(Japan) 20 th August | 2026 | Thursday | 6:11:43 PM || (Nepal) 2:56:43 PM
 
 


जापानमा नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको हत्या ! नदीमा शव भेटियो, अहिलेसम्मको विवरण यस्तो छ

  POSTED ON : Thursday, 20 August, 2026 | Views : 236

जापानमा नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको हत्या ! नदीमा शव भेटियो, अहिलेसम्मको विवरण यस्तो छ


फुकुओका, जापान ।

जापानको फुकुओका सहरमा २५ वर्षीया नेपाली युवतीको हत्या भएको घटना सार्वजनिक भएको छ । फुकुओका प्रहरीका अनुसार २५ बर्षिया मृतक लक्ष्मी राजवंशी फुकुओका सहरको चुओ वार्डमा बस्दै आएकी व्यावसायिक विद्यालयकी विद्यार्थी हुन् ।

जापानी सञ्चारमाध्यम RKB माइनिची होसौ (RKB NEWS) का अनुसार अगस्ट १९ को बिहान फुकुओका सहरको तेन्जिन क्षेत्र हुँदै बग्ने नाकागावा नदीमा एक महिलाको शव भेटिएको थियो । घटनाको अनुसन्धान गर्दै प्रहरीले अगस्ट २० मा मृतकको पहिचान नेपाली नागरिकका रूपमा गरेको हो । प्रहरीले उनको मृत्यु दुर्घटना नभई हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान मुख्यालय गठन गरेको जनाएको छ ।


बिहान नदीमा शव फेला

प्रहरीका अनुसार अगस्ट १९ बिहान करिब ६ बजे एक पैदलयात्रीले नाकागावा नदीमा मानिसजस्तो वस्तु तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी र दमकल टोली घटनास्थलमा पुग्दा एक महिला नदीमा घोप्टो परेको अवस्थामा भेटिएकी थिइन् ।

उद्धार गरेर बाहिर निकालिए पनि उनलाई घटनास्थलमै मृत घोषित गरिएको थियो । प्रारम्भिक अनुसन्धानमा उनी टी–सर्ट र छोटो पाइन्ट लगाएको अवस्थामा रहेको र खुट्टामा जुत्ता नभएको पाइएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । उनको अनुहार तथा टाउकोमा चोटका निशान पनि भेटिएका छ ।

प्रहरीले ती चोटहरू कुनै कडा वस्तुले प्रहार गरेको हुनसक्ने आशंका गरेको छ । सुरुमा प्रहरीले दुर्घटना लगायत विभिन्न कोणबाट अनुसन्धान थाले पनि थप प्रमाणहरू भेटिएपछि हत्या भएको निष्कर्षमा पुगेको हो ।


उनि बस्दै आएको कोठा घरभित्रै हत्या भएको आशंका

अनुसन्धानका क्रममा लक्ष्मी बस्दै आएको घरमा पनि उनले आफुलाई बचाउन संघर्ष गरेको संकेत तथा रगतका दागहरू भेटिएको प्रहरीले जनाएको छ । विशेषगरी उनको सुत्ने कोठासहित घरभित्रको अवस्थाले कुनै व्यक्तिसँग झडप भएको हुनसक्ने संकेत गरेको जापानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रहरीले घरमा भेटिएका रगतका दाग, संघर्षका चिन्ह तथा नदीमा शव भेटिएको स्थानबीचको सम्बन्धबारे अनुसन्धान गरिरहेको छ । शव घरबाट नदीसम्म कसरी पुर्‍याइयो भन्ने विषय पनि अनुसन्धानको महत्वपूर्ण पाटो बनेको छ ।


बिहान ३ बजेतिरै ‘हराएको’ भन्दै प्रहरीलाई खबर

घटनाको अनुसन्धानमा अर्को महत्वपूर्ण तथ्य पनि खुलेको छ । मृतककी एक महिला परिचितले अगस्ट १९ तारिख बिहान करिब ३ बजेतिर उनी सम्पर्कविहीन भएको भन्दै प्रहरीलाई खबर गरेकी थिइन् ।

त्यसको केही घण्टापछि बिहान नदीमा शव भेटिएको थियो । यसका आधारमा प्रहरीले उनको मृत्यु भएको अनुमानित समयलाई अगस्ट १९ को बिहानको प्रारम्भिक समय मानेर अनुसन्धान अघि बढाएको छ ।


प्रहरीले मृतक अन्तिम पटक कससँग सम्पर्कमा थिइन्, उनको घरमा को–को पुगेका थिए, मोबाइल फोन तथा अन्य सामानको गतिविधि के थियो र नदीसम्म पुग्ने क्रममा कुनै व्यक्तिको संलग्नता थियो कि थिएन भन्ने विषयमा प्रमाण संकलन गरिरहेको छ ।


प्रहरीले हत्या नै भएको निष्कर्ष निकाल्यो

जापानी सञ्चारमाध्यमका अनुसार टाउको तथा अनुहारमा देखिएका चोट, घरभित्र भेटिएको संघर्षको अवस्था र रगतका दाग लगायत प्रमाणलाई आधार बनाएर प्रहरीले घटनालाई हत्या काण्डका रूपमा औपचारिक रूपमा अघि बढाएको हो । त्यसका लागि फुकुओका प्रहरीले अनुसन्धान मुख्यालयसमेत गठन गरेको बताइएको छ ।

हालसम्म प्रहरीले घटनामा संलग्न भएको आशंकामा कसैलाई पक्राउ गरेको जानकारी सार्वजनिक गरेको छैन। हत्याको कारण, अभियुक्तको पहिचान र मृतक तथा सम्भावित अभियुक्तबीचको सम्बन्धबारे अनुसन्धान जारी रहेको छ।


नेपाली समुदायमा चिन्ता

फुकुओका जापानमा नेपाली विद्यार्थी तथा कामदार भिषामा उल्लेख्य संख्यामा नेपालीहरुको उपस्थिति रहेको सहर हो । नेपाली नागरिक नै हत्या घटनाको शिकार भएको पुष्टि भएपछि जापानमा रहेका नेपाली समुदायमा घटनालाई लिएर गम्भीर चिन्ता उत्पन्न भएको छ ।

यद्यपि प्रहरीले अनुसन्धानको प्रारम्भिक चरणमै रहेकाले घटनाको कारण वा दोषी व्यक्तिबारे अनुमान नगर्न आग्रह गर्ने गरेको छ । मृतकको व्यक्तिगत सम्बन्ध, घटनास्थलको अवस्था तथा सम्भावित सीसीटीभी फुटेजलगायत प्रमाणका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।