टोकियो, जापान ।
जापान सरकारले अस्पताल, वृद्धवृद्धा हेरचाह केन्द्र तथा विद्यालयमा खाना तयार गर्ने कामका लागि विदेशी कामदार भर्ना प्रक्रिया आगामी वर्ष अप्रिलदेखि पुनः सुरु गर्ने योजना बनाएको छ ।
जापानी सञ्चारमाध्यम जिजी प्रेसका अनुसार सरकारले सोमबार सम्बन्धित विज्ञहरूको बैठकमा यस्तो योजना प्रस्तुत गरेको हो । यसलाई आगामी डिसेम्बरमा मन्त्रिपरिषद्बाट स्वीकृत गराउने लक्ष्य राखिएको छ ।
सरकारले निर्दिष्ट सीप (Specified Skilled Worker–SSW) नम्बर १ अन्तर्गत संस्थाहरूमा खाना तयार गर्ने कामलाई रेस्टुरेन्ट क्षेत्रबाट खाद्य तथा पेय पदार्थ उत्पादन क्षेत्रमा सार्ने प्रस्ताव गरेको छ ।
यसअघि रेस्टुरेन्ट क्षेत्रमा निर्दिष्ट सीप नम्बर १ अन्तर्गत विदेशी कामदारको संख्या ५० हजारको सीमातर्फ बढेपछि सरकारले गत अप्रिलदेखि नयाँ कामदार स्वीकार गर्ने प्रक्रिया रोकेको थियो । तर अस्पताल तथा अन्य संस्थाहरूमा खाना तयार गर्ने कामदारको अभाव बढ्दै गएपछि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको हो ।
खाद्य उत्पादन क्षेत्रमा कस्तो छ अवसर ?
खाद्य तथा पेय पदार्थ उत्पादन क्षेत्रमा विदेशी कामदारको अधिकतम सीमा १ लाख ३३ हजार ५०० तोकिएको छ । जुलाईको अन्त्यसम्म यस क्षेत्रमा निर्धारित सीमाको ७६ प्रतिशत कामदार पुगेका थिए ।
त्यस्तै, सरकारले वृद्धवृद्धा हेरचाह क्षेत्रमा निर्दिष्ट सीप नम्बर १ अन्तर्गत कामदारको अधिकतम सीमा २० हजारले बढाएर १ लाख ४६ हजार ९०० पुर्याउने प्रस्ताव पनि गरेको छ ।
सरकारको योजना अनुसार सन् २०२७ अप्रिलदेखि सुरु हुने नयाँ रोजगार तथा सीप विकास कार्यक्रम सहित आर्थिक वर्ष २०२८ को अन्त्यसम्म जापानमा सबै क्षेत्रका विदेशी कामदारको कुल सीमा १२ लाख ३१ हजार ९०० कायम राखिनेछ ।
जापानमा काम गर्न चाहने नेपालीका लागि अस्पताल, विद्यालय तथा वृद्धवृद्धा हेरचाह संस्थामा खाना तयार गर्ने काम खोज्नेहरूका लागि यो व्यवस्था नयाँ अवसर बन्न सक्छ । तर यो हाल घोषणा गरिएको योजना मात्र भएकाले अन्तिम स्वीकृति, आवेदन प्रक्रिया र आवश्यक योग्यतासम्बन्धी आधिकारिक विवरण आउन भने अझै केहि महिना लाग्नसक्ने ठानिएको छ ।