टोकियो, जापान ।
जापानको टोकियोस्थित हानेदा विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुहरूले अब आफ्नो चेक-इन सामान (ब्यागेज) उडान समयभन्दा कम्तीमा ३० मिनेटअघि बुझाउनुपर्ने भएको छ ।
जापानी सञ्चारमाध्यमहरूका अनुसार अल निप्पोन एयरवेज, जापान एयरलाइन्स सहित अन्य चार वायुसेवा कम्पनीहरूले सेप्टेम्बर १ देखि नयाँ व्यवस्था लागू गर्ने तयारी गरेका छन् । हालसम्म अधिकांश कम्पनीमा सामान बुझाउने अन्तिम समय उडानभन्दा २० मिनेटअघि थियो ।
जापानको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयले पछिल्ला वर्षहरूमा बढ्दै गएको उडान ढिलाइ (फ्लाइट डिले) कम गर्ने उद्देश्यले यो कदम चालिएको जनाएको हो ।
सरकारी तथ्यांक अनुसार, जापानका आन्तरिक उडानहरूको समयमै प्रस्थान गर्ने दर आर्थिक वर्ष २०१५ मा ९१ प्रतिशत रहेकोमा २०२५ मा ८३ प्रतिशत मा झरेको छ । निर्धारित समयदेखि १५ मिनेटभित्र उडान भए त्यसलाई समयमै प्रस्थान भएको मानिन्छ ।
नयाँ नियम जापान ट्रान्सओसियन एयर, एयरडो, सोलासिड एयर र स्टार फ्लायर मा पनि यो नियम लागू हुनेछ। यद्यपि स्काइमार्क एयरलाइन्सले भने हालका लागि उडानभन्दा २० मिनेटअघि सामान बुझाउने व्यवस्था यथावत् राख्ने, आवश्यक परेपछि मात्र परिवर्तन गर्ने जनाएको छ ।
विश्वकै अत्यधिक व्यस्त विमानस्थलमध्ये एक हानेदा विमानस्थल ले सन् २०२५ मा पहिलो पटक वार्षिक ९ करोडभन्दा बढी यात्रुलाई सेवा दिएको थियो । यात्रु संख्या बढ्नु र टर्मिनल विस्तारका कारण सामान विमानसम्म पुर्याउन लाग्ने समय बढेकाले नयाँ समयसीमा लागू गर्न लागिएको बताइएको छ।