टोकियो, जापान ।
जापानले सन् २००९ मा ओसाकास्थित पाचिन्को पार्लरमा आगजनी गरी पाँच जनाको हत्या गरेको अभियोगमा दोषी ठहरिएका ताकामी सुनाओलाई शुक्रबार बिहान मृत्युदण्ड दिएको छ ।
५८ वर्षीय ताकामीलाई ओसाका डिटेन्सन हाउसमा झुण्ड्याएर मृत्युदण्ड दिइएको जापानी अधिकारीहरूले बताएका छन् । प्रधानमन्त्री ताकाइची सानेले गत वर्ष अक्टोबरमा पदभार सम्हालेपछि जापानमा मृत्युदण्ड दिइएको यो पहिलो घटना हो । यसअघि सन् २०२५ को जुनमा एक कैदीलाई मृत्युदण्ड दिइएको थियो ।
अदालतको फैसला अनुसार ताकामीले ओसाकाको एक पाचिन्को पार्लरमा पेट्रोल प्रयोग गरी आगो लगाएका थिए । घटनामा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका थिए । उनको मृत्युदण्डको अन्तिम फैसला सन् २०१६ मा भएको थियो ।
शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै जापानका न्यायमन्त्री हिरागुची हिरोसीले उक्त अपराध पूर्वयोजनाबद्ध, अन्धाधुन्ध र अत्यन्त क्रूर भएको बताए । घटनाले जापानी समाजमा ठूलो भय र त्रास सिर्जना गरेको उनको भनाइ थियो ।
मन्त्री हिरागुचीले आगलागीमा परेका पीडितहरूले असह्य पीडा र भय भोग्नुपरेको उल्लेख गर्दै उनीहरूका परिवारले भोगेको दुःखको गहिराइ कल्पना गर्नसमेत कठिन रहेको बताए ।
उनका अनुसार अदालतमा भएको लामो न्यायिक प्रक्रियामा मृत्युदण्ड सम्बन्धी विषय पर्याप्त रूपमा परीक्षण गरिएको थियो । त्यसपछि अत्यन्त सावधानीपूर्वक विचार गरेर मृत्युदण्ड कार्यान्वयन गर्ने आदेश दिइएको उनले बताए।
जापान विकसित लोकतान्त्रिक मुलुकहरूमध्ये मृत्युदण्ड कायमै राख्ने थोरै देशमध्ये एक हो । जापानमा गम्भीर हत्या तथा अन्य अत्यन्त जघन्य अपराधमा दोषी ठहरिएका कैदीलाई मृत्युदण्ड दिन सकिने कानुनी व्यवस्था छ । जापानमा मृत्युदण्ड प्रायः फाँसीमार्फत कार्यान्वयन गरिन्छ ।
मृत्युदण्डको पक्षमा रहेका अधिकारीहरूले गम्भीर अपराधमा पीडित र परिवारलाई न्याय दिन तथा समाजमा अपराधको गम्भीरता स्थापित गर्न यसको आवश्यकता रहेको तर्क गर्दै आएका छन् । तर मानवअधिकारवादी समूहहरूले भने मृत्युदण्ड अन्त्य गर्नुपर्ने र न्यायिक प्रक्रियामा सम्भावित त्रुटिका कारण निर्दोष व्यक्तिलाई समेत अपरिवर्तनीय सजाय हुन सक्ने भन्दै आलोचना गर्दै आएका छन् ।