काठमाडौं, नेपाल ।
जापानमा रहेर विगत पाँच वर्षदेखि ट्राभल तथा पर्यटनसम्बन्धी सेवा प्रदान गर्दै आएको रेड बड ट्राभल्सले नेपालमा पनि आफ्नो शाखा विस्तार गरेको छ । कम्पनीले काठमाडौंको दरबारमार्गबाट नेपालस्थित शाखाको औपचारिक सेवा सुरु गरेको हो ।
नेपालमा शाखा विस्तारसँगै रेड बड ट्राभल्सले जापानसहित विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यका लागि भ्रमण प्याकेज, हवाई टिकट तथा ट्राभलसम्बन्धी अन्य सेवा उपलब्ध गराउने जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण रिमालका अनुसार नेपालबाट जापान, इन्डोनेसिया, माल्दिभ्स, संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका मुलुकका लागि विभिन्न प्रकारका टुर प्याकेज सञ्चालन गर्ने तयारी गरिएको छ । ग्राहकको आवश्यकता र बजेट अनुसार भ्रमण प्याकेज निर्माण गर्नुका साथै हवाई टिकटलगायतका सेवा पनि उपलब्ध गराइने उनले बताए।
जापानबाट अन्तर्राष्ट्रिय गन्तव्यसम्म सेवा
रेड बड ट्राभल्सले जापानमा आफ्नो सेवा विस्तार गर्दै युरोप, मलेसिया, सिंगापुर लगायत विभिन्न मुलुकका लागि भ्रमण प्याकेज सञ्चालन गर्दै आएको रिमालले सीइओ रिमालले जानकारी दिए ।
जापानमा रहेका नेपाली तथा अन्य यात्रुलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय भ्रमणका लागि आवश्यक टिकट तथा प्याकेज सेवा उपलब्ध गराउँदै आएको कम्पनीले अब नेपालमा पनि आफ्नो सेवा विस्तार गरेको हो ।
नेपालमा शाखा सञ्चालन भएपछि जापान र नेपालबीचको पर्यटन तथा यात्रासम्बन्धी सेवामा थप सहकार्य गर्ने अवसर सिर्जना हुने कम्पनीको अपेक्षा छ ।
अस्ट्रेलिया, यूएई र स्पेनमा पनि शाखा विस्तारको योजना
रेड बड ट्राभल्सले जापान र नेपालमा मात्र सीमित नरही आफ्नो अन्तर्राष्ट्रिय सञ्जाल थप विस्तार गर्ने योजना बनाएको छ ।
कम्पनीले अस्ट्रेलियामा समेत ट्राभल व्यवसाय सुरु गरिसकेको जनाएको छ । यसै वर्षदेखि यूएई र स्पेनमा पनि सेवा विस्तार गर्ने योजना रहेको सीईओ रिमालले बताएका छन् ।
यसरी विभिन्न देशमा शाखा तथा सेवा विस्तार गर्दै अन्तर्राष्ट्रिय स्तरमा ट्राभल नेटवर्क निर्माण गर्ने कम्पनीको लक्ष्य रहेको उनले बताए ।
जापानी पर्यटकलाई नेपाल ल्याउने योजना
नेपालमा शाखा विस्तारसँगै रेड बड ट्राभल्सले जापानबाट नेपाल आउने पर्यटकलाई लक्षित गरी विशेष पर्यटन सेवा सञ्चालन गर्ने तयारीसमेत अघि बढाएको छ ।
रिमालका अनुसार जापानी पर्यटकलाई नेपाल ल्याउन आवश्यक लाइसेन्सको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आवश्यक अनुमति प्राप्त भएपछि जापानबाट नेपाल भ्रमण गर्ने पर्यटकका लागि टुर प्याकेज तथा अन्य पर्यटनसम्बन्धी सेवा थप व्यवस्थित रूपमा सञ्चालन गर्ने कम्पनीको योजना छ ।
जापानी पर्यटकलाई नेपाल ल्याउने उद्देश्यले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्न काम भइरहेको कम्पनीले जनाएको छ ।
नेपाल–जापान पर्यटन सम्बन्धमा अवसर
जापान र नेपालबीच लामो समयदेखि पर्यटन तथा सांस्कृतिक सम्बन्ध रहँदै आएको छ । नेपालका हिमाल आरोहण तथा हिमाली क्षेत्र, प्राकृतिक सौन्दर्य, पदयात्रा, संस्कृति तथा धार्मिक पर्यटन जापानी पर्यटकका लागि आकर्षणका विषय मानिन्छन् ।
यस्तो अवस्थामा जापानमा लामो समयदेखि ट्राभल व्यवसाय गर्दै आएको कम्पनीले नेपालमै शाखा स्थापना गर्नुले दुई देशबीच पर्यटक आवागमन बढाउन सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ।
विशेषगरी जापानमा रहेका नेपाली समुदायमार्फत नेपालसम्बन्धी पर्यटन प्रवर्द्धन गर्ने तथा जापानी पर्यटकलाई नेपालका विभिन्न गन्तव्यसम्म पुर्याउने सम्भावना पनि यसबाट थप बलियो बन्ने देखिन्छ ।
रेड बड ट्राभल्सले नेपालमा आफ्नो सेवा विस्तारसँगै अन्तर्राष्ट्रिय हवाई टिकट, भ्रमण प्याकेज र पर्यटनसम्बन्धी सेवालाई एउटै माध्यमबाट उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ । कम्पनीको आगामी विस्तार योजनाले नेपालबाट विदेश जाने यात्रु र विदेशबाट नेपाल आउने पर्यटक दुवैलाई लक्षित गर्ने देखिएको छ ।