कुमामोतो, जापान ।
जापानको कुमामोतो प्रिफेक्चरमा जुलाई २८ मा गएको शक्तिशाली भूकम्पपछि मृत्यु हुनेको संख्या ३४ पुगेको छ । कुमामोतो प्रिफेक्चर सरकारले बिहीबार जुलाई ३० दिउँसो ४ बजे बसेको विपद् व्यवस्थापन मुख्यालयको बैठकमा भूकम्पसँग सम्बन्धित घटनाको अनुसन्धान भइरहेका व्यक्तिसहित ३४ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।
यसअघि बिहीबार बिहानसम्म १७ जनाको मृत्यु पुष्टि भएको थियो भने ६ जना हृदय तथा श्वासप्रश्वास बन्द भएको अवस्थामा रहेको जनाइएको थियो । उद्धार तथा खोजी कार्य जारी रहेकै अवस्थामा मृतकको संख्या बढेको हो ।
यातायात तथा औद्योगिक क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ । यतासम्म यात्सुशिरो सहरस्थित निप्पोन पेपरको कारखानामा चिम्नी लगायतका संरचना भत्किँदा ८ जनाको मृत्यु भएको र एक जना अझै सम्पर्कविहीन रहेको बताइएको छ ।
कुमामोतोस्थित ‘एओन मल कुमामोतो’ मा पनि उद्धार कार्य जारी छ । बिहीबार बिहान थप दुई जना फेला परेका थिए । तीमध्ये एक जनाको मृत्यु पुष्टि भएको छ भने अर्का व्यक्तिको उद्धार प्रयास जारी रहेको थियो । यस मलमा मात्रै मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
यात्सुशिरो सहरमा भत्किएको घरमुनि एक जना फसेको अवस्थामा फेला परेपछि उद्धार टोलीले उद्धार कार्य अघि बढाएको छ।
भूकम्पपछि कुमामोतो प्रिफेक्चरमा ४१५ वटा आश्रयस्थल सञ्चालनमा छन्, जहाँ १० हजार ४०० भन्दा बढी मानिसले आश्रय लिइरहेका छन् । त्यस्तै, करिब ७४ हजार ८०० घरमा खानेपानी आपूर्ति बन्द रहेको र करिब २३ हजार घरमा विद्युत् सेवा अवरुद्ध रहेको सरकारी अधिकारीहरूले बताएका छन् ।
विपद् व्यवस्थापन बैठकमा विद्युत् कम्पनीहरूलाई हालको विद्युत अवरोध र पुनःस्थापनाको अनुमानित समयबारे छिटो र स्पष्ट जानकारी सार्वजनिक गर्न आग्रह गरिएको थियो ।
कुमामोतोका गभर्नर किमुराले बैठकपछि मृतकको संख्या बढ्नु अत्यन्त दुःखद भएको बताउँदै घटनास्थलमा उद्धार टोलीले निरन्तर प्रयास गरिरहेको जानकारी दिए । उनले भूकम्पपछिको ७२ घण्टाभित्र अधिकतम मानव उद्धार गर्न सबै सम्भव प्रयास गरिने बताएका छन् ।