टोकियो, जापान ।
जापानभर केही सातादेखि जारी रेकर्डस्तरको गर्मीको लहरका बीच टोकियोस्थित तामा चिडियाखानामा तीनवटा पोथी सिंहको मृत्यु भएको छ । चिडियाखानाले ती सिंहहरूको मृत्यु अत्यधिक गर्मीका कारण भएको हुन सक्ने जनाएको छ ।
चिडियाखानाले सोमबार जारी गरेको विज्ञप्ति अनुसार जुलाईको मध्यदेखि केही सिंहमा भोक कम लाग्ने, अत्यधिक थकान, सुस्त गतिविधि तथा स्वास्थ्य अवस्था कमजोर हुने जस्ता लक्षण देखिन थालेपछि जुलाई २३ देखि सिंह प्रदर्शनी सर्वसाधारणका लागि बन्द गरिएको थियो ।
मृत्यु हुने सिंहहरूमा ३ वर्षीया ‘मुगी, ११ वर्षीया ‘इचिगो र १५ वर्षीया ‘लुएना रहेका छन् । यी तीनै सिंह पोथी थिए । जुलाई १८ सम्म तामा चिडियाखानामा ५ वटा भाले र ११ वटा पोथीसहित कुल १६ वटा सिंह रहेका थिए ।
चिडियाखानाले हाल बाँकी सिंहहरूको स्वास्थ्य अवस्था निरन्तर निगरानीमा राखिएको जनाएको छ । केही सिंह अझै उपचार तथा विशेष हेरचाहमा रहेको जानकारी पनि दिइएको छ ।
जापानमा यस वर्षको गर्मीले विगतका धेरै रेकर्ड तोडेको छ । विशेषगरी जुलाई महिनाभर देशका धेरै क्षेत्रमा तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो भने कतिपय स्थानमा ४० डिग्री सेल्सियस नजिक पुगेको थियो । अत्यधिक गर्मीका कारण मानिस मात्र होइन, वन्यजन्तु र चिडियाखानामा रहेका जनावरहरू पनि प्रभावित भइरहेका छन् ।
तामा चिडियाखानाले सिंहहरूको मृत्युको ठ्याक्कै कारण पुष्टि गर्न थप परीक्षण भइरहेको जनाएको छ । प्रारम्भिक मूल्याङ्कन अनुसार भने लगातारको भीषण गर्मीले उनीहरूको स्वास्थ्यमा गम्भीर असर पारेको र त्यसैका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा जापानमा गर्मीको तीव्रता र अवधि दुवै बढ्दै गएको विज्ञहरूले बताउँदै आएका छन् । यस घटनाले अत्यधिक तापक्रमले वन्यजन्तु संरक्षण र चिडियाखाना व्यवस्थापनमा समेत नयाँ चुनौती थपिएको देखाएको छ ।