(Japan) 6 th August | 2026 | Thursday | 6:13:36 PM || (Nepal) 2:58:36 PM
 
 


जापानमा तोकुतेई गिनोउ २ का लागि ५ वर्षे बसाइ अवधि थपिने

  POSTED ON : Thursday, 06 August, 2026 | Views : 230

जापानमा तोकुतेई गिनोउ २ का लागि ५ वर्षे बसाइ अवधि थपिने


टोकियो, जापान ।

जापानले स्पेसिफाइड स्किल्ड वर्कर टाइप २ (तोकुतेई गिनोउ २) अन्तर्गत काम गरिरहेका विदेशी श्रमिकका लागि नयाँ ५ वर्षे बसाइ अवधि थप्ने तयारी गरेको छ ।  जापानको आप्रवासन सेवा एजेन्सीले मंगलबार यस सम्बन्धी मन्त्रीस्तरीय अध्यादेशको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारणको राय मागे गरेको छ ।

सरकारको योजना अनुसार आवश्यक प्रक्रिया पूरा भएपछि सन् २०२७ जनवरीको सुरुआतदेखि नयाँ ५ वर्षे बसाइ अवधि लागू गरिनेछ ।


हाल कति अवधिको भिसा दिइन्छ ?

अहिलेसम्म तोकुतेई गिनोउ २ अन्तर्गत रहेका विदेशी कामदारलाई उनीहरूको रोजगारीको स्थायित्व, कामको निरन्तरता, कानुनी पालना तथा अन्य अवस्थाका आधारमा ६ महिना, १ वर्ष, २ वर्ष वा ३ वर्ष अवधिको बसाइ अनुमति प्रदान हुँदै आएको छ ।


लामो अवधिको बसाइ पाउन भने आवेदकले कडा मापदण्ड पूरा गर्नुपर्ने हुन्छ ।
यसमा विशेषगरी :

स्थायी तथा निरन्तर रोजगारी गरेको हुनुपर्ने

कर समयमै तिरेको प्रमाण

सामाजिक बीमामा नियमित सहभागिता

कानुनी उल्लंघन नगरेको अवस्था

रोजगारदाताको विश्वसनीयता

जस्ता विषयहरूको विस्तृत मूल्याङ्कन गरेपछि मात्र ५ बर्षे भिषा पाउन योग्य मानिनेछ ।


५ वर्षे बसाइ किन महत्वपूर्ण ?

नयाँ व्यवस्था लागू भएपछि योग्य विदेशी कामदारले प्रत्येक २ वा ३ वर्षमा भिसा नवीकरण गर्नुपर्ने झन्झट कम हुनेछ । 


यसले

प्रशासनिक प्रक्रिया सहज बनाउने,

रोजगारदातालाई पनि दीर्घकालीन जनशक्ति व्यवस्थापनमा सहयोग गर्ने,

विदेशी कामदारलाई जापानमा स्थायित्वको अनुभूति दिलाउने,

सरकारको अपेक्षा छ।


स्थायी बसोबास पिआर पाउनका लागि पनि फाइदा

जापानको हालको स्थायी बसोबास पिआर सम्बन्धी दिशानिर्देश अनुसार आवेदकले आफू रहेको भिसा श्रेणी अन्तर्गत उपलब्ध सबैभन्दा लामो बसाइ अवधि प्राप्त गरेको हुनुपर्ने प्रमुख सर्तमध्ये एक हो ।

यसअघि तोकुतेई गिनोउ २ धारकका लागि अधिकतम अवधि ३ वर्ष भएकाले उनीहरू त्यही अवधिको अनुमति लिएर पिआर आवेदन दिन्थे । नयाँ व्यवस्था लागू भएपछि ५ वर्षे बसाइ अवधि नै अधिकतम उपलब्ध अवधि हुनेछ, जसले भविष्यमा पिआर आवेदनका लागि आवश्यक सर्त पूरा गर्न अझ स्पष्ट आधार तयार गर्ने अपेक्षा गरिएको छ । यद्यपि ५ वर्षे बसाइ अनुमति प्राप्त गर्नु मात्र पिआर स्वतः प्राप्त हुने आधार भने होइन । आय, कर तिरेको अवस्था, सामाजिक बीमा, कानुनी पालना तथा अन्य मापदण्डहरू पनि अनिवार्य रूपमा पूरा गर्नुपर्छ।


कुन-कुन क्षेत्रमा लागू हुन्छ नयाँ नियम ?

तोकुतेई गिनोउ २ भिसा अहिले निर्माण, जहाज निर्माण, कृषि, खाद्य उत्पादन, होटल, रेस्टुरेन्ट, औद्योगिक मेसिन, अटोमोबाइल मर्मत, विमानस्थल सेवा लगायतका धेरै क्षेत्रमामा लागू छ ।


तोकुतेई गिनोउ २ भिसाको विशेषता

परिवार (पतिरपत्नी र सन्तान) लाई जापान ल्याउन सकिने,

बसाइ अवधि नवीकरण गर्दै लामो समय जापानमा काम गर्न सकिने,

आवश्यक सर्त पूरा गरेपछि स्थायी बसोबासको आवेदन दिन सकिने,

जस्ता सुविधाहरू रहेका छन् ।


अन्तिम मापदण्ड पछि सार्वजनिक हुने

आप्रवासन सेवा एजेन्सीले ५ वर्षे बसाइ अवधि प्राप्त गर्न आवश्यक विस्तृत योग्यता, मूल्याङ्कन प्रक्रिया तथा आवेदन मापदण्ड सार्वजनिक राय संकलनपछि अन्तिम रूप दिइने जनाएको छ ।

विदेशी श्रमिकको संख्या निरन्तर बढिरहेको अवस्थामा जापान सरकारले दक्ष जनशक्ति दीर्घकालसम्म देशमा राख्ने नीति अन्तर्गत यो कदम अघि बढाएको विश्लेषण गरिएको छ ।