टोकियो, जापान ।
जापानी वैज्ञानिक सोआई केन्सोले सन् २०२६ को रसायन शास्त्रतर्फको नोबेल पुरस्कार जितेका छन्। उनीसँगै फ्रान्सेली रसायनशास्त्री हेनरी बी. कागान पनि पुरस्कृत भएका छन् ।
नोबेल समितिका अनुसार उनीहरूलाई असममित जैविक संश्लेषणमा गैर रैखिक प्रभाव र स्व उत्प्रेरण (autocatalysis) सम्बन्धी महत्वपूर्ण खोजका लागि पुरस्कार प्रदान गरिएको हो ।
केही अणुहरू ऐनामा देखिने प्रतिबिम्बजस्तै दुई फरक संरचनामा हुन्छन् । औषधि निर्माणजस्ता क्षेत्रमा तीमध्ये एउटै संरचना आवश्यक पर्न सक्छ । सोआईले प्रयोगशालामा यस्तो एउटै संरचना मात्र निर्माण गर्न सकिने प्रक्रिया विकास गरेका थिए ।
७६ वर्षीय सोआई हिरोसिमामा जन्मिएका हुन् र हाल टोकियो युनिभर्सिटी अफ साइन्सका प्राध्यापक एमेरिटस छन् । नोबेल पुरस्कारको खबर पाउँदा आफू घरनजिकै किनमेल गर्न गएको उनले बताए ।
सोआईले पुरस्कार प्राप्तिपछि आफ्नो अनुसन्धानमा विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी तथा सहकर्मीहरूको सहयोग महत्वपूर्ण रहेको बताए । उनले आफ्नो अनुसन्धानका क्रममा नयाँ खोज गर्ने प्रक्रियालाई आफूले निकै रमाइलो र प्रेरणादायी रूपमा लिएको पनि बताए ।
योसँगै लगातार तेस्रो वर्ष जापानी वैज्ञानिकले नोबेल पुरस्कार जितेका छन् । सोआई जापानमा जन्मिएर शिक्षित भई नोबेल पुरस्कार प्राप्त गर्ने ३१औँ जापानी व्यक्ति बनेका छन् ।