(Japan) 21 st August | 2026 | Friday | 10:41:01 PM || (Nepal) 7:26:01 PM
 
 


जापानका विभिन्न शहरमा प्रदर्शन अघि नै हाउसफुल हुँदै ‘गौँथली’, नायक अरुण क्षेत्री जापानमा

  POSTED ON : Saturday, 22 August, 2026 | Views : 138

जापानका विभिन्न शहरमा प्रदर्शन अघि नै हाउसफुल हुँदै ‘गौँथली’, नायक अरुण क्षेत्री जापानमा


टोकियो, जापान ।

नेपाली चलचित्र ‘गौँथली’ जापानमा रहेका नेपाली दर्शकमाझ प्रदर्शनको तयारीमा रहेको छ । नेपालमा उत्साहजनक प्रतिक्रिया र राम्रो व्यावसायिक सफलता हासिल गरिरहेको चलचित्रले जापानमा प्रदर्शन अगावै टिकट शोल्ड आउटको रेकर्ड बनाउन थालेको छ । गौथली जापानका विभिन्न शहरमा रहेका नेपाली समुदायमाझ पुग्ने क्रममा रहेको छ ।

निर्माता–निर्देशक टोलीसँग सम्बन्धित पछिल्ला सार्वजनिक सूचना अनुसार ‘गौँथली’को जापान यात्रा टोकियोबाट सुरु भएर चिबा, ओसाका, नागोया, फुकुओका, सेन्दाई लगायतका शहरसम्म प्रदर्शनको मिति तय भएको छ ।

आयोजकहरूले जापानभर रहेका नेपाली दर्शकलाई लक्षित गर्दै विभिन्न शहरमा शो बढाउँदै लगेका छन् ।

टोकियोमा ‘गौँथली’को विशेष प्रदर्शनका लागि नानाको जिरो हलमा दुईवटा शो तय गरिएको छ । पछिल्लो सूचना अनुसार टोकियोमा पहिलो शोप्रति दर्शकको उत्साहले प्रदर्शन घोषणाको एक सातामै टिकट शोल्ड आउट भएपछि दोस्रो शो समेत घोषणा गरिएको छ ।

चलचित्रका कलाकार तथा निर्माण पक्षले समेत जापानमा दर्शकमाझ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिएका छन् । मुख्य अभिनेता अरुण क्षेत्रीले जापान आएर चलचित्र प्रस्तुत गर्ने जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । जापानसमाचारलाई प्राप्त जानकारी अनुसार चलचित्रका नायक क्षेत्री अगष्ट २३ र २८ तारिख टोकियोमा प्रदर्शन हुने चलचित्र दर्शकसँगै हेर्नेगरि जापान आउने भएका छन् । यस बाहेक अन्य शहरमा हुने प्रदर्शनमा पनि सहभागीताको लागि तयारी भइरहेको बताइएको छ । चलचित्रको जापान प्रदर्शन अधिकारी निपालीले गरिरहेको छ ।


हाल सार्वजनिक भएको जानकारी अनुसार जापानमा ‘गौँथली’को प्रदर्शन

अबिको

फुनाबासी

टोकियो

ओसाका

नागोया 

फुकुओका

सेन्दाई

साथै जापानका अन्य शहरहरूमा समेत प्रदर्शनको तयारी भइरहेको छ ।

डा। कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’को कथा डा. भोला रिजालले तयार गरेका हुन्। चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् भने मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराललगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रले बालविवाह, महिलाको शिक्षा, ग्रामीण समाज, पारिवारिक सम्बन्ध तथा अटिजम भएका व्यक्तिको जीवनजस्ता संवेदनशील विषयलाई कथाको केन्द्रमा राखेको छ । शिक्षाबाट वञ्चित हुन पुगेकी एक युवतीको संघर्ष र असामान्य व्यवहार देखिने युवकसँगको वैवाहिक जीवनमार्फत चलचित्रले सामाजिक सोच र शिक्षाको महत्त्वलाई प्रस्तुत गरेको छ।

नेपालमा साउन १ गतेदेखि प्रदर्शनमा आएको ‘गौँथली’ले छोटो समयमै उल्लेखनीय व्यापार गरेको छ । पछिल्लो रिपोर्ट अनुसार चलचित्रले २२ करोड रुपैयाँ ग्रस कलेक्सन गर्दै ‘१२ गाउँ’को रिपोर्ट गरिएको लाइफटाइम कलेक्सनलाई समेत उछिनेको छ ।

जापानमा रहेका नेपाली दर्शकका लागि ‘गौँथली’ केवल मनोरञ्जनको चलचित्र मात्र नभई नेपाली समाजका संवेदनशील विषयलाई पर्दामा हेर्ने अवसरसमेत बन्ने देखिएको छ ।