टोकियो, जापान ।
शक्तिशाली ताईफु ‘डल्फिन’ ले जापानका दक्षिणपश्चिमी टापुहरूमा व्यापक प्रभाव पार्न थालेपछि जापान मौसम विज्ञान एजेन्सीले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
शुक्रबार बिहान ८ बजेको अवस्था अनुसार ताइफु कागोशिमा प्रिफेक्चरको ओकिनोएराबु टापुबाट करिब १४० किलोमिटर पूर्व-दक्षिणपूर्व समुद्री क्षेत्रमा रहेको छ । यो पश्चिमतर्फ प्रतिघण्टा २० किलोमिटरको गतिमा अघि बढिरहेको छ ।
ताइफुको केन्द्र नजिक प्रतिघण्टा १४४ किलोमिटरसम्मको निरन्तर हावा चलिरहेको छ भने अधिकतम १९८ किलोमिटर प्रतिघण्टासम्मको हावाहुरी मापन गरिएको छ।
हाल ताइफुको प्रभाव कागोशिमाको अमामी क्षेत्र, ओकिनावाको मुख्य टापु तथा डाइटोजिमा क्षेत्रमा परेको छ ।
मौसम विभागका अनुसार शुक्रबार ओकिनावा र अमामी क्षेत्रमा प्रतिघण्टा १४४ किलोमिटरसम्मको निरन्तर हावा चल्ने तथा अधिकतम २१६ किलोमिटर प्रतिघण्टासम्मको हुरी आउन सक्ने अनुमान गरिएको छ। दक्षिणी क्युशु क्षेत्रमा पनि प्रतिघण्टा ७९.२ किलोमिटर सम्मको हावा र १२६ किलोमिटर प्रतिघण्टा सम्मको झोक्का चल्न सक्ने बताइएको छ।
अधिकारीहरूले ओकिनावा र अमामी क्षेत्रमा केही घरहरू समेत क्षति पुग्ने गरी शक्तिशाली हावाहुरी आउने चेतावनी दिएका छन् । त्यसैले स्थानीय बासिन्दालाई शनिबारसम्म विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
ताइफुसँगै भारी वर्षा पनि हुने पूर्वानुमान गरिएको छ । ओकिनावाको मुख्य टापुमा शनिबार बिहानसम्म र अमामी क्षेत्रमा शुक्रबार रातिसम्म घना वर्षा गराउने बादल सक्रिय रहने सम्भावना छ, जसका कारण पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्को जोखिम उल्लेखनीय रूपमा बढ्न सक्ने जनाइएको छ।
शुक्रबार रातिसम्मको २४ घण्टामा ओकिनावा, अमामी र दक्षिणी क्युशुमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ।
जापान मौसम विज्ञान एजेन्सीले तीव्र हावाहुरी, अग्ला समुद्री छाल, पहिरो, होचो भूभागमा डुबान तथा नदीमा बाढी आउन सक्ने जोखिम प्रति सचेत रहन आग्रह गरेको छ । साथै पश्चिमी र पूर्वी जापानका प्रशान्त तटीय क्षेत्रका बासिन्दालाई पनि उच्च समुद्री छालबाट सावधान रहन अनुरोध गरिएको छ।