टोकियो, जापान ।
जापानमा सुरक्षा चेतावनी र सूचना प्रणालीमाथि नै प्रश्न उठ्नेगरि बिहीबार गम्भिर रेल दुर्घटना हुँदा चार जनाको निधन भएको छ । तोचिगी प्रिफेक्चरस्थित तोबु निक्को लाइनको शिन–कानुमा स्टेशनमा बिहीबार भएको गम्भीर रेल दुर्घटनामा चार जना कामदारको मृत्यु भएको हो ।
रेलको ट्र्याकमा घाँस तथा झारपात कटानको काम गरिरहेका कामदारहरूलाई टोक्योको आसाकुसातर्फ जाँदै गरेको तोबु रेल्वेको विशेष तीव्रगतिको रेल ‘स्पेसिया एक्स’ ले ठक्कर दिएको हो। दुर्घटनापछि चारै जनाको मृत्यु भएको पुष्टि भएको छ ।
दुर्घटना अगस्ट २० तारिख बिहान करिब १०:४५ बजे तोचिगी प्रिफेक्चरको कानुमा सहरमा रहेको शिन–कानुमा स्टेशन परिसरमा भएको थियो । त्यसबेला कामदारहरूको टोली रेलको लाइन नजिकै झारपात हटाउने तथा औषधि छर्किने काम गरिरहेको थियो । प्रत्यक्ष विवरण अनुसार दुर्घटनामा परेको रेल तोबु निक्कोबाट आसाकुसातर्फ गइरहेको विशेष एक्सप्रेस रेल हो ।
स्थानीय प्रहरी तथा उद्धार निकायका अनुसार दुर्घटनामा परेका चारै जना पुरुष कामदार थिए । उनीहरूलाई उद्धार गरी उपचारका लागि लैजाने प्रयास गरिए पनि सबैको मृत्यु भएको पुष्टि गरिएको छ । जापानी सञ्चारमाध्यमका अनुसार मृतकहरू सबै ५० वर्षभन्दा माथिका थिए ।
उनीहरू रेलमार्ग क्षेत्रमा काम गरिरहेका करिब १० जना कामदारको टोलीमा रहेको बताइएको छ।
दुर्घटनापछि घटनास्थलमा उद्धार टोली, प्रहरी तथा रेल्वे अधिकारीहरू पुगेका थिए। घटनाको गम्भीरता हेर्दा केही समयसम्म रेल आवागमन प्रभावित भएको थियो ।
दुर्घटनाको सबैभन्दा गम्भीर पक्ष अहिले कामदारहरूको सुरक्षाका लागि तोकिएको निगरानी व्यवस्था प्रभावकारी थियो कि थिएन भन्ने बनेको छ ।
तोबु रेल्वेले पत्रकार सम्मेलनमा दुर्घटनाको समयमा सुरक्षा नियम पालना गरिएको थियो कि थिएन भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा कामदारहरूलाई रेल आउँदै गरेको जानकारी गराउने जिम्मेवारीमा रहने ‘मिहारी इन’अर्थात् सुरक्षा निगरानीकर्ता तोकिएको स्थानमा नभएको हुनसक्ने सम्भावना समेत उठाइएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यद्यपि, यो नै दुर्घटनाको कारण हो भनेर अहिलेसम्म आधिकारिक रूपमा निष्कर्ष निकालिएको छैन । प्रहरीले घटनास्थलको अवस्था, कामदारहरूलाई दिइएको सुरक्षा निर्देशन, रेलको सञ्चालन अवस्था तथा काम सुरु गर्नुअघि अपनाइएको अनुमति प्रक्रियालगायत विषयमा अनुसन्धान गरिरहेको छ ।
रेलमार्गमा काम गर्ने कर्मचारीका लागि सबैभन्दा महत्वपूर्ण सुरक्षा व्यवस्थामध्ये एक हो-रेल आउनुअघि कामदारलाई ट्र्याकबाट सुरक्षित स्थानमा हटाउने र रेलको आवागमनबारे जानकारी दिने प्रणाली ।
रेल्वे सुरक्षाविज्ञहरूले पनि यस्तो दुर्घटनामा निगरानी तथा सञ्चार प्रणालीले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । जापानी रेल विश्लेषक रेजो कावाशिमाले घटनालाई अत्यन्तै असामान्य दुर्घटना भन्दै सामान्य अवस्थामा कामदारहरूको सुरक्षा सुनिश्चित गर्न निगरानीकर्ता रहने अपेक्षा गरिने बताएका छन् ।
त्यसैले अहिले अनुसन्धानकर्ताहरूले विशेषगरी कामदारहरू ट्र्याकमा प्रवेश गर्नुअघि रेल आवागमन रोकिएको वा सुरक्षित गरिएको थियो कि थिएन, निगरानीकर्ता कहाँ थिए, रेल चालकलाई काम भइरहेको जानकारी थियो कि थिएन भन्ने प्रश्नको जवाफ खोजिरहेका छन् ।
दुर्घटनामा परेको ‘स्पेसिया एक्स’ मा करिब ५० जना यात्रु रहेको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । यात्रु तथा चालक दलतर्फ कुनै मानवीय क्षति भएको छैन ।
एक यात्रुले रेल आकस्मिक रूपमा रोक्नुअघि ‘अनौठो आवाज’ सुनेको बताएका छन् । त्यसपछि रेलभित्र यात्रुहरूलाई केही समय रोकिएको र रेल कर्मचारीहरूले घटनाबारे जाँच सुरु गरेका थिए ।
दुर्घटनाको कारण स्पष्ट हुनुअघि रेल सञ्चालन केहि समय प्रभावित भएको थियो।
दुर्घटनामा परेको स्पेसिया एक्स तोबु रेल्वेको नयाँ पुस्ताको लक्जरी सीमित एक्सप्रेस रेल हो, जसले टोक्योको आसाकुसालाई निक्को क्षेत्रसँग जोड्छ । यो बुलेट ट्रेन अर्थात् शिन्कान्सेन भने होइन, तर जापानका प्रमुख तीव्रगतिको सीमित एक्सप्रेस सेवामध्ये एक हो ।
यसले टोक्योबाट निक्को तथा किनुगावा क्षेत्रतर्फ जाने यात्रु र पर्यटकका लागि महत्वपूर्ण सेवा प्रदान गर्दै आएको छ ।
त्यसैले व्यस्त पर्यटकीय रेलमार्गको स्टेशन परिसरमै कामदारहरू रेलको ठक्करमा पर्नु जापानी रेल सुरक्षाका लागि गम्भीर घटना बनेको छ ।
जापानको रेल प्रणाली समयपालन र सुरक्षाका लागि विश्वभर परिचित छ । दैनिक लाखौँ मानिस रेलमा निर्भर रहने जापानमा रेलमार्ग मर्मत तथा सफाइका क्रममा कामदारहरूको सुरक्षाका लागि विभिन्न कडा प्रक्रिया लागू गरिएका छन् ।
तर यस घटनाले यात्रु सुरक्षासँगै रेलमार्गमा काम गर्ने श्रमिकहरूको सुरक्षा प्रणाली कति प्रभावकारी छ, भन्ने प्रश्न उठाएको छ।
विशेषगरी रेल चलिरहेको अवस्थामा ट्र्याकमा काम गर्नुपर्ने परिस्थितिमा रेल कम्पनी, ठेकेदार कम्पनी, साइट सुपरभाइजर, सुरक्षा निगरानीकर्ता र रेल चालकबीचको समन्वय अत्यन्त महत्वपूर्ण हुन्छ ।
यस घटनामा यीमध्ये कुन तहमा सुरक्षा प्रक्रिया असफल भयो भन्ने कुरा प्रहरीले अनुसन्धानपछि मात्र स्पष्ट गर्नेछ ।
तोबु रेल्वेले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको कारण र सुरक्षा व्यवस्थाबारे अनुसन्धानमा सहयोग गर्ने जनाएको छ। कम्पनीले कामदारहरू ट्र्याक क्षेत्रमा काम गरिरहेको समयमा निर्धारित सुरक्षा नियमहरू पालना गरिएको थियो कि थिएन भन्ने विषयलाई समेत जाँचको केन्द्रमा राखेको छ।
प्रहरीले पनि दुर्घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ ।
अहिले मुख्य प्रश्न ‘रेलले कामदारलाई किन देखेन ?’ भन्दा पनि ‘कामदारहरू रेल आउने समयमा ट्र्याकमा किन थिए ?’ भन्ने बनेको छ। यसको जवाफ सुरक्षा निगरानी प्रणाली, काम गर्ने अनुमति, रेल सञ्चालनसम्बन्धी सूचना र घटनास्थलको व्यवस्थापनको अनुसन्धानबाट आउने अपेक्षा गरिएको छ।
चार जना अनुभवी कामदारको ज्यान गएको यस दुर्घटनाले जापानको अत्यन्त व्यवस्थित मानिने रेल प्रणालीभित्र पनि मानवीय गल्ती, सञ्चारको कमजोरी वा सुरक्षा प्रक्रियामा भएको सानो चुक कति भयावह बन्न सक्छ भन्ने देखाएको छ।
प्रहरी र तोबु रेल्वेको अनुसन्धानबाट दुर्घटनाको वास्तविक कारण र जिम्मेवारीबारे थप विवरण बाहिर आउने अपेक्षा गरिएको छ।