(Japan) 24 th August | 2026 | Monday | 10:53:09 AM || (Nepal) 7:38:09 AM
 
 


अनेसास जापानबाट सुष्मा शाह ओमातालाई ‘दीर्घ साहित्य साधना सम्मान’

  POSTED ON : Monday, 24 August, 2026 | Views : 114

अनेसास जापानबाट सुष्मा शाह ओमातालाई ‘दीर्घ साहित्य साधना सम्मान’


टोकियो, जापान ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान शाखाको ८४औँ नियमित साहित्यिक शृङ्खला अग्रज साहित्यकार, कलाकार तथा सितारवादक सुष्मा शाह ओमाताको ८४औँ जन्मोत्सव विशेष कार्यक्रमका रूपमा आइतबार टोकियोमा भव्य रुपमा सम्पन्न भएको छ ।

अनेसास जापानकी बोर्ड अफ ट्रस्टी सदस्यसमेत रहनुभएकी शुष्मा शाह ओमाताको ८४औँ जन्मोत्सव र संस्थाको ८४औँ साहित्यिक शृङ्खलाको एउटै अवसरमा परेको संयोगलाई विशेष बनाउँदै कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको विकास र विस्तारमा लामो समयदेखि पुर्‍याउँदै आउनुभएको योगदानको कदर गर्दै शुष्मा शाह ओमातालाई ‘अनेसास जापान दीर्घ साहित्य साधना सम्मान २०८३’ अर्पण गरिएको छ ।

काठमाडौंको बसन्तपुरमा जन्मनुभएकी सुष्मा शाह ओमाता सन् १९७३ मा पहिलोपटक जापान आउनुभएको थियो । जापानमा पाँच दशकभन्दा लामो समय बिताइसक्नुभएकी उहाँले आफ्नो अनुभव, कला, साहित्य र संगीतको साधनालाई नेपाली समुदाय तथा समाजसेवामा निरन्तर उपयोग गर्दै आउनुभएको छ । अनेसास जापानको सुरुवाती चरणदेखि नै संस्थासँग जोडिँदै आउनुभएकी ओमातालाई नेपाली साहित्य तथा संस्कृतिको क्षेत्रमा निरन्तर योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो ।

अनेसास जापानका अध्यक्ष आनन्द अधिकारीको अध्यक्षता तथा संस्थापक अध्यक्ष डा. कुमार बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । नेपाली राजदूतावास टोकियोका कार्यवाहक राजदूत हरिहरकान्त पौडेल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा उहाँले सुष्मा ओमातालाई नेपाली समुदायका लागि ‘जिउँदो इतिहास’का रूपमा चर्चा गर्दै उहाँको सम्मानमा आयोजना गरिएको कार्यक्रमको प्रशंसा गर्नुभयो ।

एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेले ओमातालाई प्रदान गरिएको सम्मान सम्पूर्ण जापानवासी नेपालीको सम्मान भएको बताउँदै अनेसास जापानप्रति धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा साहित्यकार यशोदा बस्नेतले प्रमुख वक्ताका रूपमा ओमाताको व्यक्तित्व र योगदानका विभिन्न आयामबारे चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा समाजसेवी सालिकराम भण्डारी, नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ल, एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग र समाजसेवी इन्दिरा सुजुकीले सुष्मा ओमातासँगका आफ्ना अनुभव तथा उहाँको योगदानबारे धारणा राख्दै जन्मदिनको शुभकामना व्यक्त गर्नुभयो ।

यसै क्रममा साहित्यकार शरद पोख्रेलले ‘सुष्मा शाह ओमाता स् कला र साहित्यको शताब्दी नजिकको यात्रा’ शीर्षकमा उहाँको जीवन, कला, साहित्य र जापान यात्रासँग सम्बन्धित जीवनी प्रस्तुत गर्नुभएको थियो। सचिव विनिशा सापकोटाको आवाजमा ओमाताको जीवनयात्रा समेटिएको श्रव्य–दृश्य सामग्रीसमेत प्रस्तुत गरिएको थियो ।

आफ्नो सम्बोधनमा सुष्मा शाह ओमाताले जापानमा बिताएका पाँच दशकभन्दा लामो समयका संघर्ष, अनुभव र सफलताका विभिन्न प्रसङ्ग सुनाउनुभएको थियो । साहित्य र संगीतप्रतिको रुचिले आफूलाई नेपाली समुदायसँग जोडिन र समाजसेवाको यात्रामा अघि बढ्न प्रेरणा दिएको उल्लेख गर्दै उहाँले अनेसास जापानले आफूलाई दिएको सम्मान र आत्मीयताप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा करिब १२० जनाभन्दा बढीको सहभागिता रहेको थियो। करिब दुई दर्जन साहित्यकार तथा स्रष्टाले आफ्ना सिर्जना वाचन गर्दै ओमातालाई जन्मदिनको शुभकामना दिएका थिए। प्रकाश पौडेल ‘माइला’, दिनेशराज ज्ञवाली, दीप पाठक, गिरिजा गैह्रे, अरूण पौडेल, बैकुण्ठ भट्ट, धिषण निरौला, गृष्मा पौड्याल, सुजाता शर्मा, शिवराज राई, सविना रेग्मी, हेमन्त गिरी, मिनराज बास्तोला, मञ्जु गिरी, लक्ष्मी राई, गंगा गगन, निरज पाण्डे र समुन्द्र पौडेल लगायतले रचना तथा मन्तव्य राख्नुभएको थियो ।

अनेसास जापानका पूर्व अध्यक्ष बेलुकाजी थापाले नेपालबाट सुष्मा ओमाताको सम्मानमा पठाउनुभएको कविता पनि कार्यक्रममा वाचन गरिएको थियो ।

कार्यक्रमको सुरुवात अनेसास जापानका सदस्य विश्वबन्धु भण्डारीको स्वागत मन्तव्यबाट भएको थियो । पानसमा दीप प्रज्वलन तथा नेपाली राष्ट्रिय गानपछि कार्यक्रम अघि बढाइएको थियो । सुष्मा ओमाताको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै माधव पौडेलले स्वस्तिवाचन गर्नुभएको थियो ।

कार्यक्रमको पहिलो सत्र महासचिव मनोज मौसम केसी र दोस्रो सत्र सचिव यमलाल कँडेलले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम संयोजक तथा अनेसास जापानकी उपाध्यक्ष दीपा घिमिरेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

अध्यक्ष आनन्द अधिकारीले उपस्थित सबैप्रति आभार व्यक्त गर्दै औपचारिक कार्यक्रम समापन गर्नुभयो। अन्त्यमा धौलागिरी भजन समूहले सुष्मा शाह ओमाताको सम्मान तथा दीर्घायुको कामना गर्दै भजन–कीर्तन प्रस्तुत गरेको थियो ।

साहित्य, संगीत, कला र नेपाली समुदायसँग जोडिएको पाँच दशकभन्दा लामो यात्रालाई सम्मान गर्दै आयोजना गरिएको अनेसास जापानको ८४औँ शृङ्खला ओमाताको जन्मोत्सवसँगै जापानमा नेपाली साहित्यिक गतिविधिको निरन्तरताको महत्वपूर्ण अवसरका रूपमा भव्यताका साथ सम्पन्न भएको छ ।