(Japan) 7 th August | 2026 | Friday | 7:04:38 PM || (Nepal) 3:49:38 PM
 
 


ताइफु ‘डल्फिन’को असर ओकिनावाबाट सुरु-२ लाख ६० हजारभन्दा बढीलाई सुरक्षित स्थानमा जान आदेश, ५०० भन्दा बढी उडान रद्द

SIMA KHADKA   POSTED ON : Friday, 07 August, 2026 | Views : 162

ताइफु ‘डल्फिन’को असर ओकिनावाबाट सुरु-२ लाख ६० हजारभन्दा बढीलाई सुरक्षित स्थानमा जान आदेश, ५०० भन्दा बढी उडान रद्द


ओकिनावा, जापान ।

शक्तिशाली ताइफु ‘डल्फिन’ जापानको दक्षिणपश्चिमी क्षेत्रतर्फ नजिक आइपुगेसँगै सरकारले खागोशिमा र ओकिनावा प्रिफेक्चरका करिब २ लाख ६० हजार बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश दिएको छ । खराब मौसमका कारण शुक्रबार देशभर ५०० भन्दा बढी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रद्द गरिएका छन् ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार ताइफु डल्फिन हाल क्युशु र ओकिनावा नजिक पुगेको छ । यसमा प्रतिघण्टा १४४ किलोमिटरको निरन्तर हावा चलिरहेको छ भने झोक्कासहितको हावाको गति १९८ किलोमिटर प्रतिघण्टासम्म पुगेको छ ।

मौसमविद्हरूले ताइफु ओकिनावा नजिक पुग्दैगर्दा यसको शक्ति कायम रहने सम्भावना रहेको जनाएका छन् । तीव्र हावा, मुसलधारे वर्षा र अग्ला छालका कारण घर, भवन तथा अन्य संरचनामा क्षति पुग्न सक्ने चेतावनी दिइएको छ । साथै, रेखीय वर्षा प्रणाली विकसित हुन सक्ने भएकाले अचानक बाढी, डुबान र पहिरोको जोखिम पनि उच्च रहेको बताइएको छ ।

ताइफुको प्रभावले कुमामोतो प्रिफेक्चर समेत प्रभावित हुने अनुमान गरिएको छ । गत साता आएको ७.१ म्याग्निच्युडको भूकम्प पछि कुमामोतो अझै सामान्य अवस्थामा फर्किन सकेको छैन । भूकम्पबाट घरबार गुमाएका करिब ६,७०० जना अझै पनि अस्थायी आश्रयस्थलमा बसिरहेका छन् ।

खराब मौसमका कारण सवारी तथा उद्योग क्षेत्रमा पनि असर परेको छ । टोयोटा मोटरले समुद्री ढुवानीमा अवरोध आउने सम्भावनालाई ध्यानमा राख्दै शुक्रबार देशभरका नौ वटा कारखानामा उत्पादन अस्थायी रूपमा स्थगित गरेको जनाएको छ ।

यसैबीच, मौसम एजेन्सीले केही क्षेत्रमा तापक्रम ३६ डिग्री सेल्सियस सम्म पुग्ने अनुमान गर्दै अत्यधिक गर्मीका कारण हीटस्ट्रोकको जोखिम पनि रहेको चेतावनी दिएको छ ।

अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई अनावश्यक बाहिर ननिस्कन, स्थानीय प्रशासनको निर्देशन पालना गर्न तथा आवश्यक परे तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् ।