(Japan) 14 th July | 2026 | Tuesday | 9:17:51 AM || (Nepal) 6:02:51 AM
 
 

अनेसास जापान र तनहुँ समाज जापानद्वारा ‘भानु उत्सव २०८३’ सम्पन्न, २१३औँ भानुजयन्ती विशेष रूपमा मनाइयो

  POSTED ON : Tuesday, 14 July, 2026 | Views : 212

अनेसास जापान र तनहुँ समाज जापानद्वारा ‘भानु उत्सव २०८३’ सम्पन्न, २१३औँ भानुजयन्ती विशेष रूपमा मनाइयो


टोकियो, जापान ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टर र तनहुँ समाज जापानको संयुक्त आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१३औँ भानुजयन्तीको अवसरमा ‘भानु उत्सव २०८३’ भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम अनेसास जापानका अध्यक्ष आनन्द अधिकारीको अध्यक्षता तथा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रमको संयोजन तनहुँ समाज जापानका अध्यक्ष डा. भोजराज पन्थले गर्नुभएको थियो।

भानु उत्सवकै अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रको एसिया क्षेत्रीय उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएकोमा अनेसास जापानका पुर्व अध्यक्ष समेत रहनुभएका दिनेशराज ज्ञवालीलाई सामूहिक रूपमा बधाई तथा शुभकामना अर्पण गरिएको थियो । साहित्यिक अभियानमा उहाँको नयाँ जिम्मेवारी अझ प्रभावकारी र प्रेरणादायी बन्ने विश्वास सहभागीहरूले व्यक्त गरेका थिए।

कार्यक्रममा वक्ताहरू विष्णु प्रसाद घिमिरे, प्रकाश पौडेल ‘माइला’, दिनेशराज ज्ञवाली तथा अरुण पौडेलले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा पुर्‍याउनुभएको ऐतिहासिक योगदानको चर्चा गर्दै विदेशमा यस्ता साहित्यिक कार्यक्रमले नेपाली भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।

भानुभक्तको साहित्यिक योगदानलाई स्मरण गर्दै आयोजित कार्यक्रममा गिरिजा गैह्रे, सविना रेग्मी र गृष्मा पौड्यालले भानुभक्तका विभिन्न रचनाहरू वाचन गर्नुभएको थियो। साथै तनहुँ समाज जापानका वरिष्ठ उपाध्यक्ष दीपक घिमिरेले ‘भानुभक्तको व्यक्तित्व र कृतित्व’ विषयमा जानकारीमूलक प्रस्तुति दिनुभएको थियो।

उक्त अवसरमा कवि सुमित्रा सुमीको कविता सङ्ग्रह **‘कलेजी बर्को’**को जापानमा औपचारिक विमोचन समेत गरिएको थियो, जसले कार्यक्रममा थप साहित्यिक आकर्षण थपेको थियो।

कार्यक्रमअन्तर्गत आयोजित खुला रचना वाचनमा डिजी शर्मा, सुजाता शर्मा, शान्ति अधिकारी, बैकुण्ठ भट्ट, सुजन बैरागी, मनिषा सुबेदी, विश्वबन्धु भण्डारी, इन्दिरा खनाल, अमृत ढकाल, सोना केसी, लक्ष्मी पौडेल, दीपा घिमिरे, यमलाल कँडेल, सरिता ढकाल, शारदा पाण्डे, सरोज घिमिरे, धिषण निरौला, राजन चिमरिया तथा प्रिजम न्यौपाने लगायतका स्रष्टाहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा इवा पौडेलले सांस्कृतिक नृत्य प्रस्तुत गरी उपस्थित दर्शकको मन जित्नुभएको थियो।

करिब ८० देखि ९० जना साहित्यप्रेमी तथा नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा तनहुँ समाज जापानका महासचिव डा. दिपेन्द्र ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन अनेसास जापानका महासचिव मनोज मौसम केसी तथा सचिव विनिशा सापकोटाले संयुक्त रूपमा गर्नुभएको थियो।

आयोजकका अनुसार नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यसहित आयोजना गरिएको ‘भानु उत्सव २०८३’ सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको हो।