टोकियो, जापान ।
जापानको दक्षिणी समुद्री क्षेत्रमा रहेको समुन्द्रिक आँधी (ताइफु) ‘सुरिगाए’ बुधबार रातिदेखि बिहीबार बिहानसम्म टोकियोको दक्षिणमा पर्ने इजु टापुहरू नजिक पुग्ने अनुमान गरिएको छ ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार बुधबार बिहान ९ बजे आँधी जापानको दक्षिणी समुद्री क्षेत्रमा १५ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरपूर्वतर्फ अघि बढिरहेको थियो । आँधीको केन्द्रमा हावाको दबाव १,००० हेक्टोपास्कल तथा अधिकतम हावाको गति ६५ किलोमिटर प्रतिघण्टा र हावाको झोक्का ९० किलोमिटर प्रतिघण्टासम्म पुगेको थियो ।
आँधी नजिकिँदै गर्दा इजु टापुहरूमा वर्षा तीव्र भएको छ । हाचिजोजिमा क्षेत्रमा बुधबार बिहान १०ः३० बजेसम्मको एक घण्टामा ३१.५ मिलिमिटर वर्षा मापन गरिएको छ ।
बुधबार रातिदेखि बिहीबार बिहानसम्म दक्षिणी इजु टापु क्षेत्रमा मेघगर्जन सहित प्रतिघण्टा ५० मिलिमिटरसम्म भारी वर्षा हुन सक्ने छ । बिहीबार दिउँसोसम्मको २४ घण्टामा दक्षिणी क्षेत्रमा १५० मिलिमिटर र उत्तरी क्षेत्रमा ६० मिलिमिटरसम्म वर्षा हुने अनुमान छ ।
समुद्रमा पनि उच्च छाल आउने सम्भावना छ । दक्षिणी क्षेत्रमा ५ मिटर र उत्तरी क्षेत्रमा ३ मिटरसम्म छाल उठ्न सक्ने भएकाले उच्च छाल, पहिरो, बाढी, तीव्र हावा र चट्याङबाट सतर्क रहन आग्रह गरिएको छ ।
यसैबीच, टोकियो नजिकको चिबा प्रिफेक्चरमा बिहीबार वर्षा फेरि तीव्र हुन सक्ने पूर्वानुमान गरिएको छ। हालै अत्यधिक वर्षाबाट प्रभावित चिबामा जमिन कमजोर भएकाले ठूलो वर्षा नहुँदा पनि पहिरो र नदीमा पानीको सतह बढ्ने जोखिम रहेको मौसम एजेन्सीले चेतावनी दिएको छ ।
अर्कोतर्फ, शरद ऋतुको वर्षा प्रणालीका कारण कान्तोदेखि तोकाइ क्षेत्रसम्म प्रशान्त तटीय भूभागमा व्यापक वर्षा भइरहेको छ । टोकियोको मध्य क्षेत्रमा बुधबार लगातार ३५औँ दिन वर्षा भएको छ, जुन जापानमा अभिलेख राख्न थालिएयताकै सबैभन्दा लामो लगातार वर्षाको क्रम बनेको छ ।