(Japan) 29 th October | 2026 | Thursday | 6:53:55 AM || (Nepal) 3:38:55 AM
 
 


जापानको चिबा प्रान्तमा ५.४ म्याग्निच्युडको भूकम्प, सुनामीको खतरा छैन

  POSTED ON : Thursday, 29 October, 2026 | Views : 194

जापानको चिबा प्रान्तमा ५.४ म्याग्निच्युडको भूकम्प, सुनामीको खतरा छैन


टोकियो, जापान ।

जापानको चिबा प्रान्तको उत्तरपूर्वी क्षेत्रमा बिहीबार बिहान भूकम्प गएको छ । स्थानीय समय अनुसार मध्यरात १२ बजेर ७ मिनेटमा गएको भूकम्पका कारण चिबा प्रान्तको योकोशिबा हिकारीमा जापानको भूकम्पीय मापन अनुसार सिन्दो ५ रेक्टरको कम्पन महसुस गरिएको छ ।

जापानको मौसम विज्ञान निकायका अनुसार भूकम्पको केन्द्र चिबा प्रान्तको उत्तरपूर्वी क्षेत्रमा रहेको थियो । भूकम्पको केन्द्रबिन्दु ५० किलोमिटर गहिराइमा रहेको र यसको तीव्रता ५.४ म्याग्निच्युड अनुमान गरिएको छ । उक्त भूकम्पबाट सुनामी आउने खतरा नरहेको अधिकारीहरूले बताएका छन् ।


भूकम्पपछि सावधानी अपनाउन आग्रह

मौसम विज्ञान विभागका अनुसार ५ रेक्टर स्तरको भूकम्प आउँदा घरभित्र रहेका दराज, र्‍याक तथा अन्य अस्थिर फर्निचर ढल्न सक्छन् । दराजमा राखिएका भाँडाकुँडा, पुस्तक तथा अन्य सामग्री खस्न सक्ने जोखिमसमेत रहन्छ ।

बाहिरी क्षेत्रमा जमिनमा चिरा पर्नुका साथै पहिरो जाने वा ढुंगा खस्ने जोखिम हुन सक्ने भएकाले जोखिमयुक्त स्थानबाट टाढा रहन भूकम्पविदहरुले आग्रह गरेका छन् ।

घरभित्र भाँडाकुँडा वा सिसा फुटेको अवस्थामा सरसफाइ गर्दा चोटपटक लाग्न सक्ने भएकाले जुत्ता वा चप्पल लगाएर सावधानीपूर्वक हिँड्न पनि सुझाव दिइएको छ ।

भूकम्पपछि जापान सरकारले रातीनै १२ बजेर ११ मिनेटमा प्रधानमन्त्री कार्यालयस्थित संकट व्यवस्थापन केन्द्रमा सूचना सम्पर्क कक्ष स्थापना गरेको छ । उक्त कक्षमार्फत भूकम्पसम्बन्धी विवरण सङ्कलन, सम्भावित क्षतिको जानकारी तथा परिस्थितिको अनुगमन भइरहेको छ ।

चिबा प्रान्तीय प्रहरी मुख्यालयका अनुसार बिहान १२ बजेर २० मिनेटसम्म भूकम्पबाट भएको क्षतिबारे कुनै जानकारी प्राप्त भएको छैन । प्रहरीले घटनाबारे थप जानकारी सङ्कलन गरिरहेको जनाएको छ।

त्यसैगरी, जापान सडक यातायात सूचना केन्द्रका अनुसार भूकम्पका कारण टोकियोसहित राजधानी क्षेत्रका एक्सप्रेसवेहरूमा कुनै सडक खण्ड अवरोध नरहेको जनाएको छ ।