निर्णय गर्नुपर्ने अडान राखे । रास्वापका केही सांसदहरूले भने थापाको नाममा तत्काल निर्णय लिनुपर्ने धारणा राखेका थिए ।
बुर्लाकोटीले अडान कायमै राखेपछि नाम निर्णयार्थ प्रस्तुत गरेका सभापति श्रेष्ठले बैठक दसैं पछिसम्मका लागि स्थगित गरेका छन् ।
थापाले यसअघि जापानको पीआर लिएर त्यागेको, श्रीमती र छोराहरू अहिले पनि जापानको पीआरधारी रहेको, जापानमा थापाको घर रहेको, उनले जापानका सरकारी निकायबाट तलब खाने गरेको र स्थानीय तहमा सल्लाहकार समेत रहेको भन्ने विषय सुनुवाइका क्रममा उठेका थिए ।
संसदीय सुनुवाइ समितिले १० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ भने २ देशका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत गरेको छ । अब जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नियुक्ती प्रक्रियाको निर्णय दशैं लगत्तै हुने भएको छ ।
...
जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको अनुमोदन 'होल्ड', के हुन्छ अबको प्रक्रिया ?