(Japan) 4 th October | 2026 | Sunday | 11:29:30 AM || (Nepal) 8:14:30 AM
 
 


जापान नजिक आइपुग्यो शक्तिशाली ताइफु चोई–वान, यो हप्तापनि जापानको मौषम अस्थिर

  POSTED ON : Sunday, 04 October, 2026 | Views : 40

जापान नजिक आइपुग्यो शक्तिशाली ताइफु चोई–वान, यो हप्तापनि जापानको मौषम अस्थिर


टोकियो, जापान ।

जापानको ओगासावारा टापुतर्फ शक्तिशाली ताइफु चोई–वान अघि बढिरहेको छ । जापान मौसम विज्ञान एजेन्सीले सोमबार साँझदेखि मंगलबार बिहानसम्म ताइफु अझ नजिकिँदा तीव्र हावा, ठूलो छाल र भारी वर्षाको जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।

ताइफु चोई–वान हाल ओगासावारा टापु आसपासको समुद्री क्षेत्रमा उत्तर–पूर्वतर्फ अघि बढिरहेको छ। यसको केन्द्रमा वायुमण्डलीय चाप ९४५ हेक्टोपास्कल रहेको छ भने केन्द्रनजिक हावाको गति १६२ किलोमिटर प्रतिघण्टा र अधिकतम झोक्का २१६ किलोमिटर प्रतिघण्टा सम्म पुगेको छ ।

मौसम अधिकारीका अनुसार टाइफुन नजिकिँदै जाँदा समुद्र निकै अशान्त बन्नेछ । आइतबार करिब ६ मिटर तथा सोमबार र मंगलबार ८ मिटरसम्म अग्ला छाल उठ्न सक्ने अनुमान गरिएको छ ।

सोमबार रातिदेखि मंगलबारसम्म ओगासावारा क्षेत्रमा भारी वर्षा हुन सक्ने र मंगलबार बिहानसम्मको २४ घण्टामा १०० मिलिमिटरसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । त्यसपछि पनि वर्षाको मात्रा थप बढ्न सक्ने मौसम एजेन्सीले जनाएको छ ।

स्थानीय बासिन्दालाई उच्च छाल, तीव्र हावा र भारी वर्षाबाट हुनसक्ने जोखिमप्रति सतर्क रहन आग्रह गरिएको छ । ताइफुको असर राजधानी टोकियो सहित मध्य जापानमा पर्नेछ । जहाँ यो हप्ताभरको औषत मौषम गर्मी रहेपनि ताइफुकै प्रभावका कारण बर्षा र हावाहुरीले अस्थिर रहनेछ ।