टोकियो, जापान ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण–२०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ । यहि अगस्ट १५ र १६, २०२६ मा चीनको ग्वाङ्झाउस्थित क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टरमा आयोजना हुने ११औँ एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वका विभिन्न मुलुकबाट ६०० भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
‘Aarohan 2026 – Rising Together, Leading Forward’ मूल भावका साथ आयोजना हुन लागेको सम्मेलनलाई एनआरएनए संस्थागत एकतापछिको महत्वपूर्ण क्षेत्रीय जमघटका रूपमा हेरिएको छ । सम्मेलनले विश्वभर छरिएका नेपाली डायस्पोरालाई नेपालसँग लगानी, पर्यटन, व्यापार, प्रविधि, ज्ञान तथा पुस्तान्तरणका माध्यमबाट थप जोड्ने लक्ष्य लिएको छ।
तयारीमा तीव्रता
सम्मेलनलाई व्यवस्थित र उपलब्धिमूलक बनाउन एसिया–प्रशान्त क्षेत्रीय संयोजक दीपक कँडेल नेतृत्वको टोली विभिन्न राष्ट्रिय समन्वय परिषद्, आयोजक टोली तथा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीसँग निरन्तर समन्वयमा रहेको छ । सहभागी व्यवस्थापन, अतिथि सत्कार, कार्यक्रम संरचना तथा अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागिता सुनिश्चित गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइएको संयोजक कँडेलले जापानसमाचारडटकमलाई जानकारी दिनुभयो ।
आयोजकका अनुसार सम्मेलनस्थल व्यवस्थापन, होटल तथा आवास, अतिथि स्वागत, सुरक्षा समन्वय, कार्यक्रमका कार्यपत्र, प्रायोजन तथा विशिष्ट अतिथिलाई निमन्त्रणा लगायतका सम्मेलनको अधिकांश तयारी सम्पन्न भइसकेको र बाँकी कामलाई पनि अन्तिम रूप दिइँदैछ ।
एनआरएनए आईसिसि अध्यक्ष डा. हेमराज शर्माले एकतापछि हुन लागेको पहिलो एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन भएकाले विश्वभरका एनआरएनए अभियन्तालाई ग्वाङ्झाउमा सहभागी हुन आह्वान गरेका छन् । सम्मेलनमा नयाँ निर्वाचित पदाधिकारी, सल्लाहकार तथा संरक्षकहरूको औपचारिक सपथ ग्रहणसमेत गराउने तयारी गरिएको छ ।
लगानीदेखि पर्यटन र प्रविधिसम्म छलफल
‘आरोहण–२०२६’ केवल औपचारिक सम्मेलनमा सीमित नराखी परिणाममुखी छलफल र कार्ययोजना निर्माण गर्ने मञ्चका रूपमा विकास गर्ने आयोजकको तयारी छ।
सम्मेलनका मुख्य विषयमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी, व्यापारिक साझेदारी तथा B2B Networking, पर्यटन प्रवर्द्धन, जलविद्युत, सूचना प्रविधि, कृषि, पूर्वाधार, उत्पादनमूलक उद्योग, महिला उद्यमशीलता, युवा सहभागिता तथा वैदेशिक रोजगारी लगायतका विषय रहनेछन् ।
आयोजकका अनुसार ग्वाङ्झाउलाई सम्मेलनका लागि रोज्नुको एउटा प्रमुख कारण चीनको महत्वपूर्ण व्यापारिक तथा व्यावसायिक केन्द्रका रूपमा रहेको यसको भूमिका हो । सम्मेलनले ग्वाङ्झाउको व्यापारिक नेटवर्कसँग नेपाली डायस्पोरालाई जोड्दै नेपालमा लगानी र व्यवसायिक साझेदारीका सम्भावना खोज्ने लक्ष्य राखेको छ ।
दोस्रो पुस्ताका नेपालीलाई विशेष प्राथमिकता
यसपटकको सम्मेलनमा विदेशमा जन्मिएका तथा हुर्किएका दोस्रो पुस्ताका नेपाली युवालाई नेपालसँग जोड्ने विषयलाई पनि विशेष प्राथमिकता दिइएको छ ।
भाषा, संस्कृति, इतिहास, पर्यटन, खेलकुद, ट्रेकिङ तथा नेपालमा लगानीका अवसरमार्फत नयाँ पुस्तालाई मातृभूमिसँग जोड्ने कार्यक्रमहरू समावेश गरिने आयोजकले जनाएको छ । यसले विदेशमा हुर्किरहेको नेपाली पुस्तामा नेपालप्रतिको सम्बन्ध र पहिचानलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
पाँच विषयगत सत्र र ‘ग्वाङ्झाउ घोषणा–२०२६’
दुईदिने मुख्य सम्मेलनमा विभिन्न पाँच विषयगत सत्र सञ्चालन गर्ने तयारी छ। लगानी, पर्यटन, व्यापार तथा आर्थिक सहकार्यसँगै वैदेशिक रोजगारी, महिला तथा युवा उद्यमशीलता, प्रविधि, पुस्तान्तरण र डायस्पोरा सहकार्यका विषयमा छलफल हुनेछन् ।
सम्मेलनको समापनमा ‘ग्वाङ्झाउ घोषणा–२०२६’ जारी गर्ने तयारी छ । उक्त घोषणामार्फत नेपाल सरकारसमक्ष लगानी, पर्यटन, आर्थिक कूटनीति, वैदेशिक रोजगारी, प्रवासी नेपालीका अधिकार तथा नीतिगत सुधारका विषयमा कार्यान्वयनमुखी सुझाव प्रस्तुत गर्ने लक्ष्य राखिएको छ ।
अगस्ट १२ मा प्रेस मिट
यसैबीच सम्मेलनको पूर्वतयारी र कार्यक्रमबारे सञ्चारकर्मीलाई जानकारी दिन अगस्ट १२, २०२६ का दिन प्रेस मिट आयोजना गरिने भएको छ ।
आयोजक एनआरएनए एशिया प्यासेफिकका उपसंयोजक श्रवण सत्यालका अनुसार प्रेस मिट अगस्ट १२ साँझ ५ बजे ९काठमाडौं समय० जुममार्फत हुनेछ ।
Zoom Meeting ID: 955 6435 2155
Passcode: 2026
यस प्रेस मिटमार्फत सम्मेलनको तयारी, सहभागिता, कार्यक्रमका विषयवस्तु तथा आगामी योजनाबारे थप जानकारी सार्वजनिक गरिने सत्यालले जानकारी दिनुभयो ।
चारदिने समग्र कार्यक्रम, मुख्य सम्मेलन अगस्ट १५–१६
एनआरएनए एशिया–प्रशान्त सम्मेलनको आधिकारिक कार्यक्रम वेबसाइटमा समग्र कार्यक्रमलाई अगस्ट १४ देखि १७ सम्मका गतिविधिका रूपमा राखिएको छ । अगस्ट १४ मा प्रतिनिधि आगमन, दर्ता तथा स्वागत कार्यक्रमसहित एनआरएनए एनसीसी चीनको वार्षिक कार्यक्रम राखिएको छ भने मुख्य क्षेत्रीय सम्मेलन अगस्ट १५ र १६ मा हुनेछ।
अगस्ट १५ मा उद्घाटन समारोहसँगै नेपालमा लगानीका सम्भावना, जलविद्युत, पर्यटन, आईटी, कृषि, पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा केन्द्रित छलफल र B2B Networking हुने कार्यक्रम छ । साँझ नेपाली कला, संस्कृति र पहिचान झल्काउने आरोहण गाला’ आयोजना गरिनेछ ।
अगस्ट १६ मा वैदेशिक रोजगारी, श्रमिक सुरक्षा तथा अधिकार, महिला व्यावसायिक नेतृत्व, युवा उद्यमशीलता, दोस्रो पुस्ताका नेपाली, पर्यटन तथा डायस्पोरा साझेदारीका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।
‘आरोहण’ले नयाँ सम्भावनाको बाटो खोल्ने अपेक्षा
‘आरोहण’ शब्दले उकालो लाग्ने वा माथि शिखर तर्फ अघि बढ्ने यात्रालाई जनाउँछ । आयोजकले यही अर्थलाई सम्मेलनको अवधारणासँग जोड्दै विश्वभर रहेका नेपालीको सामूहिक आर्थिक, सामाजिक र व्यावसायिक उन्नतिको यात्रालाई प्रतिनिधित्व गर्ने नामका रूपमा प्रस्तुत गरेको छ।
एनआरएनएले सम्मेलनबाट केवल छलफल र घोषणामात्र नभई नेपालमा डायस्पोरा लगानी बढाउने, पर्यटन प्रवर्द्धन गर्ने, ज्ञान तथा प्रविधि हस्तान्तरण गर्ने र विश्वभरका नेपालीबीच व्यावसायिक साझेदारी विस्तार गर्ने ठोस आधार तयार हुने अपेक्षा लिइएको संयोजक दिपक कँडेलले जानकारी दिनुभयो ।
संस्थागत एकतापछि आयोजना हुन लागेको पहिलो एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन भएकाले ‘आरोहण–२०२६’ लाई एनआरएनए अभियानका लागि समेत महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । विश्वका विभिन्न देशमा रहेका नेपाली प्रतिनिधि, व्यवसायी, लगानीकर्ता, विज्ञ, युवा तथा सामाजिक अभियन्तालाई एउटै मञ्चमा ल्याएर नेपाल र डायस्पोराबीचको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने प्रयासका रूपमा सम्मेलनलाई हेरिएको छ ।
अगस्ट १५–१६ मा ग्वाङ्झाउमा हुने सम्मेलनले ‘Rising Together, Leading Forward’ को नारालाई व्यवहारमा उतार्दै नेपाली डायस्पोराको आर्थिक शक्ति, ज्ञान र सीपलाई नेपालको विकाससँग जोड्न कस्तो ठोस बाटो तय गर्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।
...
जापानसमाचारडटकमले ग्वाङ्झाउमा हुन लागेको यस आरोहण सम्मेलनका हरेक पक्षलाई स्थलगत रुपमा प्रत्यक्ष प्रशारण तथा समाचार मार्फत प्रस्तुत गर्ने यहाँहरुलाई जानकारी गराउँदछौं ।