टोकियो, जापान ।
नेपाली भाषा तथा साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीको अवसरमा जापानको राजधानी टोकियोमा ‘भानु उत्सव २०८३’ आयोजना हुने भएको छ ।
कार्यक्रम आगामी १२ जुलाई २०२६ (आइतबार) दिउँसो १२:३० बजेदेखि सोलमारी मुरा हल, सिनओकुबो, टोकियोमा सञ्चालन हुनेछ ।
आयोजकका अनुसार कार्यक्रममा भानुभक्तको योगदानको स्मरण गर्दै विविध साहित्यिक तथा सांस्कृतिक गतिविधि समावेश गरिनेछ ।
कार्यक्रममा भानुभक्तका रचनाको वाचन, नयाँ पुस्तक विमोचन तथा खुला रचना वाचन आयोजना गरिनेछन् ।
कार्यक्रमको आयोजना अनेसास जापान र तनहुँ समाज जापानले संयुक्त रूपमा गरेका हुन् । आयोजकहरूले जापानमा रहेका नेपाली समुदाय, साहित्यप्रेमी तथा इच्छुक सबैलाई कार्यक्रममा सहभागी भई नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा साथ दिन आग्रह गरेका छन् ।
भानुभक्त आचार्यलाई नेपाली भाषाका आदिकवि मानिन्छ । उनले संस्कृतमा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरी नेपाली साहित्यको विकासमा ऐतिहासिक योगदान पुर्याएका थिए । उनको जन्मजयन्ती नेपाल तथा विश्वभर रहेका नेपाली समुदायले हरेक वर्ष विविध कार्यक्रम मार्फत मनाउने परम्परा रहेको छ ।